बाढीपीडितको सहयोगमा यामाहा ब्लू स्ट्रीक्स, रसुवा र नुवाकोटमा राहत वितरण
काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री वितरण गरेको छ । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले कम्युनिटीका सदस्यहरूले आफ्नै तर्फबाट रकम संकलन गरी राहत अभियान सञ्चालन गरेका हुन् । अभियानमार्फत ९३ हजार रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमबाट चामल, दाल, मिनरल वाटर, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार पारिएको थियो । भारी वर्षाका बीच पनि ब्लू स्ट्रीक्सका सदस्यहरूले राहत सामग्री तयार गरी मोटरसाइकलको समूहसहित प्रभावित क्षेत्रतर्फ लगेका थिए । थप राहत सामग्री एउटा सवारीसाधनमार्फत पनि प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो । राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो । त्यहाँ कम्युनिटीका सदस्यहरूले बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकासँग प्रत्यक्ष भेट गरी राहत सामग्री उपलब्ध गराउनुका साथै उनीहरूलाई हौसला र साथ दिएका थिए । एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यहरू राइडिङसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको बताए । ‘हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन्,’ अग्रवालले भने, ‘नेपालभर भइरहेका हाम्रा सामाजिक उत्तरदायित्वका गतिविधि हुन् वा यस्ता कठिन परिस्थिति, हाम्रो मूल मन्त्र सधैं ‘राइड टू प्राइड’ रहँदै आएको छ । ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहनेछ ।’ बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहेका बेला ब्लू स्ट्रीक्सको पहलले सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वलाई मानवीय सहयोगमा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
गरिमा विकास बैंकद्वारा शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफामार्फत आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । (भाद्र १८ गते) बिहीबार बसेको सञ्चालक समितिको ३५१औं बैठकले हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी २०औं वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् शेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर जारी भएपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि भई ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ । काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले हाल देशभर रहेका १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग
काठमाडौं । एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग प्रदान गरेको छ । ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर र कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम कोषमा जम्मा गरिएको हो । संकटको यस कठिन घडीमा बाढीप्रभावितहरूसँगै उभिने र राहत कार्यमा थप मद्दत पुर्याउने उद्देश्यले यो योगदान गरिएको कम्पनीले जनाएको छ । यसका साथै, एफवानसफ्ट ग्रुपले आफ्ना डिजिटल प्लेटफर्महरू फोनपे र इसेवामार्फत व्यक्तिगत रूपमा राहत कोषमा योगदान पुर्याउने सम्पूर्ण प्रयोगकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख र फोनपेका ८ लाख ६२ हजार ४४५ जना प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरिसकेका छन् । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ । जसअन्तर्गत भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रकम सहयोग गरेका हुन् । संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । साथै, प्रभावित क्षेत्रहरूमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले उच्च सम्मानका साथ आभार प्रकट गरेको छ ।
काठमाडौंमा प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गरिने
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक कटान भएर यातायात अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा ग्यास बिक्री-वितरणमा समस्या देखिएपछि नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था मिलाउन आग्रह गरेको छ । संघका अनुसार बाढीका कारण काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास सिलिन्डर बिक्री-वितरण चुनौतीपूर्ण बनेको छ । समस्या समाधानका लागि नेपाल आयल निगम र संघबीच भएको बैठकले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा ल्याउने निर्णय गरेको छ । निर्णयअनुसार काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगहरूले समेत सोही क्षेत्रमा रहेका उद्योगबाट रिफिल गरी सिलिन्डर ल्याउनुपर्नेछ । यसका लागि हेटौंडाबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा दूरी १३१ किलोमिटर हुने र थप ढुवानी खर्च लाग्ने संघले जनाएको छ । नेपाल आयल निगमको यसअघि भएको निर्णयअनुसार हेटौंडाको सहारा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप हुने ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा तथा नियमानुसार लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको संघले जनाएको छ । संघले भदौ १८ गते सम्पन्न आफ्नो ३१औं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर हुन आउने २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी ग्यास बिक्री-वितरण गर्न आग्रह गरेको छ । साथै, विपद्का कारण उत्पन्न असहज परिस्थितिमा ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न संघले आग्रह गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यान बहादुर चन्दले असहज परिस्थितिमा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन उद्योगी तथा बिक्रेतालाई वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न अनुरोध गरेका छन् ।
महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग प्रदान गरेको छ । उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका स्थानहरूमा अकल्पनीय र अत्याधिक मात्रामा जनधनको क्षति पुर्याएको छ । यस विषम परिस्थितिको सामना गर्नका लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत जोडेर सो रकम सहयोग गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विपत्तिको यस कठिन घडीमा जीवन गुमाएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । महालक्ष्मी विकास बैंकले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनस्थापनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरूबाट भइरहेका प्रयासहरूमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
बाढीपीडितलाई लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख रुपैयाँ सहयोग
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार र समुदायको राहत तथा पुनरलाभका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लामा व्यापक क्षति पुगेको छ । जसले गर्दा स्थानीय बासिन्दा, घरपरिवार, जीविकोपार्जनका माध्यम र महत्त्वपूर्ण पूर्वाधारहरू नराम्ररी प्रभावित भएका छन् । तत्कालको उद्धार र राहत कार्यपछि अब प्रभावित क्षेत्रमा पुनरुत्थान र पुनर्निर्माणको चरण सुरु भइरहेकाले प्राकृतिक विपद्को दीर्घकालीन प्रभावसँग जुधिरहेका समुदायलाई निरन्तर सहयोगको आवश्यकता रहेको बैंकले जनाएको छ । यस सहयोगमार्फत बैंकले बाढी प्रभावित समुदाय र नयाँ सिरेबाट जीवन व्यवस्थित गर्न प्रयासरत परिवारहरूका लागि भइरहेका सामूहिक राहत तथा पुनरुत्थान प्रयासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । लक्ष्मी सनराइज बैंकले बाढीका कारण आफ्ना आफन्त, घर र जीविकोपार्जन गुमाएकाहरूप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ । साथै, विपद्को सामना गर्न अग्रपंक्तिमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहत टोली, स्वयंसेवक र स्थानीय समुदायका प्रयासहरूको उच्च प्रशंसा गरेको छ । बैंकले संकटको घडीमा सधैं समुदायको साथमा उभिने र विपद्पछिको पुनरुत्थान तथा उत्थानशीलतालाई सुदृढ बनाउने कार्यमा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । नेपालमा दिगो आर्थिक वृद्धि र वातावरणीय संरक्षणको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको लक्ष्मी सनराइज बैंकले २५४ शाखा, ३२६ एटिएम र डिजिटल प्रविधिको माध्यमबाट देशभरका ग्राहकलाई वित्तीय समावेशिता र पहुँच सुनिश्चित गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बाढीपीडितलाई मारुती सिमेन्टको १ करोड ११ लाख रुपैयाँ सहयोग
काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिओइ) आनन्द नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई राहत र सहयोग पुर्याउने उद्देश्यका साथ उक्त रकम प्रदान गरिएको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । ‘विपद्को समयमा पीडित तथा प्रभावित नागरिकहरूसँग हातेमालो गर्नु हाम्रो सामाजिक दायित्व हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, मारुती सिमेन्ट्स लिमिटेडले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ । यसका साथै यो संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्नस्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा विद्युत् सुचारु गर्ने प्रयास तीव्र, सुरुङमा फसेकाहरूको टोलीद्वारा संयुक्त उद्धार जारी
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लामा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । यसैक्रममा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र पूर्वाधार विकास मन्त्री समक्ष नेपाली सेनाले उद्धार अभियानको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेको छ । सो अवसरमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारको प्रगति र आगामी रणनीतिका विषयमा विस्तृत छलफल भएको छ । हाल रसुवाका नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ भने बाँकी क्षेत्रमा वैकल्पिक व्यवस्थामार्फत द्रुत गतिमा मर्मत कार्य भइरहेको छ । त्यसैगरी, नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा प्राविधिक जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरी अवरुद्ध विद्युत् सेवा पुनः सुचारु गरिएको छ । सान्जेनखोला जलविद्युत् आयोजनालाई ’आइसोलेटेड मोड’ मा सञ्चालन गरी विद्युत् प्रवाह मिलाइएको छ भने हाकु क्षेत्रमा नयाँ ११ केभी लाइन निर्माण गरी क्षतिग्रस्त प्रसारण पूर्वाधारहरूको पुनर्निर्माण तीव्र पारिएको छ । सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ र आयोजनाका इन्जिनियरहरूको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले एक्साभेटर, ब्याक लोडर र बोबक्याट जस्ता भारी उपकरणको प्रयोग गरी रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने कार्य निरन्तर गरिरहेको छ । अर्कोतर्फ, नुवाकोटको विदुरबाट संस्थागत तथा घरेलु सौर्य विद्युत् प्रणालीहरू सम्बन्धित स्थानीय तह र विपद् व्यवस्थापन समितिको समन्वयमा ढुवानी गरी जडान भइरहेको छ, जसको समन्वय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक अधिकृत सरोज बहादुर कार्की र वरिष्ठ प्रशासन सहायक बिमल प्रसाद भुसालले गरिरहेका छन् । साथै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक सङ्घबीच भएको बैठकले विपद् व्यवस्थापनका लागि देशभर उपलब्ध सौर्य ऊर्जा प्रविधि र प्राविधिक जनशक्तिको विवरण भदौ १९ गतेभित्र केन्द्रमा बुझाउने निर्णय गरेको छ ।