पुनरुत्थानका लागि दातृ निकायसँग अर्थमन्त्रीको छलफल
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको पुनरुत्थान तथा आवश्यकताको आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु भएको स्थानीय विकास साझेदारहरूको बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको सहभागिता रहेको छ । बैठकमा रसुवा बाढीपछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थानका साथै द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा विस्तृत समीक्षा भइरहेको मन्त्रालयको सचिवालयले जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन राहत तथा उद्धारसँगै पुनःनिर्माण र दीर्घकालीन पुनरुत्थानका लागि आवश्यक स्रोत तथा सहयोग परिचालनबारे समेत बैठकमा छलफल हुने जनाइएको छ ।
तीन वरिष्ठ सहसचिव सचिवमा बढुवाका लागि सिफारिस
काठमाडौं । बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । समितिले वरिष्ठ सहसचिवहरू उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको हो । सचिव पदमा बढुवाका लागि रिक्त पदअनुसार समितिले उनीहरूको नाम सिफारिस गरेको हो । समितिको सिफारिससँगै अब उनीहरूलाई सचिवमा बढुवा गर्ने प्रक्रिया अघि बढ्नेछ । सिफारिस भएका खत्री, पराजुली र तामाङ निजामती प्रशासनमा लामो अनुभव भएका वरिष्ठ सहसचिव हुन् । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सचिव बढुवा तथा पदस्थापनसम्बन्धी निर्णय गर्नेछ ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर र बढुवा लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद् (बोर्ड अफ हाईस्कुल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लगाएको हो । आयोगका अनुसार केसीले सोही प्रमाणपत्रका आधारमा तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । त्यसपछि बढुवा र पदोन्नतिका क्रममा पनि त्यही प्रमाणपत्र पटक–पटक पेस गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । अख्तियारका अनुसार केसी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए । यस क्रममा उनले पद, हैसियत, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको दाबी छ । अख्तियारले केसीको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारजन्य कसुर भएको निष्कर्ष निकाल्दै कैद र जरिवानाको सजाय मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
भोटेकोशी बाढीपछि नेपाल टेलिकमको पहिलो चरणको फाइबर सेवा पुनःसञ्चालन
काठमाडौं । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रको नेपाल टेलिकमको फाइबर नेटवर्क पहिलो चरणमा पुनःसञ्चालन भएको छ । बाढीका कारण रसुवागढी र बेत्रावतीमा रहेका एक–एक गरी दुई वटा ओएलटी, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँच वटा एफडीसी तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो। यसबाट ती क्षेत्रमा रहेका १,५४४ एफटीटीएच लाइन पूर्ण रूपमा अवरुद्ध भएका थिए। नेपाल टेलिकमले विपद् लगत्तै प्राविधिक जनशक्ति र आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत कार्यलाई तीव्र बनाएको जनाएको छ । हालसम्म प्रभावितमध्ये १,०९३ वटा फाइबर लाइन पुनःसञ्चालन भइसकेका छन् । कम्पनीका अनुसार पहिलो चरणको सेवा पुनःस्थापना कार्य सम्पन्न भएको छ । बाँकी रहेका लाइन भने सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता र सेवाग्राहीको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइनेछ । नेपाल टेलिकमले प्राकृतिक विपद्को कठिन परिस्थितिमा पनि सेवाग्राहीलाई छिटो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै सेवा अवरुद्ध भएका बेला धैर्यता र विश्वासका साथ साथ दिएकोमा सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ ।
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
काठमाडौं । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ । विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ । आवश्यकता देखिएमा विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ । त्यसपछि मात्रै नियमित पठनपाठन सञ्चालन गर्न व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ । बाढीका कारण विद्यार्थीहरूको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न पनि विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ । विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो ।
सार्वजनिक पदाधिकारीले पाएका उपहारको विवरण सार्वजनिक गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले विभिन्न अवसरमा शिष्टाचारका रूपमा प्राप्त गरेका उपहारको विवरण संकलन गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । अधिवक्ता श्रृजना अधिकारीले दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश जारी गरेको हो । सर्वोच्चले हालसम्म सार्वजनिक पदाधिकारीहरूले भेटघाट, औपचारिक कार्यक्रम तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहारको एकीकृत अभिलेख तयार गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । सार्वजनिक पदाधिकारीले व्यक्तिगत रूपमा प्राप्त गरेका उपहारलाई सरकारी सम्पत्तिका रूपमा अभिलेखीकरण तथा व्यवस्थापन गर्नुपर्ने मागसहित दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । अदालतले अहिलेसम्म सार्वजनिक पदाधिकारीहरूले प्राप्त गरेका उपहारको एकमुष्ठ विवरण तयार गरी सरकारको आधिकारिक वेबसाइट वा उपयुक्त अन्य माध्यमबाट सर्वसाधारणको पहुँचमा ल्याउन भनेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिले विदेशी सरकार, उच्चपदस्थ अधिकारी तथा विभिन्न संस्थासँगको भेटघाट र विदेश भ्रमणका क्रममा प्राप्त गर्ने उपहारको पारदर्शिता कायम गर्नुपर्ने विषयमा सर्वोच्चको आदेशले जोड दिएको छ । उपहारको विवरण सार्वजनिक गर्ने व्यवस्थाले सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने शिष्टाचारजन्य उपहारको अभिलेख राख्ने, त्यसको स्वामित्व र व्यवस्थापन स्पष्ट गर्ने तथा सरकारी सम्पत्तिको संरक्षणमा समेत सहयोग पुग्ने अदालतको आदेशको मर्म छ ।
बाढी पीडितका लागि संकलन गरिएको खाद्य सामग्रीको अनुगमन गर्न निर्देशन
काठमाडौं । भोटेकोशी बाढी पीडितहरूलाई वितरणका लागि संकलन गरिएका राहत खाद्य सामग्रीहरूको गुणस्तर र स्वच्छता परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ । विभागले गरेको अनुगमनका क्रममा राहतका अधिकांश सामग्रीहरूको अवस्था सन्तोषजनक देखिए पनि केही चामल भने बिना लेबल खुला रूपमा राखिएको फेला परेको विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्मासहितको टोलीले काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा भण्डारण गरी राखिएका तीनवटा स्थानमा पुगेर राहत सामग्रीको विस्तृत निरीक्षण गरेको हो । अनुगमनका क्रममा बाढी पीडितका लागि पठाउन तयार पारिएका जिरा चामल, लोकल पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, आँपको जुस (पेय पदार्थ) तथा आयोडिनयुक्त नुन लगायतका खाद्य वस्तुहरूको गुणस्तर जाँच गरिएको थियो । निरीक्षण गरिएका अधिकांश प्याकेटबन्द खाद्य पदार्थहरूमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम, ठेगाना स्पष्ट उल्लेख भएको र उपभोग्य म्याद समाप्त नभएको पाइएको विभागले जनाएको छ । यद्यपि, राहत सामग्रीका रूपमा संकलन गरिएको उसिना चामल र मसिना चामल भने कुनै पनि लेबल नभएको खुला अवस्थामा प्राप्त भएको फेला परेको थियो । खुला रूपमा रहेका यस्ता खाद्यान्नको स्रोत र गुणस्तर यकिन गर्न कठिनाइ हुने भएकाले विभागले चासो देखाएको छ । निरीक्षणपश्चात् विभागले राहत सामग्रीको स्वच्छता र गुणस्तर सुनिश्चित गर्नका लागि खाद्य पदार्थ वितरण गर्दा अनिवार्य रूपमा ‘असल वितरण अभ्यास’ अनुसार मात्र गर्न सम्बन्धित निकाय तथा व्यवस्थापकलाई कडा निर्देशन दिएको छ । विपद्को समयमा पीडित नागरिकसम्म गुणस्तरीय र सुरक्षित खाद्य सामग्री मात्र पुगोस् भन्ने उद्देश्यले विभागले यस्तो अनुगमनलाई प्राथमिकतामा राखेको जनाएको छ ।
सेयर बजारमा ४ अर्ब १९ करोडको कारोबार
काठमाडौं । लगातार चार दिन बढेको सेयर बजार बुधबार भने घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४३ अंक घटेर २,५४५.४० विन्दुमा पुगेको हो । बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार कित्ता सेयर ५० हजार ८०४ पटक किनबेच भएका छन् । यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै ३९ रुपैयाँ बढेर २९९ रुपैयाँ पुगेको छ । शुभम् पावरको सेयर मूल्य पनि करिब ६.५ प्रतिशत बढेको छ । यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरे । यी तीन कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा अगाडि रह्यो । कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बुधबार कारोबार भएका १३ वटै उपसमूह राताम्मे बने । सबैभन्दा धेरै विकास बैंक समूह २.३७ प्रतिशतले घट्यो । वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।