यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । बिहीबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले विभिन्न ७ निर्णय गरेको प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू :

१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर (५० लाख डलर) अनुदान सहायता स्वीकार गर्ने ।

२. रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न ‘एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’अन्तर्गत राहत, कर तथा महसुल छुट लगायतका सहुलियत उपलब्ध गराउने ।

३. साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने ।

४. खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने ।

५. २०८३ भदौ २३ गते ‘जेन्जी शहीद दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने ।

६. भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।

७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने ।

Share News