तीजको बजेट बाढीपीडितलाई, पोर्चुगलबाट प्रधानमन्त्री राहत कोषमा ४५ हजार सहयोग

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि पोर्चुगलको कोइम्ब्रास्थित नेपाल सांस्कृतिक समुदाय कोइम्ब्रा (एनसीसीसी) ले आफ्नो पूर्वनिर्धारित तीज कार्यक्रम स्थगित गरेको छ ।

संस्थाले ‘परदेशमा तीज, मनमा नेपाल’ शीर्षकमा आयोजना गर्ने तयारी गरेको तीज तथा दर खाने कार्यक्रम रद्द गर्दै त्यसका लागि छुट्याइएको बजेट विपद् पीडितको राहतमा खर्च गर्ने निर्णय गरेको हो ।

एनसीसीसीले कार्यक्रमका लागि विनियोजन गरिएको रकम र संस्थाका सात जना क्रियाशील सदस्यको व्यक्तिगत सहयोगबाट संकलित २६० युरो, करिब ४५ हजार ५०० रुपैयाँ, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

संस्थाका क्रियाशील सदस्य सन्तोष पाण्डेका अनुसार देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला उत्सव मनाउनुभन्दा राहत र उद्धारमा साथ दिनु नै उचित ठानेर तीज कार्यक्रम स्थगित गरिएको हो ।

उनले सहयोग रकमको आकारभन्दा पनि विपद्का बेला देश र नेपाली समुदायप्रतिको दायित्व तथा मानवीय भावना महत्वपूर्ण रहेको बताए । सात जना सदस्यको पहलमा रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको उनले जानकारी दिए ।

यसैबीच, बाढी–पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न एनसीसीसीले सेप्टेम्बर ५ गते शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ ।

संस्थाले पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्न र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न आग्रह गरेको छ ।

साथै, नेपाल तथा विदेशमा रहेका नेपाली संघ–संस्था र व्यक्तिहरूलाई पनि आफ्नो क्षमताअनुसार बाढी–पहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल गरेको छ ।

Share News