विकासन्युज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी,पारदर्शिता र सेवामुखी भावनाका साथ काम गर्न आग्रह गरेकी हुन् ।

माटोमा पुरिएका शव खोज्दै कालु, जम्बो र रक्की

काठमाडौं । रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन (स्निफर डग) परिचालन गरेको छ । बाढी, पहिरो तथा भग्नावशेषमा फसेका र हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त कुकुर परिचालनलाई तीव्रता दिएको हो । केनाइनको प्रयोगले कठिन भूभाग, भग्नावशेष तथा माटोमा पुरिएका व्यक्तिको गन्ध पहिचान गरी खोजी कार्यलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुगेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र चितवनलगायतका क्षेत्रमा नेपाल प्रहरीले केनाइनको सहयोगमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ । रसुवामा जर्मन शेफर्ड ‘जम्बो’ र बेल्जियन शेफर्ड ‘रक्की’, नुवाकोटमा ल्याब्राडोर ‘लियो’ र ‘कालु’ तथा चितवनमा जर्मन शेफर्ड ‘दिप्सी’लाई खोजी कार्यमा परिचालन गरिएको छ। प्रवक्ता काफ्लेका अनुसार भग्नावशेष तथा माटोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइन प्रभावकारी हुन्छन् । ठूलो क्षेत्रलाई छोटो समयमा स्क्यान गर्न सकिने भएकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ । उद्धारकर्मी वा उपकरण पुग्न कठिन भूभागमा समेत केनाइनको प्रयोग प्रभावकारी हुने भएकाले कठिन स्थानमा फसेका वा भग्नावशेषमा पुरिएका व्यक्तिको खोजीमा प्रहरीले यसको प्रयोग बढाएको उनले बताए । नेपाल प्रहरी केनाइन कार्यालयबाट केनाइनसहित परिचालित टोलीले रसुवाको टिमुरे, घट्टेखोलालगायतका क्षेत्रमा खोजी तथा उद्धार गरेको थियो । उक्त टोलीले टिमुरेबाट दुईवटा शव र एउटा शरीरको अंग फेला पारेको प्रहरीले जनाएको छ । त्यसैगरी, नुवाकोटको विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, मैलुङ हाइड्रोपावर–३ए, मैलुङ हाइड्रोपावर–३बी, ढुंगे, देवीघाट, बेत्रावती, भैंसे र बट्टारलगायतका क्षेत्रमा पनि केनाइनसहितको टोली परिचालन गरिएको थियो ।  खोजीका क्रममा मैलुङ हाइड्रोपावर–३बीको कर्मचारी आवासबाट सानो शरीरको अंग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेला परेको थियो । प्रदेश प्रहरी कार्यालय बागमतीको केनाइन शाखाबाट परिचालित टोलीले नारायणी पुल आसपास, देवघाट तथा दमौलीको गोलघाट क्षेत्रलगायतका स्थानमा समेत खोजी गरेको थियो । उक्त टोलीले दमौलीको गोलघाट क्षेत्रबाट दुईवटा शव फेला पारेको जनाएको छ । भौगोलिक अवस्था र मौसम चुनौती विपद्को समयमा केनाइन परिचालनमा भौगोलिक जटिलता तथा वातावरणीय अवस्थाले चुनौतीसमेत थप्ने गरेको छ । अत्यधिक गहिरो वा बाक्लो माटोमा गन्ध पहिचान गर्न कठिन हुने तथा पर्याप्त तालिम प्राप्त केनाइन र ह्यान्डलरको सीमितताले खोजी कार्यमा असर पार्न सक्ने काफ्लेको भनाइ छ । हावा, वर्षा, तापक्रम तथा वातावरणीय प्रदूषणले समेत केनाइनको गन्ध पहिचान गर्ने क्षमतामा प्रभाव पार्न सक्छ । त्यसका बाबजुद विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि केनाइन र ह्यान्डलर निरन्तर परिचालित भइरहेका छन् । रसुवामा परिचालित केनाइनका ह्यान्डलरका अनुसार भौगोलिक कठिनाइका कारण प्रभावित क्षेत्रमा पुग्न चुनौती रहे पनि खोजी कार्यलाई निरन्तरता दिइएको छ । नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण बस्नेतले प्रभावित क्षेत्र धेरै ठूलो हुँदा खोजी कार्य थप चुनौतीपूर्ण बन्ने बताए । उनका अनुसार केनाइनलाई करिब ३० मिनेट काम गराएपछि १५ देखि २० मिनेटसम्म आराम दिने दिनु पर्छ । दलदले हिलो, रातको समयमा पर्याप्त प्रकाशको अभाव तथा प्रतिकूल वातावरणका कारण पनि खोजी कार्य प्रभावित हुने उनले बताए । नेपाल प्रहरीले अपराध अनुसन्धानसँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा समेत केनाइन युनिटलाई सक्रिय रूपमा परिचालन गर्दै आएको छ । विशेष तालिम प्राप्त कुकुरको गन्ध पहिचान गर्ने क्षमताले विपद्मा हराइरहेका तथा भग्नावशेषमा पुरिएका व्यक्तिको खोजीमा महत्त्वपूर्ण सहयोग पु‍र्याउँदै आएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका अनुसार यस सम्झौताले ग्राहकलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न सहयोग पुग्नेछ । सम्झौतासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

‘उद्योगीको प्रभावमा कर्मचारीतन्त्र चलेका छन्, मलाई काम गर्न अप्ठ्यारोमा पारे’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले कर्मचारीहरूले आफूलाई काम गर्न नदिएको आरोप लगाएकी छन् । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले मन्त्रालयका कर्मचारीहरूले उद्योगी व्यवसायीको मिलेमतोमा काम गर्ने गरेको आरोप लगाएकी हुन् । उनले आफूले राम्रो गर्न खोज्दा सबैको आँखाको तगारो बन्न पुगेको बताइन् । मन्त्रालयले बनाउने विधेयक तथा कानुनहरू पनि कर्मचारीहरूले उद्योगी व्यवसायीसँगको मिलेमतोमा बनाउने गरेको उनको आरोप छ । उद्योगीहरूको हितअनुकूल नियम–कानुन बनाइएको भन्दै उनले त्यसलाई परिवर्तन गर्न खोज्दा कर्मचारीतन्त्रबाट असहयोग हुने बताइन् । मन्त्री यादवले आफूले उद्योग क्षेत्रमा सुधारका लागि पटक–पटक निर्देशन दिए पनि कर्मचारीहरूले परिवर्तन गर्न नमानेको गुनासो गरिन् । विधेयक निर्माण गर्दा समेत कर्मचारीतन्त्रले उद्योगीहरूले भनेअनुसारका प्रावधान राख्ने गरेको उनको आरोप छ । बलियो सरकार हुँदासमेत कर्मचारीतन्त्रको असहयोगका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ छ । उनले नेपालमा आवश्यकताभन्दा धेरै ग्यास उद्योग रहेको बताइन् । 'दुईवटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन । धेरैमा दुईवटा भए पुग्छ, अरू सबै खारेज गर्नुपर्छ,' उनले भनिन् । ग्यासको आपूर्ति सहज बनाउन आफूले उद्योगीहरूलाई पटक–पटक आग्रह गरेको पनि उनले बताइन् । तर आग्रह गरेर मात्रै समस्या समाधान हुन नसकेको उनको भनाइ छ । उनले विधेयक निर्माणमा कर्मचारीतन्त्रको प्रभाव बढी रहेको आरोप लगाइन् । 'विधेयक ल्याउनुस् भनिन्छ, तर परिवर्तन गर्न खोज्दा कर्मचारीले हुँदैन, मिल्दैन भन्छन् । १० पटक भन्नुस्, फेरि पनि मिल्दैन भन्छन्,' उनले भनिन् । सरकार बलियो भए पनि कर्मचारीतन्त्रले काम गर्न नदिएको उनको गुनासो थियो । उद्योगीहरूले भनेका विषयलाई नै विधेयकमा समेट्न दबाब दिने गरिएको आरोपसमेत उनले लगाइन् । 'उद्योगधन्दा खोल्ने वातावरण छैन । नियम–कानुन नै त्यसरी बनाइएको छ,' उनले भनिन्, 'कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीले साथ नदिएसम्म तपाईं एक्लैले केही गर्न सक्नुहुन्न ।' उनले कर्मचारीतन्त्र सुधार्नुपर्ने आवश्यकता रहेको बताइन् । लोकसेवा आयोगबाट आएका कर्मचारीको क्षमता सही दिशामा प्रयोग हुन सके देशले ठूलो प्रगति गर्न सक्ने उनको भनाइ थियो । उनले नेपालमा रहेका ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको दाबी गरिन् । 'हामीलाई ५८ वटा ग्यास उद्योग चाहिएको छैन । ठूला–ठूला देशमा पनि तीनवटाभन्दा बढी ग्यास उद्योग छैनन् । यहाँ किन ५८ वटा छन् ?' उनले प्रश्न गरिन्। ग्यास उद्योगलाई लाइसेन्स दिँदा ठूलो रकम उठाइएको र त्यसको भार अन्ततः उपभोक्तामाथि परेको उनको आरोप थियो । उनले उद्योगसम्बन्धी समितिहरूबाट उद्योगीहरूलाई हटाएर राष्ट्रहितलाई केन्द्रमा राखी कानुन बनाउनुपर्नेमा जोड दिइन् । 'सरकारको हिसाबले जे राष्ट्रहितमा छ, त्यसैअनुसार कानुन बनाउनुपर्छ,' उनले भनिन् । नेपालमा स्वदेशी उद्योग स्थापना गर्ने वातावरण नरहेको दाबी गर्दै उनले कच्चा पदार्थ आयात र तयारी वस्तुको आयातबीचको भन्सार नीतिमा समेत पुनरावलोकन आवश्यक रहेको बताइन् । सस्तो मूल्यमा तयारी वस्तु आयात हुने तर सोही वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ महँगो पर्ने अवस्थाले नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । उनले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई बोलाएर छलफल गर्ने प्रयास गरे पनि अपेक्षित परिणाम नआएको बताइन् । उद्योगीहरूको प्रभावबाट नीतिनिर्माण प्रक्रिया मुक्त नगरेसम्म ग्यासको समस्या समाधान नहुने उनको दाबी छ । उद्योगीहरूको प्रभावबाट समितिहरू र कानुन निर्माण प्रक्रिया मुक्त गरी राष्ट्रहितलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्नेमा उनले जोड दिइन् । ग्यास आपूर्ति सहज बनाउन आवश्यक कदम चाल्न आफू तयार रहेको तर उद्योगीहरूको प्रभाव कायम रहेसम्म समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ । उनले नेपालमा आवश्यकताभन्दा धेरै ग्यास उद्योग सञ्चालनमा रहेको कारण ग्यास आपूर्ति सहज बनाउन नसकेको दाबी गरिन् । ग्यास आपूर्ति सहज बनाउन उद्योगको संख्या घटाउनुपर्ने उनको भनाइ छ ।

मकवानपुरगढीमा ६ सुकुम्बासी परिवारले पाए लालपुर्जा

मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गा नभएका परिवारले लालपुर्जा पाएसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । लालपुर्जा पाएपछि आफूहरूले वर्षौंदेखि भोग्दै आएको जग्गामा कानुनी स्वामित्व प्राप्त भएको भन्दै लाभग्राही परिवार खुसी भएका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको छ । उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यअनुसार लालपुर्जा वितरणको कामलाई प्रभावकारी रूपमा अघि बढाइएको हो । भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने सरकारको नीति छ ।

बाढीपीडितका लागि यामाहा नेपाल परिवारको १५ लाख १५ हजार सहयोग

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि यामाहा नेपाल परिवार राहत अभियानमा जुटेको छ । रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । कैयौँ परिवारले घर, सम्पत्ति र आफ्ना प्रियजन गुमाएका छन् । यस्तो विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न यामाहा २ पांग्रे विभाग, देशभरका यामाहा डिलर र यामाहा राइडरहरू एकजुट भएका हुन् । यामाहा विभाग र देशभरका डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट १५ लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, यामाहा विभागको जेनजी टोलीले आफ्नै व्यक्तिगत बचतबाट १५ हजार रुपैयाँ सहयोग गरेको छ । यससँगै यामाहा नेपाल परिवारबाट बाढीपीडितका लागि कुल १५ लाख १५ हजार रुपैयाँ सहयोग भएको छ । यामाहा नेपालले विपद्को समयमा राष्ट्र र समुदायप्रति जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण भएको जनाएको छ । प्रभावित परिवारलाई राहत र भरोसा प्रदान गर्ने उद्देश्यले आफूहरूले सहयोग अभियान अघि बढाएको कम्पनीले जनाएको छ । यामाहा नेपालले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणको यात्रामा प्रभावित समुदायलाई आवश्यक समयसम्म सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । कम्पनीले आफ्नो सामूहिक प्रयासबाट सहयोगको सबैभन्दा बढी आवश्यकता भएका परिवारसम्म राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।

आगजनीको एक वर्षपछि फेरि उभियो भाटभटेनीको धरान स्टोर

काठमाडौं । गतवर्ष भदौ २४ गते आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपरमार्केटको धरानस्थित स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ । आगजनी भएको ठीक एक वर्षकै दिन भाटभटेनीले धरान स्टोरलाई पुनः सञ्चालनमा ल्याएको हो । स्टोरको पुनः शुभारम्भ भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले गरेकी छन् । स्टोर पुनः सञ्चालनमा आएसँगै भाटभटेनी परिवारमा खुसी छाएको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताए । उनका अनुसार ठूलो क्षतिका बाबजुद छोटो समयमै स्टोरलाई पुनः सञ्चालनमा ल्याउन सफल हुनु भाटभटेनीका लागि महत्वपूर्ण उपलब्धि हो । ‘आगजनीबाट ध्वस्त भएको स्टोरलाई पुनः निर्माण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याउन पाउँदा भाटभटेनी परिवार नै खुसी छ,’ पौडेलले भने । भाटभटेनीले पुनः सञ्चालनमा आएको धरान स्टोरबाट ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ग्राहकको सुविधालाई केन्द्रमा राख्दै स्टोरलाई थप व्यवस्थित र आधुनिक बनाइएको कम्पनीको भनाइ छ । ‘ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् छ,’ पौडेलले भने । एक वर्षअघि भएको आगजनीका कारण स्टोरमा ठूलो क्षति पुगेको थियो । त्यसपछि पुनर्निर्माणको काम अघि बढाइएको थियो । अहिले पुनः स्टोर सञ्चालनमा आएसँगै धरानका ग्राहकलाई नियमित सेवा दिन थालिएको कम्पनीले जनाएको छ । भाटभटेनीले स्टोर पुनः सञ्चालनमा ल्याउने क्रममा साथ, सहयोग र विश्वास गर्ने ग्राहक, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । ‘यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं,’ कम्पनीले भनेको छ, ‘आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौं ।’

माछापुच्छ्रे क्यापिटलको सातौँ साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सम्बोधनका क्रममा कोइरालाले माछापुच्छ्रे क्यापिटलको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आगामी दिनमा कम्पनीले थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य दिँदै गत आर्थिक वर्षमा हासिल भएका प्रमुख उपलब्धि, सामना गर्नुपरेका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पनि सर्वसम्मत रूपमा पारित भएको छ । सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । त्यसैगरी, कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । करसहित कुल २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । सभाको समापनमा अध्यक्ष विश्वम्भर न्यौपानेले कम्पनीप्रति विश्वास र निरन्तर साथ दिने सम्पूर्ण सेयरधनी तथा सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, साझेदार संस्था, कर्मचारी तथा माछापुच्छ्रे बैंकप्रति पनि धन्यवाद व्यक्त गरे । सबै सरोकारवालाको निरन्तर सहयोग र विश्वासका साथ कम्पनीलाई आगामी दिनमा अझ सुदृढ, सक्षम र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।