काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गरेकी छन् ।
उनले जेनजी शहीदको स्मृतिमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग असन्तुष्टि समेत जनाइन् ।
उनले जेनजी शहिदहरुको बारेमा बोलिदिन माग गर्दा एकवर्षपछि श्रदाञ्जली आएको उल्लेख गर्दै शहीदहरुले न्याय कति वर्षमा पाउँछन् ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘देशले शहीद पायो, एक दिन विदा पनि पायो । स्मृति दिवसमा आएर केही बोलिदिनुहोस्, जेनजी शहीदको लागि केही लेखिदिनुहोस् भनेर बिहान ७ बजेदेखि भन्दा भन्दा साँझ ७ बजे स्टाटस त आयो । अन्तमा एकवर्षपछि शहीदलाई श्रदाञ्जली । अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षपछि पाउँछ सरकार ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’
उनले जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरुका माग सम्बोधन गर्न मागसमेत गरिन् ।