विकासन्युज

दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौं । दया फाउन्डेसनले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका बोर्ड सदस्यहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । फाउन्डेसनले विपद्को कठिन समयमा प्रभावित समुदायको राहत र उद्धारमा सहयोग गर्न पाएकोमा आभार व्यक्त गरेको छ । साथै, प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकारले गरेको पहल र स्रोत परिचालनको प्रशंसा गरेको छ । नेपाल तथा विदेशबाट व्यक्ति र विभिन्न संस्थाले गरेको सहयोगप्रति पनि फाउन्डेसनले धन्यवाद दिएको छ । विपद्को समयमा देखिएको ऐक्यबद्धता र मानवीय भावनाको फाउन्डेसनले प्रशंसा गरेको छ । फाउन्डेसनका अनुसार यो सहयोग संस्थाका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य र जीवनदृष्टिबाट प्रेरित छ । संकटमा परेका समुदायसँग सहयोग बाँड्नु प्रत्येक संवेदनशील नागरिकको जिम्मेवारी भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले बाढीबाट प्रभावित सबै व्यक्ति तथा परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, पुनःस्थापना र प्रभावित समुदायको पीडा कम गर्न निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

त्रिवि अस्पतालमा शव राख्ने ठाउँ अभाव

काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँमा अभाव भएको छ ।  अस्पतालको शव गृहमा क्षमताभन्दा बढी शव भएकाले राख्ने ठाउँ अभाव भएको हो । शवगृहमा हाल ७७ वटा बढी शव रहेको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार शव राख्ने ठाउँको अभाव भएको छ । ठाउँ अभाव भएकाले शव गृहको खोजी भइरहेको उनले बताए । दुवाकोटको केएमसी वा सैनिक अस्पतालमा राख्ने ठाउँ खोजी गरिने उनले जानकारी दिए ।  उनका अनुसार नुवाकोटबाट २५ वटा शव आइरहेकाले वैकल्पिक स्थानको खोजी भइरहेको छ । गत बुधबार रसुवामा आएको  बाढीले ठूलो धनजनको क्षति गरेको छ ।

यस्तो छ प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले गरेका कामको जानकारी संसद्लाई गराएका छन्  । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के कस्ता काम भएको छ भनी ब्रिफिङ गरेका हुन् । सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । ‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए ।  प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । यस्तो छ प्रधानमन्त्रीको सम्बोधन :

सेयर बजारमा २ अर्ब ९४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेको हो । बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस दिन ३५४ कम्पनीका ७२ लाख ६८ हजार कित्ता सेयर ३९ हजार ६७३ पटक कारोबार भएका छन् । बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशतले बढ्यो । माथिल्लो मैलुङ खोला जलविद्युत र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले उकालो लाग्यो । यता एनएमबी इनर्जी बन्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह हरियो बनेका छन् भने दुई उपसमूह मात्रै घटेका छन् । जलविद्युत उपसमूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूह सामान्य अंकले घटेका छन् ।

विपत्तिको बीचमा मानवीयता: अस्पतालमा निःशुल्क चिया-कफी बाँड्दै युवाहरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर यतिबेला बाढीमा हराएका आफन्तको खोजी गर्ने, शव पहिचान गर्न आउने र घाइतेका परिवारजनको भीडले भरिएको छ । अस्पतालको भित्ताभरि टाँसिएका फोटो हेर्दै आफ्ना मान्छे खोज्नेहरूको अनुहारमा चिन्ता, आँखामा आशा र मनमा अनेकौं प्रश्न देखिन्छन् । यही पीडाबीच केही सहयोगी हात भने मानवीय सेवामा जुटिएका छन् । उनीहरूले अस्पताल परिसरमा बसेका पीडित र आफन्तलाई निःशुल्क पानी, चिया, कफी, पिउने सामग्री र बिस्कुट वितरण गरिरहेका छन् । आफन्तको खोजीमा थाकेर बसेका, आँखा रसाएका र घण्टौं अस्पताल परिसरमा कुरिरहेका मानिसका लागि एक गिलास पानी वा एक कप चिया नै ठूलो सहारा बनेको छ । अस्पताल परिसरमा देखिएको यो दृश्यले विपत्तिको बीचमा मानवीयताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ । नख्खीपोटस्थित अनफोल्ड कफीका सहयोगी समूह पनि यही अभियानमा खटिएका छन् । उनीहरू आफ्नो दैनिक काम छाडेर बाढीपीडित र आफन्तको साथ दिन त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । अनफोल्ड कफी समूहकी चाँदनी राईका अनुसार उनीहरू २० जनाको टोली बनाएर अस्पताल पुगेका छन् । बाढीमा आफन्त गुमाएकाहरूको पीडा महसुस गर्दै उनीहरूको साथमा उभिन आएको उनले बताइन् । ‘विपत्तिको समयमा सहयोग सधैं ठूलो हुनुपर्छ भन्ने छैन । कसैलाई पानी दिनु, भोकाएकालाई बिस्कुट दिनु, थाकेकोलाई एक कप चिया वा कफी दिनु र केही समय उसको कुरा सुनिदिनु पनि ठूलो मानवीय सहयोग हो,’ राईले भनिन् । उनले विपत्तिमा पीडितलाई हात मात्रै होइन, साथ र मन पनि दिनुपर्ने भन्दै समाजमा अझै असल हृदय भएका मानिसहरू रहेको सन्देश दिन आफूहरू अस्पताल आएको बताइन् । बाढीपछि आफन्तको खोजीमा अस्पताल पुगेका सयौं मानिसका बीच यस्ता सहयोगी हातले पीडितको दुःखमा केही राहत र आशा थपिरहेका छन् ।

जी मनि ट्रान्सको बाढीपीडितलाई २२ लाख ८० हजार सहयोग

काठमाडौं । कोरियास्थित रेमिट्यान्स कम्पनी जी मनि ट्रान्सले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १५ हजार अमेरिकी डलर (करिब २२ लाख ८० हजार रुपैयाँ) सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्दै बाढी प्रभावित नागरिक र समुदायको राहत तथा पुनर्स्थापनामा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ । जी मनि ट्रान्सले विपद्को कठिन घडीमा कोरियामा रहेका नेपालीले आफ्ना परिवारलाई सहज रूपमा आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको पनि जनाएको छ । कम्पनीले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापना कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै विपद्को समयमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

सेना परिचालन भयो, तर जनशक्ति परिचालन हुन सकेन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापनमा सरकारको समन्वय र सक्रियता कमजोर देखिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन भए पनि नागरिकस्तरमा आवश्यक जनशक्ति परिचालन गर्न सरकार चुकेको बताए । संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा विपद्को सामना गर्न कठिन भएको उनको भनाइ छ । उनले विपद्को सुरुवाती अवस्थामा गृहमन्त्रीको सक्रियता देखेपछि सरकार प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरेको बताए । संकटको समयमा सरकारलाई सहयोग गर्ने विषयमा राजनीतिक दलहरूबीच कुनै मतभेद नरहेको पनि उनले स्पष्ट पारे । तर, त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरूको सक्रियता अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको प्रचण्डले टिप्पणी गरे । ‘सेनाले धेरै जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो,’ उनले भने, ‘तर महाविपत्तिको सामना गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय हुन सकेन ।’ प्रचण्डले विपद्को व्यवस्थापन सुरक्षा निकायको प्रयासबाट मात्रै सम्भव नहुने बताए। उनका अनुसार राज्यका संयन्त्रसँगै स्थानीय समुदाय, राजनीतिक दल, नागरिक समाज र स्वयंसेवकलाई योजनाबद्ध रूपमा परिचालन गर्न आवश्यक छ । ‘सेना परिचालन भयो, जनपरिचालन भएन । जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भवजस्तै हुन्छ,’ उनले भने । सरकारको उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै जनस्तरबाट गुनासो आइरहेको उल्लेख गर्दै प्रचण्डले तत्काल उद्धार, राहत र पुनःस्थापनालाई तीव्र बनाउन सरकारको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए ।

सरकारलाई साथ दिन्छौँ, तर गलत काममा मौन बस्दैनौँ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकारलाई साथ दिनु भनेको सरकारका हरेक कामको समर्थन गर्नु नभएको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दा साथ दिने, तर कमजोरी र गलत काममा खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको स्पष्ट पारे । प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि खोज तथा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । ‘सरकारलाई साथ दिन्छौँ’ भन्नुको अर्थ सरकारका गलत कामलाई पनि समर्थन गर्नु नभएको उल्लेख गर्दै उनले भने, ‘बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन ररु प्रलयकारी बाढी आएको एक साता बितिसक्यो । सबै ठीकठाक भइरहेको छ, जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख भएको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो ।’ आङदेम्बेले सरकारलाई कमजोर बनाउन नभई अझ प्रभावकारी बनाउन आफूहरूले प्रश्न गरिरहेको बताए । विपद्को समयमा राजनीतिक प्रचारभन्दा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो । ‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो,’ उनले भने, ‘नागरिकको जीवनसँग जोडिएको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोस् ।’ उनले विपद्पछिको सबैभन्दा गम्भीर कमजोरी खोज तथा उद्धारमै देखिएको बताए । विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति उनले आपत्ति जनाए । सरकारका मन्त्री तथा जिम्मेवार अधिकारीहरू उद्धारको मैदानमा प्रभावकारी रूपमा खटिनुको साटो सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको आरोप पनि उनले लगाए । ‘मलाई एउटा प्रश्नले घोचिरहेको छ । यदि मन्त्रिपरिषद्का सदस्यकै परिवार वा आफन्त विपद्मा परेका भए, मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि माटो खोस्रेको फोटो–भिडियो खिचेर “वाह मन्त्रीजी” भन्दै पोस्ट गरिरहनुहुन्थ्यो ?’ उनले प्रश्न गरे । आङदेम्बेले विपद्को समयमा सरकारको ध्यान प्रचारमा नभई खोज, उद्धार, राहत र नागरिकको जीवन रक्षामा केन्द्रित हुनुपर्ने बताए । उनले फिल्डमा देखिएका कमजोरी तत्काल सच्याएर सरकारलाई थप प्रभावकारी ढंगले परिचालन गर्न आग्रह गरे ।