विकासन्युज

गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्युरेक्स फर्मास्युटिकल्सको औषधि फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै प्यान्टोलक–डीएसआर औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधिमा डोम्पेरिडोनको घुलन परीक्षणसम्बन्धी विधि नेपाल औषधि संहिता २०२६ अनुसार नभएको पाइएको जनाएको छ । क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपा, नेपालले उत्पादन गरेको उक्त औषधिको ब्याच नम्बर सीपीडी–०५७ रहेको छ। औषधि सेप्टेम्बर २०२५ मा उत्पादन भएको र अगस्ट २०२७ सम्म प्रयोग गर्न सकिने विवरणमा उल्लेख छ । प्यान्टोलक–डीएसआरमा प्यान्टोप्राजोल ४० मिलिग्राम र डोम्पेरिडोन ३० मिलिग्राम रहेको जनाइएको छ। यो पेटमा बन्ने अम्ल तथा त्यससँग सम्बन्धित समस्यामा प्रयोग हुने औषधि हो । विभागले उक्त ब्याचको औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । साथै, औषधिको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

पुनले गरे प्रधानमन्त्री शाहसँग भेट

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार, घाइतेको उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको छ । भेटमा बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए ।  उक्त भेटमा पनि भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

चार तारे हेरिटेज होटल २ बैंकको लिलामीमा

काठमाडौं । पोखराको लेकसाइडमा सञ्चालित चारतारे बुटिक होटल ‘हेरिटेज होटल सुइट्स एन्ड स्पा’ बैंकको कर्जा चुक्ता नभएपछि लिलामी प्रक्रियामा परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकको सहवित्तीयकरणअन्तर्गत लिएको कर्जा चुक्ता नभएपछि दुवै बैंकले होटलको धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्न लागेका हुन् । बैंकले होटल सञ्चालकलाई कर्जाको सम्पूर्ण साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर चुक्ता गर्न सात दिनको समय दिएको छ । तोकिएको अवधिभित्र कर्जा चुक्ता नभए धितोमा राखिएको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने बैंकले जनाएको छ । हेरिटेज होटल एन्ड स्वीट्स प्रालिको नाममा कास्कीको पोखरा महानगरपालिका–६ मा दर्ता रहेको कित्ता नम्बर १२६ को १ हजार १०८.८५ वर्गमिटर र कित्ता नम्बर २८ को १ हजार १०४.४० वर्गमिटर क्षेत्रफलको घरजग्गा बैंकमा धितो राखिएको छ । लिलामीका लागि भदौ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने र प्राप्त बोलपत्र भदौ २६ गते दिउँसो २ बजे हिमालयन बैंकको न्युरोड शाखा, काठमाडौंमा खोलिने जनाएको छ । होटल सञ्चालक रविचन्द्र हमाल ठकुरी र संगीता हमाल ठकुरी हुन् । बैंकको करिब १ अर्ब रुपैयाँ कर्जासहित होटलमा २ अर्ब रुपैयाँ बढी लगानी भइसकेको छ । तर, कोभिड–१९ महामारीका कारण पर्यटन व्यवसाय प्रभावित भएपछि होटलको आम्दानीमा असर परेको र कर्जा तथा ब्याजको भार बढ्दै गएपछि आर्थिक समस्या देखिएको हो । पोखराको लेकसाइडमा पाँच रोपनी क्षेत्रफलमा फैलिएको हेरिटेज होटललाई सञ्चालक पक्षले नेपाली मौलिक कला, वास्तुकला र आतिथ्यको संयोजन भएको बुटिक होटलका रूपमा अघि सारेको छ । होटलमा भक्तपुरको इँटा तथा बुङमती र पाटनका करिब १५० जना कालिगढको सीप प्रयोग गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका केही पुराना घरका काष्ठकला, झ्याल तथा ढोकासमेत संकलन गरेर होटलमा प्रयोग गरिएको सञ्चालक पक्षले जनाएको छ । नेपालका मौलिक कला, संस्कृति, परम्परा तथा वास्तुकलालाई पर्यटनमार्फत संरक्षण र जीवन्त राख्ने उद्देश्यले होटल निर्माण गरिएको बताइएको छ । होटल परिसरमा पुराना कलाकृति, हस्तकला तथा वास्तुकलाका सामग्रीलाई आधुनिक आतिथ्य सेवासँग जोडेर प्रस्तुत गरिएको छ । होटलमा अन्नपूर्ण, लाङटाङ र एभरेस्ट नामका तीन भवन छन् । कुल ६० कोठा रहेको होटलमा १८ वटा सुइट तथा सेमी–सुइट र ४२ वटा स्ट्यान्डर्ड रुम छन् । हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पा, स्विमिङ पुल, रेस्टुरेन्ट तथा बारलगायतका सुविधा पनि होटलमा छन् । होटलको निर्माण २०६७ सालमा सुरु भएको थियो । करिब आठ वर्ष लगाएर निर्माण सम्पन्न भएको होटल २०७५ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । पूर्णरूपमा सञ्चालनमा आएर व्यवसायले गति लिन नपाउँदै कोरोना महामारीका कारण होटलको व्यवसाय प्रभावित भएको थियो । फेवातालबाट करिब १२३ मिटरको दूरीमा रहेको होटलले नेपाली आतिथ्य संस्कार ‘अतिथि देवो भवः’लाई आफ्नो सेवा दर्शनका रूपमा अघि सारेको जनाएको छ । पोखराको प्राकृतिक सौन्दर्य, हिमाल, ताल तथा साहसिक पर्यटनसँग होटलको पहिचान जोड्दै नेपाली कला र संस्कृतिको अनुभव दिने उद्देश्य राखिएको होटलको भनाइ छ ।

सिटिजन्स बैंकका कर्मचारीका लागि मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथामबारे सचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकले भारतको गुडगाउँस्थित मेदान्ता–द मेडिसिटी अस्पतालसँगको सहकार्यमा ‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेज’ विषयमा अनलाइन सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । सेप्टेम्बर १ मा आयोजित कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका बैंकका कर्मचारीलाई लक्षित गरिएको थियो । कार्यक्रममा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतको कार्डियाक केयरअन्तर्गत क्लिनिकल एन्ड प्रिभेन्टिभ कार्डियोलोजीका भाइस चेयरम्यान डा. मनीष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए । कार्यक्रममा मुटु तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम, रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता तथा दैनिक जीवनमा स्वस्थ बानी र जीवनशैली अपनाउने महत्त्वबारे जानकारी दिइएको थियो । नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत मुटुको स्वास्थ्य सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीलाई सचेत गराइएको बैंकले जनाएको छ । अनलाइन कार्यक्रममा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए । कर्मचारीमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ । यसैगरी, बैंकका कार्डवाहक ग्राहकले उपचारका क्रममा मेदान्ता अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको जनाएको छ ।

बालेनले कुलमानलाई सोधे : सुरुङमा फसेकाहरुको उद्वार कसरी गर्ने ?

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारले चाल्नुपर्ने कदमबारे सुझाव दिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा घिसिङ नेतृत्वको टोलीले विपद्पछिको तत्कालीन उद्धारदेखि प्रभावितको पुनस्र्थापनासम्मका विषयमा प्रधानमन्त्री शाहसँग छलफल गरेको हो । बाढी प्रभावित विभिन्न क्षेत्रमा स्थलगत निरीक्षण गरेर फर्किएको टोलीले त्यहाँको वास्तविक अवस्था, देखिएका चुनौती र तत्काल सम्बोधन गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको घिसिङले बताए । प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा उनले भने, ‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं ।’ घिसिङका अनुसार तत्कालीन उद्धारसँगै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने र विस्थापितलाई सुरक्षित रूपमा पुनस्र्थापना गर्ने विषयमा सरकारले समग्र योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिइएको छ । ‘हामीले लिखित र मौखिक सुझाव दिएका छौं,’ घिसिङले भने, ‘अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट विषयमा हामीले समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ ।’ भेटका क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदार तथा अन्य नागरिकको उद्धारबारे विशेष चासो राखेका थिए । सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अपनाउनुपर्ने उपाय तथा त्यसका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारीबारे पनि घिसिङ नेतृत्वको टोलीले आफ्ना धारणा राखेको थियो । ‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ घिसिङले भने, ‘त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं ।’ घिसिङका अनुसार सुरुङभित्र फसेका नागरिकको उद्धारलाई कुनै पनि अवस्थामा रोक्न नहुने र उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर प्रयास जारी राख्नुपर्ने विषयमा छलफल भएको थियो । टोलीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि गर्नुपर्ने काम र सम्भावित उपायबारे जानकारी गराएपछि प्रधानमन्त्री शाहले सरकारले उपलब्ध सबै साधनस्रोत प्रयोग गरेर उद्धार अभियान अघि बढाउने प्रतिबद्धता जनाएको घिसिङले बताए । ‘उहाँले पनि यो विषयमा हामी सकेको जुनसुकै काम गर्नुपरे पनि गर्छौं भन्नुभएको छ,’ घिसिङले भने, ‘जुनसुकै अवस्थामा पनि जस्तोसुकै परिचालन गर्नुपरे पनि परिचालन गरेर अगाडि बढ्ने भन्नुभएको छ ।’

बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निर्जीवन बीमा क्षेत्रले ३ करोड ७३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । नेपाल निर्जीवन बीमा व्यवसायी संघ र संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका हुन् । त्यसैगरी विभिन्न बीमा कम्पनीका कर्मचारीले समेत २६ लाख २३ हजार १८ रुपैयाँ सहयोग गरेका छन् । संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरणका क्रममा सम्बन्धित बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति थियो । संघका अनुसार योगदान गर्ने संस्थामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत कर्मचारीबाट संकलित २६ लाख २३ हजार १८ रुपैयाँसमेत हस्तान्तरण गरिएको संघले जनाएको छ । एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भने यसअघि नै बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । बाँकी बीमा कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा रहेको संघले जनाएको छ । यसैबीच, संघको बैठकले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो । बाढीपछि बेपत्ता भएका व्यक्तिको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै संघले उद्धार कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताप्रति आभार व्यक्त गरेको छ । संघले बाढी तथा पहिरोका कारण क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ । प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा बीमा कम्पनीहरूले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै सहयोग रकम हस्तान्तरण गरिएको संघले जनाएको छ । सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा बीमा कम्पनीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

बाढीपीडितको राहत र उद्धारका लागि प्रिमियर सेक्युरिटिजको २० लाख सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गरेको हो । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । प्रिमियर सेक्युरिटिजले प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । कम्पनीले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सबै नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गरिएको कम्पनीले जनाएको छ । प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सदस्य रहेको धितोपत्र कारोबार गर्ने संस्था हो ।

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान सुरु, प्राविधिक प्रतिवेदनको प्रतीक्षा

काठमाडौं । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटान सुरु गरिएको छ । बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ । सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीसमेत कार्यस्थलमा खटाइएको छ । नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ । सोसाइटीले आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्साङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोसाइटीको प्राविधिक प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने काम औपचारिक रूपमा सुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिइन् । हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउन आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन् ।