काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मधेस प्रदेशका ३१ जना नागरिक परिवारको सम्पर्कमा आएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू सुरक्षित रहेको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर अझै १६७ जना सम्पर्कविहीन रहेका छन् ।
यसैबीच, बाढीमा फसेका सप्तरीका सञ्जयकुमार साहलाई त्रिशूली ए सुरुङबाट जीवितै उद्धार गरिएको छ ।
प्रहरीका अनुसार सम्पर्कमा आउनेहरूमा पर्साको वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।
यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सुरक्षित फेला परेका छन् ।महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई. विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टीका युवराज पाण्डे, औरहीका सचिनकुमार यादव, गौशालाका आदित्यनारायण यादव र बर्दिवासका विकास भारती सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
यसैगरी, धनुषाको सबैलाका लक्ष्मण मेहता, हंसपुरका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार, जनकपुरधामका रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव पनि सम्पर्कमा आएका छन् ।
सिरहाको गोलबजारका टार्जन बलम्पाकी, लहानका उमेश यादव र कञ्चनरुपका अजय मरिक समेत परिवारको सम्पर्कमा आएको विवरण प्राप्त भएको छ ।
प्रवक्ता ढकालकाअनुसार हालसम्म सप्तरीका ४७, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन् ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठुलो संख्यामा नागरिकहरू हराइरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको अवस्था पत्ता लगाउन र विवरण संकलन गर्न विशेष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । –न्युज एजेन्सी नेपाल