विकासन्युज

नुवाकोटबाट ल्याइएका ८१ शव गोकर्णेश्वरमा व्यवस्थापन, १३ जनाको पहिचान

काठमाडौं । नुवाकोटबाट त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ। हालसम्म गोकर्णेश्वरमा ८१ वटा शव व्यवस्थापन गरिएको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार १३ जनाको शव पहिचान भएको छ । पहिचान भएकामध्ये तीन जना महिला र १० जना पुरुष रहेका छन् । अस्पतालमा शवको दुर्गन्ध फैलिएकाले छिटो–छिटो शव व्यवस्थापन गर्न लगिएको उनले बताए। दैनिक ३० वटा शव त्रिवि शिक्षण अस्पतालमा आउने गरेको उनको भनाइ छ । ‘यहाँ ल्याइने शव नुवाकोटबाट आइरहेको छ,’ उनले भने, ‘हामीलाई नुवाकोटबाट ल्याइएको भनिन्छ। प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गर्ने गरिरहेका छौँ ।’ शवको डीएनए परीक्षण गरेर व्यवस्थापन गर्ने गरिएको सिंहले बताए । ‘शवका आफन्तहरूको पनि प्रहरी अस्पतालमा डीएनए परीक्षण गरेर नमुना संकलन गरिएको छ,’ उनले भने । गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखामा ठूलो धनजनको क्षति गरेको छ ।

विपदमा बीमाको साथ : करोडौंको सहयोगदेखि प्रभावित क्षेत्रमा राहतसम्म

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ । विपदबाट प्रभावितको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायदेखि सरकारी निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रले सहयोगको हात बढाइरहेका छन् । विपद्को यो कठिन घडीमा नेपालका बीमा कम्पनीहरू पनि एकजुट भएर अघि बढेका छन् । यो परिस्थितिमा कम्पनीहरूले केवल दाबी भुक्तानीको व्यावसायिक दायित्वमा मात्र सीमित नरही प्रभावितको उद्धार तथा राहतका लागि सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेका छन् । कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रत्यक्ष मानवीय सेवामा समेत सक्रियता देखाएका छन् । कम्पनीका कर्मचारी तथा स्थानीय शाखामार्फत प्रभावित क्षेत्रमै पुगेर उनीहरू प्रत्यक्ष राहत वितरणमा जुटेका छन् । नेपाल लाइफको २ करोड ५१ लाख सहयोग नेपाल लाइफ इन्स्योरेन्सले बाढी प्रभावित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सेवाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा उक्त रकमले थप योगदान पुग्ने कम्पनीले जनाएको छ । सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै कम्पनीले विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । सिटिजन्स लाइफको १ करोड ५१ लाख सहयोग सिटिजन लाइफ इन्स्योरेन्सले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।  विपद्को यस घडीमा कर्पोरेट सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै सहयोग गरिएको कम्पनीको भनाइ छ । उक्त सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ । नेशनल लाइफको डेढ करोड सहयोग नेशनल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग उपलब्ध गराएको जनाएको छ । नेशनल लाइफले पनि यो सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।  एशियन लाइफको १ करोड सहयोग बाढीका कारण प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि एशियन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री विपद राहत कोषमा या रकम सहयोग गरेको हो । सूर्यज्योति लाइफको १ करोड सहयोग सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बाढीपीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भन्दै सो रकम सहयोग गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको हो । कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा आर्थिक तथा विविध प्रकारको सहयोग गर्दै आइरहेको छ ।  विपद्को यस कठिन घडीमा सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीको भनाइ छ । आईएमई लाइफको १ करोड सहयोग त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकमको सहयोग गर्ने घोषणा गरेको हो ।  कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग हस्तान्तरण गर्दै आइरहेको छ जनाएको छ । हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने यो आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । सानिमा रिलायन्सको ७२ लाख सहयोग सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बाढीबाट प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले ७२ लाख सहयोग गर्ने प्रतिबद्धता  जनाएको छ । ५१ लाख सञ्चालक समिति र कर्मचारीबाट  २१ लाख गरी जम्मा ७२ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । सन नेपाल ६० लाख सहयोग  सन नेपाल लाइफ इन्स्योरेन्सले बाढीबाट प्रभावितहरूलाई उद्धार राहत र पुनःस्थापनामा सहयोग पुर्याउन ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनःस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिइएको छ । प्रभु महालक्ष्मीको ५१  लाख सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफले एकाउन्न लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। विपदबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो । रिलायबल नेपालको ५१ लाख सहयोग रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बाढीबाट प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५१ लाख रुपैयाँ सहयोग गरेको हो । मेट लाइफको ३० लाख रुपैयाँ सहयोग मेटलाइफ नेपालले बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ३० लाख योगदान गरेको छ । सामूहिक प्रयासबाट प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउँदै राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ । नेपाल इन्स्योरेन्सको ५० लाख सहयोग  नेपाल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अकल्पनीय बाढीका कारण भएको जनधनको अपुरणीय क्षतिमा राहत स्वरूप कम्पनीले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सहयोग गरेको जनाएको छ । नेपाल रिको एक करोड सहयोग पुनर्बीमा कम्पनी नेपाल रिले एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।  बाढीका कारण प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले  सो रकम सहयोग गरेको कम्पनीले जनाएको छ । राहत वितरण तथा सामाजिक कार्यमा पनि जुट्दै आर्थिक सहयोगसँगै कम्पनीका कर्मचारी तथा स्थानीय शाखाहरूले प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष राहत वितरण गरिरहेका छन् । हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीहरूले बाढीबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । कम्पनीका कर्मचारीहरूले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । त्यस्तै, विपद्का बेला अस्पतालहरूमा हुने रगतको अभावलाई मध्यनजर गर्दै हिमालयन लाइफ कर्मचारी संगठनको पहलमा विशेष रक्तदान कार्यक्रम समेत गरेका छन् । त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मन्थली शाखाले प्रभावित क्षेत्रमा सरसफाइ र महामारी फैलिन नदिन ४० थान डस्टबिन वितरण गरी वातावरणीय स्वास्थ्यमा सहयोग पुर्‍याएको छ । कम्पनीको नवौं स्थापना दिवसको अवसर पारेर मन्थली शाखाले मन्थलीमा बजार सरसफाइ गरी डस्टबिन वितरण गरेको छ ।

राष्ट्र बैंकको स्वीकृतिबिनै लघुवित्तले कार्यालय स्थानान्तरण गर्न सक्ने

काठमाडौं । रसुवा लगायतका बाढी तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रमा सञ्चालित लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालय नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सेवा सुचारु गर्ने प्रयोजनका लागि लघुवित्त वित्तीय संस्थालाई यस्तो सुविधा दिएको हो । राष्ट्र बैंकका अनुसार २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त संस्थाका शाखा तथा कार्यालयलाई संस्थाले आफ्नै निर्णयमा स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन् । यसका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन । तर, शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ । प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाको सेवा अवरुद्ध हुन नदिन तथा सेवाग्राहीलाई वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्रिय सहकारी बैंकले बाढीपीडित सहकारीका लागि २० लाख दिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनः सञ्चालन र पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीपहिरोबाट सहकारी संस्थाका कार्यालय, अभिलेख, प्रविधि तथा भौतिक संरचनामा क्षति पुगेको बैंकले जनाएको छ । क्षतिग्रस्त सहकारी संस्थालाई सेवा सञ्चालनमा सहयोग गर्न उक्त रकम छुट्याइएको हो । रकम सम्बन्धित जिल्ला सहकारी संघसँगको समन्वयमा बैंकले तोकेको मापदण्डअनुसार वितरण गरिनेछ । यसैगरी, बाढीपहिरोबाट नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । केही कर्मचारीका आफन्तसमेत सम्पर्कविहीन रहेको बैंकले जनाएको छ । प्रभावित कर्मचारीलाई सहयोग गर्न बैंकका कर्मचारीले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् । संकलित रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत दिइएको छ । बैंकका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यले पनि एक दिनको बैठक भत्ता सहयोग गर्ने भएका छन् । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । बैंकले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैंकले प्रभावित सहकारी संस्थाको सेवा निरन्तरता, पुनःस्थापना र संस्थागत सुधारका लागि आवश्यक वित्तीय, प्राविधिक तथा अन्य सहयोग जारी राख्ने जनाएको छ ।

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

काठमाडौं । हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन, यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ । वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसको नेतृत्व कार्यालयबाट मात्र नभई प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफैँ सडकमा पुगेर सवारी आवागमन व्यवस्थापनमा खटिएका छन् । सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबीच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ । प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ । हेटौंडाबाट काठमाडौं जाने त्यस्ता सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ । ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ । त्रिभुवन राजपथमा रहेको कमजोर बेलीब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । सडकको असहजताले यात्राको समय पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले बीच–बीचमा प्रहरी परिचालन गरेर यात्रालाई सहज बनाउने काम भइरहेको बताए । पालुङ क्षेत्रमा रोकिएका करिब १५० सवारीसाधनलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ । मंगलबार काठमाडौंबाट छुटेका ती सवारीसाधन सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए । उनका अनुसार पालुङमा रोकिएका ती सवारीसाधनलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौंबाट अर्को समूहका सवारीसाधनलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ । त्यसैगरी, १४ सिट क्षमतासम्मका हलुका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन् । हलुका सवारीसाधनका हकमा असोज १६ गतेदेखि लागू हुने गरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ । हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारीसाधनलाई ‘होल्ड’ गर्दै समूह बनाएर गन्तव्यतर्फ पठाउने अर्थात् ‘कन्भे’ गर्ने काम भइरहेको विष्टले बताए । सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारीसाधनलाई केही समय रोकेर पठाउने गरिएको छ । त्यसका कारण बीच–बीचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ । विष्टले भने, ‘बीच–बीच बाटोमा हामीले ट्राफिकहरूलाई राखेर व्यवस्थापन गरिरहेका छौँ । अहिले पालुङमा झन्डै १५० वटा गाडी होल्ड भएर बसेका छन् । हिजो काठमाडौंबाट छुटेका गाडी निर्णय हुनुअघि नै त्यहाँ पुगेकाले रोकिएका हुन् । अहिले ती गाडीलाई स्कर्टिङ गरेर ल्याउने कार्य भइरहेको छ ।’ उनका अनुसार पालुङबाट ती सवारीसाधन ल्याइसकेपछि मात्रै अर्को समूहलाई उक्त मार्गबाट पठाउने व्यवस्था मिलाइएको छ । यसका लागि उपलब्ध जनशक्तिलाई अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन भइरहेको छ । ‘१४ सिटसम्मका हलुका सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटोबाट जानेछन् । हलुका सवारी आजदेखि २४ घण्टा चल्ने व्यवस्था गरिएको छ । हेभी तथा मालवाहक सवारीलाई भने पालुङ हुँदै पृथ्वी राजमार्गतर्फ पठाउने व्यवस्था गरिएको छ,’ उनले भने । बाढीअघि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौंडा–काठमाडौं यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ । यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ । ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौंसम्म पुर्‍याउने व्यवस्था मिलाइरहेको छ । विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सीमित छैन । समस्या भएको ठाउँमै पुगेर सवारी व्यवस्थापनमा खटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

बाढीमा कागजात गुमाएका ग्राहकले केवाईसी भिडाएर बैंकिङ कारोबार गर्न पाउने

काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै संस्थामा रहेको ग्राहकको जानकारी (केवाईसी) विवरणसँग भिडाएर ग्राहकको पहिचान पुष्टि भएपछि वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो । राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित ग्राहकको बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणका आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्नु,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । यस्तै, विपद्बाट प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार स्थगित, असोज १ गते घोषणा हुने

काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीबाट देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको पहिलो दिन र १६ गते हुँदै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम यसपटक स्थगित गरिएको हो । स्थगित गरिएको भदौ १६ गतेको कार्यक्रमसहित भदौ महिनाभरिका विजेताको घोषणा आगामी असोज १ गते गर्ने निर्णय गरिएको विभागले जनाएको छ । विभागले विपद्का कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको स्पष्ट पारेको छ।

डेपुटी गभर्नर रावलको सम्पत्ति: २५ तोला सुन, हजारौं कित्ता सेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । रावलले सार्वजनिक गरेको विवरणअनुसार उनी र परिवारका सदस्यका नाममा विभिन्न स्थानमा घरजग्गा, नगद, सुनका गहना र सेयर लगानी रहेको देखिएको छ । रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी-२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर रहेको छ । उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको विवरणमा उल्लेख छ । घर खरिदका लागि बैंक ऋण, स्वआर्जन तथा पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको रावलले बताएका छन् । त्यस्तै, रावलकी आमाको नाममा कैलालीको टीकापुरमा १ कठ्ठा तथा अछामको बान्नीगढी जयगढमा १ रोपनी जग्गामा बनेका घर छन् । यी घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ । जग्गातर्फ आमाको नाममा टीकापुरमा २ बिघा १ कठ्ठा र बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको छ । धनगढीमा परिवारका सदस्यका नाममा ३३८.६३ वर्गमिटरका दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ । रावलको आफ्नै नाममा कैलालीमा १ कठ्ठा जग्गा छ भने श्रीमतीको नाममा करिब ६ लाख रुपैयाँ लागतको जग्गा रहेको छ । बैंक मौज्दाततर्फ रावलको नाममा विभिन्न वाणिज्य बैंकमा ११ लाख ४९ हजार २१४ रुपैयाँ रहेको छ । त्यस्तै, बैंक खातामा १४ हजार २३ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ । रावलले नेपाली रुपैयाँ तथा डलरको बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट भएको बताएका छन् । श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ मौज्दात रहेको छ । उक्त रकम घरभाडाबाट प्राप्त भएको जनाइएको छ । रावलको नाममा ४० हजार रुपैयाँ नगद रहेको छ । रावलको परिवारसँग २५ तोला सुन र २ किलो चाँदी रहेको छ । यीमध्ये केही पैतृक र केही स्वआर्जनबाट प्राप्त भएको विवरणमा उल्लेख छ । परिवारसँग १ लाख रुपैयाँ मूल्यको हिराको औँठीसमेत रहेको छ । सेयर लगानीतर्फ रावलको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन् । उनकी श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर रहेको छ । त्यस्तै, छोराछोरीको नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका साधारण सेयर रहेको विवरणमा उल्लेख छ । रावलका छोराको नाममा २०८२ सालमा खरिद गरिएको होन्डा स्कुटर रहेको छ । यसको खरिद मूल्य १ लाख ९५ हजार ४ सय रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने उल्लेख गरेका छन् । यस्तै, रावल तथा परिवारका सदस्यका नाममा एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा बीमा रहेको तथा अवकाश कोषसम्बन्धी रकमसमेत रहेको विवरणमा उल्लेख छ ।