काठमाडौं । भोटेकोसी- त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली- ३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन केही व्यक्तिको उद्धार भएको छ ।
मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन ४५ जनासम्म रहेको प्रतिक्रिया दिएका छन् । उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको दिन सुरुङ भित्र ४०(४५ जना रहेको जानकारी दिएका हुन्।
'म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइममा ५- ६ जना मात्रै हुन्थ्यौँ। यतिबेला ४०/ ४५ जनै थियौँ,' उनले भने, ‘म कन्ट्रोल रुममा भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन। सबैलाई बचाउनुपर्यो। सबैलाई बचाउने क्रममा मैले भनेँ- एक्सिडेन्ट भयो ठुलो ड्याममा। अनि सबैलाई भाग्न भनेँ। त्यसो गर्दाखेरि मेरो टाइम गयो। लास्टमा म निस्किन पाएन।'
उनका अनुसार पावर हाउसभित्र धेरै मानिस फसेको हुन सक्छ। 'भाग्न नसकेको होला। टनेल लामो छ। पानीको फोर्सले भित्र लगिसकेको होला,' उनले भने ।
भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली- ३ ए जलविद्युत् आयोजनाको सुरुङमै थुनिएका मेकानिकल फोरम्यान साहसहित मेकानिकल सुपरभाइजर कविर महर्जनको पनि उद्धार गरिएको छ।
थप कामदारको खोजी भइरहेको छ । गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा ठूलो धनजनको क्षति गरेको थियो ।