कर, भन्सार र कर्जामा सहुलियत दिने सरकारी निर्णय सकारात्मक : नाडा

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार र व्यवसायीका लागि सरकारले ल्याएको पुनरुत्थान प्याकेजको स्वागत गरेको छ ।

नाडाले बिहीबार सरकारले घोषणा गरेको राहत तथा पुनरुत्थान प्याकेज सकारात्मक र आवश्यक कदम भएको जनाएको छ । सरकारको निर्णयले बाढीबाट प्रभावित व्यवसायीलाई राहत पुग्ने विश्वास पनि नाडाले व्यक्त गरेको छ ।

सरकारले बाढी प्रभावित निजी क्षेत्रका लागि भन्सार र करमा छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ ।

नाडाका अनुसार बाढीमा पूर्णरूपमा क्षति भएका वा बगेर हराएका व्यावसायिक सवारीसाधनको दर्ता खारेज गरी नयाँ सवारी आयात गर्दा भन्सार छुट दिने निर्णयले अटोमोबाइल र ढुवानी व्यवसायीलाई ठूलो राहत मिल्नेछ । क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियतले पनि व्यवसाय पुनः सञ्चालन गर्न सहयोग पुग्ने नाडाको भनाइ छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकैपटक सम्बोधन गर्नु सकारात्मक कदम भएको बताए । यसले प्रभावित व्यवसायीलाई फेरि व्यवसायमा फर्किन आधार तयार गर्ने उनको भनाइ छ ।

नाडाले सरकारको निर्णय छिटो, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै, वास्तविक क्षतिको अध्ययन गरेर आवश्यक परे दोस्रो चरणको पुनरुत्थान प्याकेज पनि ल्याउन सरकारसँग माग गरेको छ ।

Share News