विकासन्युज

प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले केके भने ? (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । लामिछानेले अहिले राज्य आफ्ना नागरिकको प्राण खोज्नेदेखि सर्वस्व गुमाएकाहरूको आश्रय बन्नेसम्मका काममा जुटिरहेको बताए । ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने, ‘सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न राज्य दिनरात खटिएको छ ।’ उनले बैठकमा रसुवा बाढीपछिको विपद्को अवस्थासँग लड्न संसदीय समिति गठनको प्रस्ताव गरेका छन् । ‘अहिलेको बाढीलाई राष्ट्रिय महत्त्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ सभापति लामिछानेले भने । साथै लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गर्दै हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान विरलै भएको दावीसमेत गरे । 

सहिदका छोराछोरी हाम्रा पनि छोराछोरी हुन् : अक्षय गोल्याण

काठमाडौं । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश जारी गरेका छन् । जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको र सहिद परिवारसँग भेटघाट भएको सन्दर्भलाई लिएर गोल्याणले आफ्नो सामाजिक सञ्जालबाट यस्तो सन्देश जारी गरेका हुन् । ‘त्यहाँ भेला भएका सबैको मुहारमा पीडा ताजा थियो, मानौं घटना हिजोमात्रै भएको हो,’ जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले लेखेका छन्, ‘प्रज्वलित हरेक दियोको ज्वालामा र मौन रहेका हरेक अनुहारमा त्यो पीडा महसुस गर्न सकिन्थ्यो ।’ औपचारिक कार्यक्रम सकिएपछि गोल्याणले सहिद परिवारसँग भेटेको र त्यसले आफूलाई सोचमग्न बनाएको उल्लेख गरेका छन् । ‘त्यो कोठामा आँशुका बीच पनि आत्मीयता र न्यानोपन थियो, चिरपरिचित जस्तो सहजता झल्किन्थ्यो,’ उनले भनेका छन्, ‘किनभने एक वर्ष अवधिमा हामीबीच भएको निरन्तर भेटघाट, नानीबाबुहरु पढ्ने विद्यालय भ्रमण र कुराकानीले अपरिचित थिएनौं ।’ कार्यक्रमस्थलमा देखिएको आत्मीयता नै सबैभन्दा ठूलो सम्मान भएको उनले बताएका छन् । अक्षय नेतृत्वको गोल्याण ग्रुपले सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्म शैक्षिकवृत्ति प्रदान गरेको छ भने शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ । फाउण्डेशनले घोषणाको एक वर्षमै प्रतिवद्धता कार्यान्वयन गरेको छ । अहिले २२ सहिदका ३१ जना बालबालिकाले शैक्षिकवृत्ति पाएका छन् । फाउण्डेशनले मासिक जनही ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च गर्छ । त्यसैगरी २२ सहिदका ४३ बुवाआमा स्वास्थ्य बीमामा आवद्ध भएका छन् । पहिलो वर्षमै करिब ८ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी भएको छ । अक्षयले यो सहकार्यबाट सहिदका परिवारका सदस्यहरुलाई गोल्याण परिवारकै एक हिस्सा बनाएको उल्लेख गरेका छन् । ‘सहिदका छोराछोरीहरु हाम्रा पनि छोराछोरी हुन् र बुवाआमा हाम्रा पनि,’ उनले भनेका छन्, ‘हामी सम्मान, जिम्मेवारी र सहिदहरूको बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धताका साथ यो यात्रालाई सँगसँगै अघि बढाइरहेका छौं ।’ सहिद परिवारसँगको एक वर्षको सम्बन्धले एउटै परिवारको आकार दिएको र आगामी यात्रा सँगसँगै अघि बढ्ने उनले बताएका छन् ।

प्रधानमन्त्रीसँग जेनजी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गरेकी छन् । उनले जेनजी शहीदको स्मृतिमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग असन्तुष्टि समेत जनाइन् ।  उनले जेनजी शहिदहरुको बारेमा बोलिदिन माग गर्दा एकवर्षपछि श्रदाञ्जली आएको उल्लेख गर्दै शहीदहरुले न्याय कति वर्षमा पाउँछन् ? भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘देशले शहीद पायो, एक दिन विदा पनि पायो । स्मृति दिवसमा आएर केही बोलिदिनुहोस्, जेनजी शहीदको लागि केही लेखिदिनुहोस् भनेर बिहान ७ बजेदेखि भन्दा भन्दा साँझ ७ बजे स्टाटस त आयो । अन्तमा एकवर्षपछि शहीदलाई श्रदाञ्जली । अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षपछि पाउँछ सरकार ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ उनले जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरुका माग सम्बोधन गर्न मागसमेत गरिन् ।

विपद्पछि रविको जोड– भत्किएका संरचनासँगै नागरिकको भरोसा पनि जोडौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला राज्य नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले अहिले राज्य आफ्ना नागरिकको प्राण खोज्नेदेखि सर्वस्व गुमाएकाहरूको आश्रय बन्नेसम्मका काममा जुटिरहेको बताए । ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने, ‘सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न राज्य दिनरात खटिएको छ ।’ उनले विपद्ले बगाएका सडक र चुँडिएका पुलको पुनर्निर्माणसँगै नागरिकको टुटेको भरोसा जोड्नु पनि राज्यको महत्वपूर्ण जिम्मेवारी भएको बताए । लामिछानेले भविष्यमा यस्ता विपद् दोहोरिँदा क्षति कम गर्न बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका निर्माण गर्नुपर्नेमा जोड दिए । ‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन, विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ,’ उनले भने । लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गर्दै हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान विरलै भएको दावीसमेत गरे ।  उनले भने,  विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो । तथ्यसहित भन्न सकिन्छ हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’

जेनजी दिवसको कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा राखिएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं । जेनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादास्पद धर्मगुरुलाई मञ्चमा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले आपत्ति जनाएका छन् । बुधबार (आज) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौलागाईंले जेनजी आन्दोलनको भावना र मर्मविपरीत हुने गरी विवादित व्यक्तिहरूलाई कार्यक्रममा सहभागी गराइएको भन्दै प्रश्न उठाएका हुन् । उनले जेनजी आन्दोलनको स्मरणमा मंगलबार आयोजित कार्यक्रममा सहभागी गराइएका व्यक्तिहरूको भूमिकामाथि प्रश्न उठाउँदै कार्यक्रमको औचित्यमाथि नै असन्तुष्टि व्यक्त गरे । ‘हिजो जेनजीहरूको आन्दोलनको विषयमा स्मृति कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जेनजीहरूको भावना र मर्मविपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो,’ उनले भने । सांसद चौलागाईंले जेनजी आन्दोलनको मर्म, उद्देश्य र भावनालाई केन्द्रमा राखेर यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।  आन्दोलनको स्मरणमा आयोजना हुने कार्यक्रममै विवादित पात्रलाई प्रमुख स्थान दिइँदा त्यसले आन्दोलनप्रति नै गलत सन्देश जाने उनको भनाइ थियो । उनको असन्तुष्टि आफ्नै दल रास्वपाभित्रबाट आएको हो । जेनजी आन्दोलनको स्मृतिमा आयोजना गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला रास्वपाका सांसदले संसदमै असहमति जनाएका हुन्।

बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण थालेको छ । प्रभावित परिवारको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण सुरु गरिएको हो । आपतकालीन अवस्थामा प्रभावितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी सरकारको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएको छ । टोलीले ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्यांकन फारम’मार्फत विवरण संकलन गरिरहेको छ । सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विस्तृत विवरण संकलन गरिनेछ । घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्थासमेत पहिचान गरिनेछ । यस्तै, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या पनि संकलन गरिनेछ । सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रुचि पनि बुझिनेछ । त्यसैगरी, प्रभावित परिवारसँग जग्गा उपलब्ध भए–नभएको, स्थानान्तरणका लागि उपयुक्त विकल्प, खानेपानी तथा सरसफाइको अवस्था र अन्य आवश्यकताबारे जानकारी लिइनेछ । हाल पहिलो चरणमा होल्डिङ सेन्टरमा रहेका परिवारको आवश्यकता पहिचान गरिने विभागले जनाएको छ । यसबाट प्रभावित परिवारका लागि आवश्यक योजना बनाउन र कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्नेछ । एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ । त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही फारम प्रयोग गरेर सर्वेक्षण गरिनेछ ।

जेनजी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’

काठमाडौं । सातदोबाटोमा निर्माण गरिएको जेनजी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन् ।  शालिकको अनुहार शहीदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ त्यत्तिकै फर्किए । शहीदका आफन्तले सालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको र सालिकसमेत चित्तबुझ्दो नबनाइएको आरोप लगाए ।  एक आफन्तले भने, ‘अब यस्तो लापरबाही त नगर्दिनुस् । बितेर गइसक्नु भयो, शहीद हुनुभयो । सधैँको लागि बस्ने कुरा हो । लापरबाही गरेर हुँदैन । आज उद्घाटन हो भनेर हिजो दिउँसो ३–४ बजे बल्ल थाहा भयो । नत्र यसअघि हामीलाई केही पनि जानकारी थिएन ।’ शालिक निर्माण सम्पन्न भएकोबारे आफूहरूलाई जानकारी नै नभएको बताउँदै उनले उद्घाटन कार्यक्रमबारे समेत अघिल्लो दिन दिउँसो मात्रै थाहा पाएको बताए ।  शालिकको अनुहार नमिलेको भन्दै आफन्तहरूले तत्काल अनावरण गर्न नदिने अडान लिए । उनीहरूले परिवारको सहमति नलिई कार्यक्रम अघि बढाउन खोजिएको भन्दै आपत्तिसमेत जनाए ।  कार्यक्रमस्थलमा पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि सालिकको अनुहार पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न नहुन बताए ।  खरेलका अनुसार सातदोबाटोमा जेन–जी पार्क निर्माणको अवधारणा तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारकै पालामा अघि बढाइएको थियो ।  आफू त्यतिबेला सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रहेको र तत्कालीन युवा तथा खेलकुदमन्त्री बबलु गुप्ताको सक्रियतामा पार्क निर्माणको काम अघि बढाइएको उनले बताए । उनले करिव अढाई महिनामा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्वाचनका कारण काम केही समय थाती रहेको बताए । उनले भने, ‘यसको अवधारणा, सोच र काम सबै अन्तरिम सरकारकै पालामा हाम्रै पालामा अगाडि बढाएको हो । अनुहार मिलिसकेको छैन भने अहिले यसलाई उद्घाटन गर्ने, अनावरण गर्ने हतार गर्नु हुँदैन । अनुहार मिलाइसकेपछि परिवारहरूले पनि ठीक छ भनेपछि राम्रोसँग परिपक्व ढङ्गले अनावरण गर्नुपर्छ ।’ उनले पार्क निर्माणको काम लगभग सम्पन्न भएपनि फिनिसिङ तथा सालिक निर्माणमा केही काम बाँकी रहेको बताए ।  शहीदको अनुहार मिलाउने जिम्मेवारी सम्बन्धित निर्माणकर्ताको भएकाले पूर्ण रूपमा तयार भएपछि मात्रै अनावरण गर्नुपर्ने उनको भनाइ छ ।