बाढीपीडितका लागि नाडाले दियो १० लाख रुपैयाँ

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

गत भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको नाडाले जनाएको छ ।

नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको छ । नाडाको टोलीले प्रभावित परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिरहेको जनाएको छ ।

विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा रहनु सामाजिक दायित्व भएकाले राहत र मानवीय सहयोगलाई निरन्तरता दिइएको नाडाले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल र सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति थियो ।

Share News