काम नगरी ८ लाख भुक्तानी, औरही गाउँपालिकाका कर्मचारी विरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकामा माछा पकेट कार्यक्रमको रकममा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकासका लागि औरही गाउँपालिका र प्रगतिशील कृषक समूहबीच १५ लाख रुपैयाँको सम्झौता भएको थियो । सम्झौताअनुसार किसानलाई माछाका भुरा, दाना, चुना र अन्य सामग्री वितरण गर्नुपर्ने थियो। तर किसानलाई कम सामग्री दिएर सबै सामग्री वितरण गरेको देखाउने झुट्टा बिल र भरपाई बनाइ ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी गरिएको अख्तियारको आरोप छ । यस घटनामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवलाई प्रतिवादी बनाइएको छ । अख्तियारले चारै जनाबाट ८ लाख २ हजार ८७८ रुपैयाँ बिगो असुल गर्न, जरिवाना र कैद सजाय गर्न माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
लाङटाङको सुरुङमा दुई कामदारको शव फेला, ३९ जना अझै सम्पर्कविहीन
काठमाडौं । लाङटाङ हाइड्रोपावरको सुरुङ (टनेल) भित्र फसेका कामदारहरूमध्ये दुई जनाको शव फेला परेको छ । सुरुङभित्र चुनौतीपूर्ण अवस्थाका बीच उद्धार टोलीले वैकल्पिक मार्ग प्रयोग गरी प्रवेश गरेपछि दुई जनाको शव फेला पारेको हो । लाङटाङ हाइड्रोपावरका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार सुरुमा १०० मिटरभन्दा अगाडि जान नसकिएपछि उद्धार टोलीले नयाँ जुक्ति निकालेको थियो । ‘हामी बाइफरकेसनको पाइपलाइनबाट पेनस्टक पाइपमा पस्यौं र त्यहाँ म्यानहोल (प्वाल) काटेर मान्छे पस्ने ठाउँ बनायौं,’ भट्टराईले विकासन्युजसँग भने, ‘हामीलाई मान्छेहरू कहाँ निर ट्रयापमा परेका छन् भन्ने पहिले नै अन्दाज थियो, त्यही ठाउँमा प्वाल बनाएर भित्र पस्दा दुई जनाको शव फेला परेको छ ।’ उनका अनुसार सुरुङभित्रको अवस्था पूर्ण रूपमा लेदोले भरिएको छैन । पेनस्टक पाइपभित्र पानी भए पनि टनेलमा केही ठूला ढुङ्गा (बोल्डर) हरू रहेका छन् । हाल सुरुङभित्र जमेको पानी घटाउन मोटरहरूको प्रयोग भइरहेको छ । इन्जिनियर र प्राविधिक टोलीले हिजोदेखि नै आवश्यक उपकरणहरू प्रयोग गरेर पानी निकाल्ने र उद्धार गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । प्रबन्ध निर्देशक भट्टराईले बेपत्ता रहेका ४१ जनामध्ये अब ३९ जनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए । ‘४१ जनामध्ये २ जनाको शव भेटिएको छ, अब ३९ जनाको खोजी भइरहेको छ,’ उनले विकासन्युजसँग भने । भावुक हुँदै भट्टराईले थपे, ‘उनीहरू हाम्रा कामदार मात्र होइनन्, हाम्रै परिवारका सदस्य हुन् । प्रोजेक्ट बनाउँछु र देशका लागि केही गर्छु भन्ने हाम्रा परिवारका मान्छेहरू गुमाउनु पर्दा धेरै दुःख लागेको छ ।’ सुरुङभित्रको पानी घटेपछि मात्रउ अन्य बेपत्ताहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने बताइएको छ । उद्धार टोलीले बेलुकासम्म वास्तविक अवस्था र थप विवरणहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
शवगृहमा दुर्गन्ध फैलिएपछि पशुपतिमा शव राख्न थालियो
काठमाडौं । काठमाडौंमा शव राख्ने ठाउँ अभाव भएपछि अस्पताल परिसरमा दुर्गन्ध फैलन थालेको छ । गत बुधबार रसुवामा आएको बाढीले गर्दा रसुवा र नुवाकोटमा धेरै मानिसले ज्यान गुमाएपछि शव राख्ने ठाउँ अभाव हुँदा दुर्गन्धसमेत फैलन थालेको हो । नदी किनारामा भेटिएका शव काठमाडौं ल्याउँदै डिएनए परीक्षण गर्दै र पहिचान गरी शवको व्यवस्थापन गर्न थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँ अभाव हुँदा पशुपतिको शव गृहमा २१ वटा शव राखिएको छ । त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँ अभाव हुँदा पशुपतिको मर्चरीमा शव राखिएको त्रिवि अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार अस्पतालको शव गृहमा शव राख्ने ठाउँ अभाव भएको छ । काठमाडौंमा नुवाकोट र रसुवाबाट शव ल्याइएको छ। ‘शव राख्ने ठाउँ अभाव भएपछि शवको दुर्गन्ध फैलन थालेको छ,’ उनले भने, ‘यहाँ बस्न नसक्ने गरेर शवको दुर्गन्ध फैलन थालेको छ ।’ सिंहले मध्यान्हसम्ममा १६ वटा शव नुवाकोटबाट ल्याइएको जानकारी दिए । अस्पतालको शव गृहबाट १ सय २० वटा शव व्यवस्थापन गर्न लगिएको बताए । उनले अस्पतालमा हाल सयभन्दा बढी शव राख्न नसकिने अवस्था रहेको पनि जानकारी दिए । उनका अनुसार अस्पताल परिसरमा ल्याइएको २१ शवको पहिचान गरिएको छ । जसमध्ये १३ पुरुष र ८ महिलाको शव पहिचान भइसकेको हो । प्रहरीका अनुसार हालसम्म १२ सय ५० भन्दा बढीको शव फेला परिसकेको छ । विभिन्न स्थानबाट ८९७ को शव व्यवस्थापन भइसकेको छ ।
तीजको बजेट बाढीपीडितलाई, पोर्चुगलबाट प्रधानमन्त्री राहत कोषमा ४५ हजार सहयोग
काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि पोर्चुगलको कोइम्ब्रास्थित नेपाल सांस्कृतिक समुदाय कोइम्ब्रा (एनसीसीसी) ले आफ्नो पूर्वनिर्धारित तीज कार्यक्रम स्थगित गरेको छ । संस्थाले ‘परदेशमा तीज, मनमा नेपाल’ शीर्षकमा आयोजना गर्ने तयारी गरेको तीज तथा दर खाने कार्यक्रम रद्द गर्दै त्यसका लागि छुट्याइएको बजेट विपद् पीडितको राहतमा खर्च गर्ने निर्णय गरेको हो । एनसीसीसीले कार्यक्रमका लागि विनियोजन गरिएको रकम र संस्थाका सात जना क्रियाशील सदस्यको व्यक्तिगत सहयोगबाट संकलित २६० युरो, करिब ४५ हजार ५०० रुपैयाँ, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । संस्थाका क्रियाशील सदस्य सन्तोष पाण्डेका अनुसार देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला उत्सव मनाउनुभन्दा राहत र उद्धारमा साथ दिनु नै उचित ठानेर तीज कार्यक्रम स्थगित गरिएको हो । उनले सहयोग रकमको आकारभन्दा पनि विपद्का बेला देश र नेपाली समुदायप्रतिको दायित्व तथा मानवीय भावना महत्वपूर्ण रहेको बताए । सात जना सदस्यको पहलमा रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको उनले जानकारी दिए । यसैबीच, बाढी–पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न एनसीसीसीले सेप्टेम्बर ५ गते शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्न र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न आग्रह गरेको छ । साथै, नेपाल तथा विदेशमा रहेका नेपाली संघ–संस्था र व्यक्तिहरूलाई पनि आफ्नो क्षमताअनुसार बाढी–पहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल गरेको छ ।
मृतक प्रहरीले कल्याण कोषबाट लिएको ऋण मिनाहा, परिवारले १० लाख पाउने
काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाएका प्रहरीको नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष ऋण मिनाहा हुने भएको छ । मृतक प्रहरीको परिवारलाई जनही १० लाख रूपैयाँ दिने निर्णय भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार मृतक परिवारको सदस्यबाट इच्छुकलाई सीपमूलक तालिम र रोजगारी उपलब्ध गराइनेछ । मृतक प्रहरीका सन्तानलाई प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरेर अध्ययनको व्यवस्था मिलाउने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले ऋण मिनाहादेखि मृतकको परिवारलाई १० रूपैयाँ दिने निर्णय गरेको छ । नेपाल प्रहरीको तर्फ हालसम्म रसुवाको बाढीमा परेर हालसम्म २५ जना सम्पर्कविहिन छन् । तीन जना प्रहरीको सनाखत भइसकेको छ ।
नेपाल ग्यासले बेच्यो ३.२३ अर्बको ग्यास, बैंकमा ऋण १.१० अर्ब
काठमाडौं । ‘नेपाल ग्यास’ नामबाट तरलीकृत पेट्रोलियम ग्यासका सिलिन्डर बजारमा आपूर्ति गर्दै आएको नेपाल ग्यास इण्डस्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको उक्त आम्दानी आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.७९ प्रतिशत अर्थात् ५ करोड ९० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब १८ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ९ करोड ८० लाख रुपैयाँ र आव २०७७/७८ मा २ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । सन् १९६९ देखि तरलीकृत पेट्रोलियम ग्यास भर्ने उद्योगका रूपमा सञ्चालनमा रहेको नेपाल ग्यास इण्डस्ट्रिजले नेपाल आयल निगमबाट ग्यास भर्ने उद्योगका रूपमा सञ्चालनको अनुमति प्राप्त गरेको छ । कम्पनीले बागमती प्रदेशमा ‘नेपाल ग्यास’ नामबाट ग्यासका सिलिन्डर आपूर्ति गर्दै आएको छ । कम्पनीको सम्पूर्ण स्वामित्व समृद्धि ग्यास इण्डस्ट्रिज प्रालिको रहेको छ । करिब ५७ वर्षदेखि ग्यास भर्ने तथा आपूर्ति गर्ने व्यवसायमा सक्रिय कम्पनीको सञ्चालक समितिको अध्यक्षमा धर्मराज बरतौला रहेका छन् । नेपालको तरलीकृत पेट्रोलियम ग्यास उद्योग आयात अनुमति, सिलिन्डरको मापदण्ड, भण्डारण तथा सञ्चालनसम्बन्धी नियम र वितरण सुरक्षालगायतका विषयमा कडा नियमनमा रहेको छ । नियामकीय मापदण्ड पालना गर्न नसके जरिवाना, सञ्चालनमा अवरोध, प्रतिष्ठामा असर तथा थप नियामकीय निगरानीको जोखिम रहने कम्पनीको भनाइ छ । कम्पनीको व्यवसाय मुख्यतः बागमती प्रदेशमा केन्द्रित छ । साथै, नेपालमा तरलीकृत पेट्रोलियम ग्यास आयात गर्ने एक मात्र अधिकृत संस्था नेपाल आयल निगम रहेकाले आयातकर्तामा उच्च निर्भरता रहेको छ । ग्यासको मूल्य तथा आपूर्ति व्यवस्थामा नेपाल आयल निगमसँग प्रत्यक्ष निर्भरता रहेकाले मूल्यमा हुने उतारचढाव, आपूर्ति सीमितता तथा सरकारी नीति वा नियमनमा हुने परिवर्तनले कम्पनीको सञ्चालनमा असर पार्न सक्ने देखिन्छ । नेपाल आयल निगमको निगरानीमा ग्यासको आपूर्ति तथा माग दुवै पक्ष नियमन हुने भएकाले उद्योगमा सञ्चालन नाफाको सीमा साँघुरो रहेको छ । साथै, ग्यास वितरण कम्पनीबीच मूल्यभन्दा बाहेकका पक्षमा हुने प्रतिस्पर्धा तीव्र रहेकाले नाफा वृद्धि तथा सञ्चालनमा आवश्यक लचकता सीमित भएको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । उक्त ऋणमध्ये ४७ करोड ३० लाख रुपैयाँ दीर्घकालीन र ६२ करोड ७० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।
बाढीपीडितका लागि होटल संघका सदस्य होटलबाट २ करोड ३५ लाख सहयोग
काठमाडौं । होटल संघ नेपालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक तथा भौतिक सहयोग जुटाएको छ । संघले बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक र पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएका नागरिक तथा पर्यटकको उद्धार छिट्टै सम्पन्न हुने आशासमेत संघले व्यक्त गरेको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले आफ्ना सदस्य होटललाई आवश्यकताअनुसार आर्थिक तथा भौतिक सहयोग गर्न आग्रह गरेको थियो । संघका अनुसार उक्त आह्वानमा अधिकांश सदस्य होटलले सकारात्मक प्रतिक्रिया जनाएका छन् । हालसम्म प्राप्त विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा होटल किङ्सबेरीले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सले ५२ लाख ५१ हजार, होटल मेची क्राउनले २६ लाख र एभरेष्ट होटलले २० लाख रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी रामडा इन्क्योर ठमेलले ११ लाख ११ हजार १११ रुपैयाँ, अर्किड ग्लोरी लिमिटेडअन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाले ५ लाख ११ हजार १११ रुपैयाँ तथा ड्रिम ग्रुप बुटवलले ५ लाख ३ हजार रुपैयाँ सहयोग गरेका छन् । होटल सारथीले १ लाख ६५ हजार, होटल एम्बासडरले १ लाख, क्लब हिमालयले १ लाख र होटल संघ नेपाल सिन्धुलीले १ लाख ४ हजार २८५ रुपैयाँ सहयोग गरेका छन् । धुलिखेल माउन्टेन रिसोर्ट, होटल नान्स, होटल मेलुङत्येलगायतबाट पनि राहत कोषमा रकम जम्मा भएको संघले जनाएको छ । चन्द्रागिरी हिल्स, क्राउन इम्पेरियल र माउन्ट ग्लोरी रिसोर्ट एन्ड स्पालगायत होटलमा कार्यरत कर्मचारीले पनि व्यक्तिगत रूपमा राहत कोषमा रकम जम्मा गरेका छन् । होटल संघ नेपालले सञ्चालन गरेको राहत कोषमा एयरपोर्ट होटल, ग्रान्ड होटल, होटल स्वागतम, होटल रेनफरेस्टलगायतबाट प्राप्त रकमसमेत संकलन भइरहेको संघले जनाएको छ । उक्त रकम राहत कोषमार्फत प्रभावित क्षेत्रमा सहयोग गरिने छ। कतिपय सदस्य होटलले भने खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रत्यक्ष रूपमा प्रभावित क्षेत्र तथा सम्बन्धित निकायमार्फत उपलब्ध गराइरहेका छन् । यसैबीच, भोटेकोशी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिन नेपाल आएका आफन्त तथा विदेशी पर्यटकलाई होटल संघ नेपालले आवश्यक सहयोग गरिरहेको छ । संघले सम्बन्धित प्रदेश तथा जिल्ला होटल संघसँग समन्वय गरी प्रभावितका आफन्त तथा खोजीका लागि आएका विदेशी पर्यटकका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था मिलाएको जनाएको छ । नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको बेपत्ता पर्यटकका परिवार तथा आफन्तको सहयोग र व्यवस्थापनमा पनि संघले काम गरिरहेको छ । बाढीका कारण परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकलाई आवश्यक सूचना, समन्वय र मानवीय सहयोग उपलब्ध गराउन संघ सक्रिय रहेको जनाएको छ । होटल संघ नेपालले भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक तथा पर्यटकको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरिने संघले जनाएको छ ।
गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्युरेक्स फर्मास्युटिकल्सको औषधि फिर्ता गर्न निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै प्यान्टोलक–डीएसआर औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधिमा डोम्पेरिडोनको घुलन परीक्षणसम्बन्धी विधि नेपाल औषधि संहिता २०२६ अनुसार नभएको पाइएको जनाएको छ । क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपा, नेपालले उत्पादन गरेको उक्त औषधिको ब्याच नम्बर सीपीडी–०५७ रहेको छ। औषधि सेप्टेम्बर २०२५ मा उत्पादन भएको र अगस्ट २०२७ सम्म प्रयोग गर्न सकिने विवरणमा उल्लेख छ । प्यान्टोलक–डीएसआरमा प्यान्टोप्राजोल ४० मिलिग्राम र डोम्पेरिडोन ३० मिलिग्राम रहेको जनाइएको छ। यो पेटमा बन्ने अम्ल तथा त्यससँग सम्बन्धित समस्यामा प्रयोग हुने औषधि हो । विभागले उक्त ब्याचको औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । साथै, औषधिको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।