विकासन्युज

अन्तर्राष्ट्रिय मिडियामा नेपालको बाढी : सचेतनाको बिगुलदेखि खतराको चेतावनीसम्म

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि यसको प्रभाव नेपालको सीमाभित्र मात्र सीमित रहेन । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले पु¥याएको क्षति, ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता, जलविद्युत् आयोजनामा फसेका कामदारको उद्धार र भौतिक पूर्वाधारमा भएको विनाशलाई विश्वका प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ कभर गरिरहेका छन् । घटना भएको केही दिनसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य ध्यान मृत्यु, बेपत्ता तथा उद्धारमा केन्द्रित देखिए पनि पछिल्ला रिपोर्टहरूमा यसको दायरा फराकिलो हुँदै गएको छ । अहिले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय मिडियाले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, हिमनदीको अस्थिरता, पूर्वसूचना प्रणालीको कमजोरी र विपद् व्यवस्थापनको चुनौतीसँग जोडेर विश्लेषण गर्न थालेका छन् । अमेरिकी समाचार संस्था रोयटर्सले नेपालको बाढीसम्बन्धी पछिल्लो रिपोर्टमा उद्धार कार्यसँगै भविष्यमा यस्ता विपत्तिबाट कसरी जोगिने भन्ने विषयलाई प्राथमिकता दिएको छ । रोयटर्सका अनुसार नेपालले चीनसँगको सीमाक्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली पुनर्निर्माण गर्ने तयारी गरिरहेको छ । रसुवाको टिमुरे क्षेत्रमा स्थापना गरिएको पुरानो पूर्वसूचना प्रणाली बाढीका कारण नष्ट भएपछि नयाँ प्रणाली निर्माणको तयारी भइरहेको रोयटर्सले जनाएको छ । प्रस्तावित प्रणालीमा भूकम्पीय सेन्सर, क्यामेरा र मोबाइल नेटवर्क अवरुद्ध भएको अवस्थामा समेत सूचना सम्प्रेषण गर्न सक्ने भीएसएटी स्याटेलाइट लिंक राखिने तयारी छ । रोयटर्सको यो कभरेजले नेपालको बाढीसम्बन्धी अन्तर्राष्ट्रिय समाचारको प्राथमिकता विस्तार भएको संकेत गर्छ । घटना भएको तत्कालीन समयमा मृत्यु र उद्धार मुख्य विषय भए पनि अहिले प्रश्न ‘यस्तो विपत्ति फेरि आयो भने त्यसअघि नै मानिसलाई कसरी सचेत गराउने ?’ भन्नेतर्फ केन्द्रित भएको छ । रोयटर्सले अर्को रिपोर्टमा विपत्तिको एक सातापछि पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोजी जारी रहेको र उद्धारकर्ताहरू कठिन परिस्थितिमा काम गरिरहेको उल्लेख गरेको छ । समय बित्दै जाँदा जीवित व्यक्ति भेटिने सम्भावना कमजोर बन्दै गए पनि खोज तथा उद्धार अभियानलाई अन्तिम आशाका रूपमा निरन्तरता दिइएको रिपोर्टमा उल्लेख छ । बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल-तिब्बत सीमामा रहेको दुर्गम व्यापारिक नाका र त्यस वरपरको विनाशलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेको छ । बाढीले सडक, पुल, बस्ती तथा व्यापारिक पूर्वाधारमा पु¥याएको क्षतिसँगै ठूलो संख्यामा मानिस बेपत्ता भएको अवस्थालाई बीबीसीले घटनाको गम्भीर पक्षका रूपमा उठाएको छ । पछिल्लो रिपोर्टिङमा हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी अभियान जारी रहेको उल्लेख छ । बीबीसीको भिडियो सामग्रीले घटनाको दृश्य प्रभाव र जमिनमा देखिएको विनाशलाई प्राथमिकता दिएको छ भने उसका समाचार सामग्रीले विपद्को मानवीय र भौगोलिक पाटोलाई थप व्यापक सन्दर्भमा राखेको देखिन्छ । यसले नेपालमा भएको घटनालाई एउटा स्थानीय विपद् मात्र नभई हिमाली क्षेत्रमा बढ्दो जोखिमको उदाहरणका रूपमा अन्तर्राष्ट्रिय बहसमा ल्याएको छ । यस्तै, बेलायती सञ्चारमाध्यम गार्जियनले नेपालको बाढीलाई मुख्यतः मानवीय त्रासदीको कोणबाट प्रस्तुत गरेको छ । उसका रिपोर्टहरूमा मृत्यु तथा बेपत्ताको संख्या मात्र होइन, बाढीबाट घरबार गुमाएका परिवार, आफन्तको खोजीमा रहेका मानिस र ध्वस्त भएका बस्तीको अवस्थालाई समाचारको केन्द्रमा राखिएको छ । गार्जिएनको स्थलगत रिपोर्टिङमा बाढीले सडक, पुल, घर तथा अन्य पूर्वाधार बगाएपछि प्रभावित क्षेत्रका मानिसको दैनिकी कसरी अस्तव्यस्त भएको छ भन्ने चित्रण गरिएको छ । कतिपय स्थानमा उद्धार तथा राहत सामग्री पु¥याउनसमेत कठिन भएको रिपोर्टमा उल्लेख छ । गार्जिएनले रसुवाको जलविद्युत् आयोजनाहरुमा फसेका कामदारको खोजीलाई पनि प्रमुखताका साथ उठाएको छ । सुरुङभित्र रहेका मानिससम्म पुग्न उद्धार टोलीले गरिरहेको प्रयासलाई उसले मानवीय आशा र निराशाबीचको संघर्षका रूपमा प्रस्तुत गरेको छ । यसअघि प्रकाशित गार्जियनको अर्को स्थलगत सामग्रीले बाढीमा घर र आफन्त गुमाएका मानिसको व्यक्तिगत प्रोफाइल समेटेको थियो । त्यसमा बाढीबाट बचेका मानिसहरूको पीडालाई प्रत्यक्ष अनुभव र स्थानीयका भनाइमार्फत प्रस्तुत गरिएको छ । यसले ठूलो प्राकृतिक विपत्तिलाई अन्तर्राष्ट्रिय पाठकसम्म पु¥याउन व्यक्तिगत पीडा र मानवीय कथालाई शक्तिशाली पत्रकारिताको माध्यम बनाएको देखिन्छ । कतारस्थित अल्जजिराले नेपालको बाढीलाई निरन्तर फलोअप गरिरहेको छ । यसको रिपोर्टिङमा पनि मृत्युको तथ्यांकसँगै प्रभावित परिवारका व्यक्तिगत कथाहरु प्राथमिकतामा छन् । अल्जजिराले आफ्नो एक रिपोर्टमा बेपत्ता छोराको खोजीमा बाबुले दिनौंसम्म यात्रा गरेको कथा प्रस्तुत गरेको छ । छोराको अवस्था पत्ता लगाउन पैसा सापटी लिएरसमेत प्रभावित क्षेत्रमा पुगेका बाबुको कथामार्फत उसले बाढीको वास्तविक मानवीय मूल्य देखाउने प्रयास गरेको छ । यो रिपोर्टिङ शैलीले विपत्तिको आकारलाई फरक ढंगले प्रस्तुत गर्छ । हजारौं मानिस बेपत्ता भएको तथ्यांक आफैंमा ठूलो समाचार हो, तर एउटा परिवारले आफ्नो सदस्यको खोजीमा भोगेको पीडालाई केन्द्रमा राख्दा अन्तर्राष्ट्रिय पाठकका लागि त्यो संकट अझ जीवन्त बन्न पुग्छ । अल्जजिराले बाढीपछि घर फर्किएका मानिसहरूको अवस्थालाई पनि भिडियो रिपोर्टमार्फत देखाएको छ । हिलो र भग्नावशेषले भरिएका घरभित्र मानिसहरू बाँकी रहेका सामान खोजिरहेको दृश्यलाई उसले समाचारको विषय बनाएको छ । जर्मनीको सञ्चार माध्यम डीडब्लूले नेपालको बाढीलाई अझ फराकिलो जलवायु परिवर्तनको सन्दर्भमा प्रस्तुत गरेको छ । डीडब्लूको रिपोर्टिङमा मुख्य प्रश्न तत्कालीन बाढीको क्षतिभन्दा पनि हिमनदी पग्लिँदै जाँदा हिमाली समुदायलाई कसरी सुरक्षित राख्ने ? भन्नेमा केन्द्रीत छ । तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमनदी अस्थिर बन्ने र त्यसबाट अचानक ठूलो मात्रामा पानी, बरफ, माटो तथा चट्टान बग्ने जोखिम बढिरहेको विषयलाई यसले उठाएको छ । यस्तो अवस्थामा नेपालजस्ता हिमाली मुलुकमा परम्परागत बाढी पूर्वानुमान प्रणाली मात्र पर्याप्त नहुन सक्ने संकेत रिपोर्टले गरेको छ । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले पनि नेपालको बाढीलाई जलवायु परिवर्तनसँग जोडेर रिपोर्टहरु सम्प्रेषण गरिरहेको छ । यसको रिपोर्टको केन्द्रमा नै जलवायु परिवर्तनका कारण हिमनदीसँग सम्बन्धित विपत्तिको जोखिम बढिरहेको चिन्ता राखिएको छ । रिपोर्टमा विज्ञहरूलाई उद्धृत गर्दै हिमाली क्षेत्रमा हिमनदी तथा पहाडी भूभाग अस्थिर बन्दै जाँदा पहिरो, आकस्मिक बाढी र अन्य विपद्को जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ । एबीसी न्युजले नेपालको बाढीलाई केवल नेपालको आन्तरिक समस्या मानेको छैन । हिमालय क्षेत्रमा देखिएको यो जोखिम भविष्यमा विश्वका अन्य हिमाली समुदायका लागि समेत चेतावनी हुन सक्ने सन्देश उसको रिपोर्टिङमा देखिन्छ । दी न्यू ह्युम्यानिट्रेनले नेपालको बाढीके घटनालाई आलोचनात्मक दृष्टिकोणबाट हेरेको छ । उसको विश्लेषणको शीर्षक नै दि हिमालयन डिजास्टर नेपाल कुड नट सी कमिङ अर्थात् ‘नेपालले आउँदै गरेको देख्न नसकेको हिमाली विपत्ति’ भन्ने छ । रिपोर्टले अचानक आएको बाढीले स्थानीय समुदायलाई प्रतिक्रिया जनाउने पर्याप्त समय नदिएको अवस्थालाई जोड दिएको छ । यो रिपोर्टिङको महत्वपूर्ण पक्ष विपत्ति आफैंभन्दा विपद् आउनुअघि राज्य र समुदाय कति तयार थिए ? भन्ने प्रश्न हो । विशेषगरी दुर्गम हिमाली क्षेत्रमा पूर्वसूचना, सञ्चार संयन्त्र, उद्धार पहुँच र जोखिमबारे स्थानीय समुदायलाई जानकारी दिने प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न यसले उठाएको छ । अन्तर्राष्ट्रिय मिडियाको पछिल्लो कभरेजलाई क्रमिक रूपमा हेर्दा एउटा स्पष्ट परिवर्तन देखिन्छ । बाढी आएको सुरुवाती समयमा समाचारको केन्द्रमा मृत्यु, बेपत्ता, उद्धार र तत्कालीन क्षति थिए । तर, समय बित्दै जाँदा रिपोर्टिङको विषयवस्तु परिवर्तन भएको छ ।  जलविद्युत् सुरुङमा फसेका कामदार, परिवारका सदस्यको खोजी, ध्वस्त पूर्वाधार, विदेशी नागरिकको अवस्था र राहतसँगै अहिले पूर्वसूचना प्रणाली, हिमनदीको अस्थिरता, जलवायु परिवर्तन र दीर्घकालीन जोखिमले बढी स्थान पाउन थालेका छन् । यसले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एउटा स्थानीय विपत्तिका रूपमा मात्र नभई हिमालयमा विकसित भइरहेको सम्भावित दीर्घकालीन संकटको उदाहरणका रूपमा हेर्न थालेको देखाउँछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको कभरेज तुलना गर्दा एउटै घटनालाई उनीहरूले फरक पत्रकारिताको ‘फ्रेम’बाट प्रस्तुत गरेको देखिन्छ । रोयटर्सले उद्धार र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको छ भने गार्जियनले मानवीय पीडा र प्रभावित परिवारको कथालाई पस्केको छ । अल्जजिराले व्यक्तिगत कथा र बेपत्ता आफन्तको खोजीलाई केन्द्रमा राखेको छ । त्यसैगरी एबीसी न्युजले जलवायु परिवर्तन तथा हिमनदीसँग जोडिएको जोखिमलाई मुख्य विषय बनाएको छ भने दि न्यू ह्युम्यानिटारियनले विपद् पूर्वतयारी र मानवीय संकटको संरचनात्मक पक्षमाथि प्रश्न उठाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उठाएका प्रश्न नेपालका लागि पनि उत्तिकै महत्वपूर्ण छन् । जलवायु परिवर्तनमा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि हिमाली भूगोलका कारण जलवायुजन्य जोखिमको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जोखिमयुक्त बस्तीको पहिचान, नदी तथा हिमनदीको निरन्तर निगरानी, प्रभावकारी पूर्वसूचना प्रणाली, स्थानीय तहसम्म तत्काल सूचना पु¥याउने संयन्त्र, सुरक्षित पूर्वाधार तथा नेपाल–चीनलगायत सीमापार सूचना आदानप्रदानलाई थप बलियो बनाउनुपर्ने उल्लेख गरेका छन् ।  हिमालमा बदलिँदो जलवायु, अस्थिर हिमनदी, आकस्मिक विपद् र त्यससँग जुध्नुपर्ने नेपालको तयारीका विषयमा पनि अन्तर्राष्ट्रिय मिडियाहरुले महत्वका साथ उल्लेख गरेका छन् । 

रसुवा बाढी : मृतकको संख्या १,२५२ पुग्यो, ११ हजार ९९३ जनाको जीवितै उद्धार

काठमाडौं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी र त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाले ज्यान गुमाएका छन् ।  गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो ।  प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ, जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् । यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । विपदमा परेका ११ हजार ९९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले मात्रै हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनाको उद्धार गरेको छ । उद्धारका लागि सेनाले ७१५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन् ।  बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । जसमध्ये विभिन्न अस्पतालमा ३०१ जनाको उपचार भइरहेको छ भने नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।  हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका होल्डिङ सेन्टरहरूमा ३ हजार ९४८ जना आश्रित छन् । बाढीका कारण हालसम्म ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् ।  सम्पर्कविहीन हुनेहरूमा रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना स्थानीय बासिन्दा रहेका छन् । यस्तै, ५८३ विदेशी पर्यटक, जलविद्युत आयोजनाका करिब ९०० कर्मचारी, ४५ सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू समेत बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।  खोज तथा उद्धार कार्यका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् । विपद्का कारण अवरुद्ध भएका सञ्चार सेवाहरू क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावरले काम गर्न थालेका छन् । प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ । सरकारले प्रभावित जिल्ला र स्थानीय तहहरूका लागि तत्काल नगद राहतको घोषणा गरेको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ ।  यस्तै, प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । काठमाडौंबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हवाई मार्गबाट समेत राहत सामग्री ढुवानी भइरहेको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्‍याएको छ ।  प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति र उपचाररतहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जानकारी दिएको छ । –न्युज एजेन्सी नेपाल

बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर कर्मचारीको १९ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १९ लाख ६ हजार ३३५ रुपैयाँ सहयोग गरेका छन् । कम्पनीका ४९९ कर्मचारीको पारिश्रमिकबाट उक्त रकम संकलन गरिएको हो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सहयोग रकमको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कर्मचारीहरूले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका हुन् । कम्पनीले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीको पारिश्रमिकबाट रकम संकलन गरी सरकारको उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ । सहयोग रकम बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ ।

बाढीपीडितका लागि राष्ट्रिय कर्मचारी संगठनद्वारा १ लाख ५५ हजार सहयोग

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। संगठनका अध्यक्ष कृष्ण केसी र सचिव हरि प्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै संगठनले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सम्पर्कविहीन भएका नागरिकहरू छिट्टै आफन्तको सम्पर्कमा आऊन् भन्ने कामना गरेको छ । बाढीका कारण सर्वसाधारण, बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्रमा कार्यरत कर्मचारी, सुरक्षा निकाय, विद्यार्थी तथा उनीहरूका परिवारसमेत प्रभावित भएको संगठनले जनाएको छ । विभिन्न वित्तीय संस्थाका कार्यालय, जलविद्युत् आयोजना, भौतिक संरचना तथा सम्पत्तिमा समेत क्षति पुगेको भन्दै संगठनले विपद्को यस कठिन घडीमा प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र सहयोगमा ऐक्यबद्धता जनाएको छ । बाढी प्रभावित नागरिक तथा जनधनको यथाशीघ्र लगत संकलन गरी तत्काल राहत वितरण गर्न, घाइतेको निःशुल्क उपचार तथा आवास व्यवस्थापन गर्न र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा तदारुकता देखाउन संगठनले सरकारसँग आग्रह गरेको छ । साथै, विपद्पछि उत्पन्न हुन सक्ने महँगी, खाद्य संकट तथा सम्भावित महामारीप्रति सचेत रहन नागरिक तथा तीनै तहका सरकारलाई संगठनले आग्रह गरेको छ ।

बाढीका कारण परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सव कार्यक्रम स्थगित

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति शोक व्यक्त गर्दै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार भदौ १९ गते कृष्ण जन्माष्टमीका दिन आयोजना गर्ने तय भएको ६७औँ वार्षिकोत्सव कार्यक्रम राष्ट्रिय संकटको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नगर्ने निर्णय गरिएको हो । अस्पतालले वार्षिकोत्सवका अवसरमा कार्यक्रमका लागि खर्च हुने रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेको जनाएको छ । साथै, राष्ट्रिय विपद्को संवेदनशील घडीमा अस्पतालका सम्पूर्ण कर्मचारी तथा सरोकारवालालाई एकजुट भई सम्भावित विपद्का लागि तयार रहन र आ–आफ्नो तर्फबाट राज्यलाई सक्दो सहयोग गर्न अस्पतालले आह्वान गरेको छ । अस्पतालले बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा मानवीय संवेदना र सहयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

बाढी प्रभावितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् । होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायत संस्थाको तर्फबाट उक्त रकम सहयोग गरिएको हो । बुधबार होल्डिङ्सका सहअध्यक्ष तथा नर्भिकका निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्को अवस्थामा सरकारले सञ्चालन गर्ने राहत तथा पुनर्निर्माणका काममा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोडभन्दा बढी रकम सहयोग गरिएको बताइन् । उनले सहयोग रकम ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन् । उनले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिप्रति उनले सम्मानसमेत व्यक्त गरिन् । बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध विभिन्न संस्थामार्फत कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

जीवन विकास लघुवित्तले बाढीपीडितका लागि दियो २५ लाख ५ हजार

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । जीवन विकास लघुवित्तमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजयकुमार मण्डलले जानकारी दिए । ‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सहयोग गरेका हौं,’ सीईओ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित तथा प्रभावित दाजुभाइ–दिदीबहिनीको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’ संस्थाले गत भदौ १० गते आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । संस्थाले ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमै पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढ्दा चाँदी १४५ रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिन सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो । यससँगै बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।