लाङटाङको सुरुङमा दुई कामदारको शव फेला, ३९ जना अझै सम्पर्कविहीन

काठमाडौं । लाङटाङ हाइड्रोपावरको सुरुङ (टनेल) भित्र फसेका कामदारहरूमध्ये दुई जनाको शव फेला परेको छ । सुरुङभित्र चुनौतीपूर्ण अवस्थाका बीच उद्धार टोलीले वैकल्पिक मार्ग प्रयोग गरी प्रवेश गरेपछि दुई जनाको शव फेला पारेको हो ।

लाङटाङ हाइड्रोपावरका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार सुरुमा १०० मिटरभन्दा अगाडि जान नसकिएपछि उद्धार टोलीले नयाँ जुक्ति निकालेको थियो । 

‘हामी बाइफरकेसनको पाइपलाइनबाट पेनस्टक पाइपमा पस्यौं र त्यहाँ म्यानहोल (प्वाल) काटेर मान्छे पस्ने ठाउँ बनायौं,’ भट्टराईले विकासन्युजसँग भने, ‘हामीलाई मान्छेहरू कहाँ निर ट्रयापमा परेका छन् भन्ने पहिले नै अन्दाज थियो, त्यही ठाउँमा प्वाल बनाएर भित्र पस्दा दुई जनाको शव फेला परेको छ ।’

उनका अनुसार सुरुङभित्रको अवस्था पूर्ण रूपमा लेदोले भरिएको छैन । पेनस्टक पाइपभित्र पानी भए पनि टनेलमा केही ठूला ढुङ्गा (बोल्डर) हरू रहेका छन् । हाल सुरुङभित्र जमेको पानी घटाउन मोटरहरूको प्रयोग भइरहेको छ ।

इन्जिनियर र प्राविधिक टोलीले हिजोदेखि नै आवश्यक उपकरणहरू प्रयोग गरेर पानी निकाल्ने र उद्धार गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।

प्रबन्ध निर्देशक भट्टराईले बेपत्ता रहेका ४१ जनामध्ये अब ३९ जनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए । ‘४१ जनामध्ये २ जनाको शव भेटिएको छ, अब ३९ जनाको खोजी भइरहेको छ,’ उनले विकासन्युजसँग भने ।  

भावुक हुँदै भट्टराईले थपे, ‘उनीहरू हाम्रा कामदार मात्र होइनन्, हाम्रै परिवारका सदस्य हुन् । प्रोजेक्ट बनाउँछु र देशका लागि केही गर्छु भन्ने हाम्रा परिवारका मान्छेहरू गुमाउनु पर्दा धेरै दुःख लागेको छ ।’

सुरुङभित्रको पानी घटेपछि मात्रउ अन्य बेपत्ताहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने बताइएको छ । उद्धार टोलीले बेलुकासम्म वास्तविक अवस्था र थप विवरणहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

Share News