बाढीपीडितका लागि नाडाले दियो १० लाख रुपैयाँ
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । गत भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको नाडाले जनाएको छ । नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको छ । नाडाको टोलीले प्रभावित परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिरहेको जनाएको छ । विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा रहनु सामाजिक दायित्व भएकाले राहत र मानवीय सहयोगलाई निरन्तरता दिइएको नाडाले जनाएको छ । चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल र सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति थियो ।
बाढीपीडितका लागि रिद्धि सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग
काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ सहयोग गरेको हो । रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । कम्पनीले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । विपद्को कठिन समयमा प्रभावित नागरिक र सरकारको साथमा रहेको पनि कम्पनीले जनाएको छ । बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनःनिर्माण सबैको साझा दायित्व भएकाले सहयोग गरिएको कम्पनीको भनाइ छ । कम्पनीले उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीप्रति सम्मान र आभार व्यक्त गरेको छ ।
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । बिहीबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले विभिन्न ७ निर्णय गरेको प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू : १. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर (५० लाख डलर) अनुदान सहायता स्वीकार गर्ने । २. रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न ‘एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’अन्तर्गत राहत, कर तथा महसुल छुट लगायतका सहुलियत उपलब्ध गराउने । ३. साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने । ४. खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने । ५. २०८३ भदौ २३ गते ‘जेन्जी शहीद दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने । ६. भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने । ७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने ।
मोरङ उद्योग संघको साधारण सभा सम्पन्न, ७५ वर्षको स्मारिका सार्वजनिक
काठमाडौं । मोरङ उद्योग व्यापार संघको ६९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभासँगै संघको ७५ वर्षको इतिहास समेटिएको विशेष स्मारिका ‘भिजन टु लेगेसी’ पनि सार्वजनिक गरिएको छ । स्मारिकामा संघको ७५ वर्षको यात्रा, उद्योग–व्यापार क्षेत्रमा दिएको योगदान र संस्थाको विकासक्रम समेटिएको छ । स्मारिकाको अनावरण संघका अध्यक्ष अनुपम राठी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका पूर्वअध्यक्षहरू र निवर्तमान अध्यक्ष नवीन रिजालले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा अध्यक्ष अनुपम राठीले ७५ वर्षको इतिहासलाई पुस्तकका रूपमा प्रकाशित गर्न पाउनु संघका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले यो स्मारिका व्यापार, विश्वास र परिवर्तनको ७५ वर्षको दस्तावेज भएको उल्लेख गरे । अध्यक्ष राठीले स्मारिका प्रकाशन समितिका संयोजक अमित राठी र सह–संयोजक दिपेश सुवेदीको विशेष प्रशंसा पनि गरे । स्मारिका तयार पार्न उनीहरूले गरेको मेहनत र योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गरे । उद्योगी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा संघले आफ्नो ७५ वर्षको यात्रा स्मरण गर्दै आगामी दिनमा उद्योग र व्यापार क्षेत्रको विकासमा थप सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले १० करोडसम्म लगानी गर्ने
काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले १० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको एनआइबिएल इक्विटी पार्टनर्सले चलचित्र निर्माण कम्पनी इन्सेसन्ट रेन स्टुडियोजसँग लगानी सम्झौता गरेको हो । सम्झौताअनुसार चलचित्रको निर्माण र यससँग सम्बन्धित गतिविधिमा १० करोड रुपैयाँसम्म लगानी गरिने कम्पनीले जनाएको छ । एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेले यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली मौलिक कथा र सिर्जनालाई विश्व बजारसम्म पुर्याउने उद्देश्यले यो लगानी गरिएको बताए । ‘लस्ट इन मण्डला’ एनिमेटेड फेन्टासी र एड्भेन्चर शैलीको चलचित्र हो । यसको सिर्जना तथा निर्देशन किरण भक्त जोशीले गरेका हुन् भने निर्माता दीपा चिपालु जोशी हुन् । चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्परा, पौराणिक कथा र प्राकृतिक सौन्दर्यबाट प्रेरित छ । यसले मित्रता, करुणा, अपनत्व र आत्म–अन्वेषणको कथा विश्वस्तरीय एनिमेसनमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ । एनआइएमबि एस क्यापिटलले यसअघि पनि ‘लस्ट इन मण्डला’ परियोजनाका लागि कोष संकलन र लगानीकर्ता परिचय कार्यक्रममा सहयोग गर्दै आएको जनाएको छ ।
५ खर्ब नाघ्यो ऊर्जामा बैंकको लगानी, नबिल अगाडि, कुमारीको वृद्धि सबैभन्दा धेरै
काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ऊर्जा तथा जलविद्युत् क्षेत्रमा ८.८२ प्रतिशत अर्थात् ४० अर्ब ८४ करोड ८० लाख रुपैयाँ थप कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरूको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कुल कर्जा लगानी ५ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म बैंकहरूको उक्त क्षेत्रमा ४ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी रहेको थियो । गत असार मसान्तसम्म ऊर्जा तथा जलविद्युत् क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी नबिल बैंकको रहेको छ । नबिल बैंकको कर्जा लगानी १३.२८ प्रतिशत अर्थात् ६ अर्ब २७ करोड ९८ लाख रुपैयाँले बढेर ५३ अर्ब ५३ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो लगानी ४७ अर्ब २५ करोड २४ लाख रुपैयाँ थियो । कर्जा लगानी वृद्धिका आधारमा भने कुमारी बैंक अगाडि रहेको छ । बैंकको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी ३१.१९ प्रतिशत अर्थात् १२ अर्ब ५० करोड रुपैयाँले बढेर ५२ अर्ब ६० करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कुमारी बैंकको यस्तो लगानी ४० अर्ब ९ करोड ४२ लाख रुपैयाँ थियो । यस्तै, एभरेष्ट बैंकको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी २७.४६ प्रतिशतले बढेर २७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । कृषि विकास बैंकको २४.३१ प्रतिशतले बढेर १३ अर्ब ७६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.४५ प्रतिशतले बढेर ३४ अर्ब ११ करोड रुपैयाँ, सानिमा बैंकको १२.८२ प्रतिशतले बढेर ३० अर्ब ४४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १२.११ प्रतिशतले बढेर २२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको कर्जा लगानी १०.६७ प्रतिशतले बढेर ११ अर्ब ७२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९.६० प्रतिशतले बढेर १६ अर्ब ३१ करोड रुपैयाँ, सिटिजन्स बैंकको ९.२१ प्रतिशतले बढेर २४ अर्ब १६ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.४९ प्रतिशतले बढेर ३६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी ६.८० प्रतिशतले बढेर २७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। एनआईसी एशिया बैंकको ६.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३.८७ प्रतिशतले बढेर ३२ अर्ब ९ करोड रुपैयाँ, नेपाल बैंकको २.०१ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ र प्राइम बैंकको ०.२० प्रतिशतले बढेर २६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अधिकांश बैंकले ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी बढाए पनि चार बैंकको लगानी भने घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लगानी ३२.५५ प्रतिशतले घटेर ५ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, हिमालयन बैंकको कर्जा लगानी १६.२६ प्रतिशतले घटेर १८ अर्ब २४ करोड रुपैयाँ, एनएमबि बैंकको २.७८ प्रतिशतले घटेर ३० अर्ब ६७ करोड रुपैयाँ र प्रभु बैंकको २.५० प्रतिशतले घटेर १९ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ ।
बाढी प्रभावितको राहतका लागि मेरोमाइक्रोफाइनान्सको १४ लाख ५५ हजार सहयोग
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी–पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि दैवीप्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संस्थाले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा हालै आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । मेरोमाइक्रोफाइनान्सका अनुसार विपद्ले संस्थाको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटसहित पाँच वटा शाखा कार्यालय पनि प्रत्यक्ष प्रभावित भएका छन् । संस्था र कर्मचारीहरूको संयुक्त सहयोगबाट १४ लाख ५५ हजार रुपैयाँ दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ । संस्थाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते र प्रभावित व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै उद्धार, राहत र पुनर्स्थापनामा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्वयंसेवक र सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ ।
चीनबाट तेस्रो चरणको राहत सामग्री नेपाल आइपुग्यो, १० फरेन्सिक विज्ञ पनि
काठमाडौं । चीनले नेपालका लागि पठाएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । राहत सामग्रीसँगै चीनबाट फरेन्सिक विज्ञहरूको १० सदस्यीय टोली पनि काठमाडौं आइपुगेको छ । यो नेपालमा खटिने चिनियाँ फरेन्सिक विज्ञहरूको चौथो टोली हो । विमानस्थलमा आयोजित हस्तान्तरण तथा स्वागत कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए । उनीहरूले चीनबाट ल्याइएका राहत सामग्री ग्रहण गर्नुका साथै विज्ञ टोलीको स्वागत गरेका थिए । चीनबाट आएको राहतको तेस्रो खेपमा शव सुरक्षित राख्न प्रयोग हुने फ्रिजर, महामारी नियन्त्रण तथा रोकथामका सामग्री र दैनिक उपभोगका अत्यावश्यक वस्तुहरू छन् । बाढी तथा प्राकृतिक विपद्पछि शव व्यवस्थापन र सम्भावित संक्रमणको जोखिम नियन्त्रणलाई ध्यानमा राख्दै चीनले राहत सामग्रीसँगै फरेन्सिक जनशक्ति पनि नेपाल पठाएको हो । चिनियाँ विज्ञ टोलीले आवश्यक फरेन्सिक पहिचान तथा शव व्यवस्थापनसम्बन्धी काममा नेपाली निकायलाई सहयोग गर्नेछ ।