जेनजी दिवसको कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा राखिएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं । जेनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादास्पद धर्मगुरुलाई मञ्चमा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले आपत्ति जनाएका छन् ।

बुधबार (आज) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौलागाईंले जेनजी आन्दोलनको भावना र मर्मविपरीत हुने गरी विवादित व्यक्तिहरूलाई कार्यक्रममा सहभागी गराइएको भन्दै प्रश्न उठाएका हुन् ।

उनले जेनजी आन्दोलनको स्मरणमा मंगलबार आयोजित कार्यक्रममा सहभागी गराइएका व्यक्तिहरूको भूमिकामाथि प्रश्न उठाउँदै कार्यक्रमको औचित्यमाथि नै असन्तुष्टि व्यक्त गरे ।

‘हिजो जेनजीहरूको आन्दोलनको विषयमा स्मृति कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जेनजीहरूको भावना र मर्मविपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो,’ उनले भने ।

सांसद चौलागाईंले जेनजी आन्दोलनको मर्म, उद्देश्य र भावनालाई केन्द्रमा राखेर यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताए । 

आन्दोलनको स्मरणमा आयोजना हुने कार्यक्रममै विवादित पात्रलाई प्रमुख स्थान दिइँदा त्यसले आन्दोलनप्रति नै गलत सन्देश जाने उनको भनाइ थियो ।

उनको असन्तुष्टि आफ्नै दल रास्वपाभित्रबाट आएको हो । जेनजी आन्दोलनको स्मृतिमा आयोजना गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला रास्वपाका सांसदले संसदमै असहमति जनाएका हुन्।

Share News