काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
दुवै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । विपद्को कठिन समयमा प्रभावित नागरिक र सरकारको साथमा रहेको पनि कम्पनीले जनाएको छ ।
बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनःनिर्माण सबैको साझा दायित्व भएकाले सहयोग गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीले उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीप्रति सम्मान र आभार व्यक्त गरेको छ ।