लोकसेवा आयोग पुग्यो प्रस्तावित निजामती सेवा विधेयक
काठमाडौं, सरकारले परामर्शका लागि प्रस्तावित संघीय निजामती सेवा विधेयक लोकसेवा आयोगमा पठाएको छ। सरकारले लामो समयदेखि विभिन्न चरणमा छलफलमा रहेको विधेयक बुधबार परामर्शका लागि लोकसेवा आयोग पठाएको हो । लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माले प्रस्तावित निजामती सेवा विधेयक आयोगमा आइपुगेको पुष्टि गरे । उनका अनुसार सरकारले परामर्शका लागि विधेयक आयोगमा पठाएको हो । विधेयकमा निजामती कर्मचारीको सेवा, शर्त, सरुवा, बढुवा, अवकाशलगायत प्रशासनसँग सम्बन्धित विभिन्न विषय समेटिएका छन् । आयोगले विधेयकका प्रावधानमाथि अध्ययन गरी आवश्यक सुझावसहित सरकारलाई परामर्श दिने प्रवक्ता शर्माले जानकारी दिए ।
बाढीमा मानवीय क्षति १३ सय ६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्राधिकरणकाअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ । हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ । बाढी तथा विपद्का कारण करिव ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् । त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् । नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन् । यस्तै, करिव ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सनाखत भएका शवको संख्या सम्पर्कविहीनको संख्याबाट घटाइएको प्राधिकरणले जनाएको छ । विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन् । नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन् । विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन् । तीमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन् । विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ । उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन् । यसैगरी, नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ ।
होटल याक एण्ड यतीको बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौं । पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । होटलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको होटलले जनाएको छ । होटलका निर्देशक अरुणकुमार सर्राफ, उनकी आमा रत्नादेवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै अरुणकुमार सर्राफले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । काठमाडौंको दरबारमार्गमा रहेको होटल याक एण्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको पुरानो र प्रतिष्ठित होटलका रूपमा परिचित छ । ऐतिहासिक लालदरबारलाई समेटेर विकास गरिएको यो होटल सन् १९७७ देखि सञ्चालनमा आएको हो । होटलले राणाकालीन वास्तुकला, पुराना कलाकृति तथा ऐतिहासिक संरचनालाई संरक्षण गर्दै आधुनिक आतिथ्य सेवासँग जोड्दै आएको छ । त्यसैले होटल याक एण्ड यती नेपालको आतिथ्य क्षेत्रसँगै कला, वास्तुकला र सम्पदासँग पनि जोडिएको छ । सर्राफ परिवार व्यवसायसँगै सामाजिक सेवा, सम्पदा संरक्षण र वातावरणीय दिगोपनका क्षेत्रमा समेत सक्रिय रहँदै आएको छ । सर्राफ फाउन्डेसनले नेपालको सांस्कृतिक, वास्तुकलागत तथा हिमाली सम्पदाको संरक्षण, अध्ययन र प्रवर्द्धनमा विभिन्न काम गर्दै आएको छ । फाउन्डेसनले कला, वास्तुकला, शिक्षा, समुदाय र दिगोपनलाई जोडेर विभिन्न पहल सञ्चालन गर्दै आएको जनाएको छ । यसअन्तर्गत तारागाउँ नेक्स्ट र नेपाल आर्किटेक्चर आर्काइभलगायतका कार्यक्रम रहेका छन् । खुम्बु क्षेत्रमा दिगो पर्यटन र वातावरण संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको सगरमाथा नेक्स्ट पनि फाउन्डेसनको प्रमुख पहलमध्ये एक हो । नाम्चे बजारनजिक स्याङ्बोचेमा रहेको यस केन्द्रले सगरमाथा क्षेत्रमा बढ्दो पर्यटनसँगै देखिएको फोहोर व्यवस्थापन र वातावरणीय चुनौतीबारे जनचेतना अभिवृद्धि गर्दै आएको छ । स्थानीय समुदाय, संस्कृति र हिमाली वातावरणको संरक्षणमा समेत केन्द्रले काम गर्दै आएको छ । होटल याक एण्ड यतीले बाढी प्रभावितका लागि गरेको पछिल्लो सहयोगलाई सर्राफ परिवारको सामाजिक उत्तरदायित्वअन्तर्गतको निरन्तरताका रूपमा लिइएको छ ।
सिंगापुरका प्रधानमन्त्रीको तलब ४३ करोड पुग्ने, मोदीको तुलनामा १३५ गुणा बढी
काठमाडौं । पूर्वी एसियाली देश सिंगापुरमा प्रधानमन्त्री, मन्त्री तथा अन्य वरिष्ठ अधिकारीहरूको तलब बढाउने निर्णय भएको छ । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोंगले मंगलबार संसदमा यसबारे जानकारी दिएका हुन् । तलब वृद्धिपछि प्रधानमन्त्री वोंगको पारिश्रमिक ६० प्रतिशतले बढ्नेछ । वोंग हाल विश्वमै सबैभन्दा बढी तलब पाउने नेता हुन् । लरेन्स वोंगले हाल वार्षिक करिब २२ लाख सिंगापुर डलर अर्थात् करिब २५.६ करोड रुपैयाँ तलब पाउँदै आएका छन् । तलब वृद्धि भएपछि उनको वार्षिक पारिश्रमिक बढेर ३६ लाख सिंगापुर डलर पुग्नेछ । यो नेपाली रुपैयाँमा ४३.२ करोड रुपैयाँ बराबर हुन्छ । यसअनुसार वोंगको वार्षिक तलबमा १७.६ करोड रुपैयाँ वृद्धि हुनेछ । सिंगापुर सरकारले योग्य र सक्षम व्यक्तिलाई सरकारी जिम्मेवारीमा आकर्षित गर्न तथा प्रभावकारी शासन कायम राख्न उच्च पारिश्रमिक आवश्यक रहेको तर्क गरेको छ । वोंगसँगै देशका उपप्रधानमन्त्रीको तलब पनि बढाइएको छ । उपप्रधानमन्त्रीको वार्षिक तलब १८.७ लाख सिंगापुर डलरबाट बढेर ३०.६ लाख सिंगापुर डलर अर्थात् करिब ३६.७० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, क्याबिनेट मन्त्रीहरूले आफ्नो वरिष्ठता र जिम्मेवारीअनुसार वार्षिक १८ लाख सिंगापुर डलर (करिब २१.६ करोड रुपैयाँ) देखि २८.८ लाख सिंगापुर डलर (करिब ३४.५४ करोड रुपैयाँ) सम्म तलब पाउनेछन् । ट्रम्प र मोदीभन्दा कैयौं गुणा बढी सिंगापुर विश्वमै आफ्ना राजनीतिज्ञलाई सबैभन्दा बढी तलब दिने देशमध्ये पर्छ । नयाँ तलब संरचनापछि सिंगापुरका प्रधानमन्त्रीको पारिश्रमिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा करिब आठ गुणा बढी हुनेछ । त्यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तुलनामा वोंगको तलब करिब १३५ गुणा बढी हुनेछ । ट्रम्पले हाल वार्षिक करिब ६ करोड रुपैयाँ तलब पाउँछन् भने भारतीय प्रधानमन्त्री मोदीको वार्षिक तलब करिब ३२ लाख रुपैयाँ रहेको छ । सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब लामो समयदेखि विवादको विषय रहँदै आएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले करोडौं रुपैयाँ पारिश्रमिक पाउँदा देशका नागरिकको औसत वार्षिक आम्दानी भने करिब ६.८८ लाख रुपैयाँ (५ हजार ७७५ सिंगापुर डलर) रहेको बताइएको छ । तलब वृद्धि गर्ने निर्णयको आलोचना भइरहेको छ । यद्यपि सरकारको तर्क भने मन्त्रीहरूलाई पर्याप्त पारिश्रमिक दिँदा सक्षम व्यक्तिलाई राजनीतिमा आउन प्रोत्साहन मिल्ने र राम्रो शासन सुनिश्चित गर्न सहयोग पुग्ने भन्ने छ । विश्वमा सबैभन्दा बढी तलब पाउने नेता (वार्षिक) लरेन्स वोंग - सिंगापुरका प्रधानमन्त्री — ४३.२ करोड रुपैयाँ जोन ली - हङकङका प्रमुख कार्यकारी — १०.८६ करोड रुपैयाँ गाय परमेलिन - स्विट्जरल्यान्डका राष्ट्रपति — ९.१५ करोड रुपैयाँ डोनाल्ड ट्रम्प - अमेरिकी राष्ट्रपति — ६ करोड रुपैयाँ एन्डी बर्नहम - बेलायतका प्रधानमन्त्री — ३.४७ करोड रुपैयाँ नरेन्द्र मोदी - भारतका प्रधानमन्त्री — ३२ लाख रुपैयाँ
प्रभु बैंकका ग्राहकलाई सुजुकीका गाडी किन्दा १ लाख ७५ हजार छुट
काठमाडौं । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् । सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् । सम्झौता २०२६ सेप्टेम्बर ७ देखि २०२७ सेप्टेम्बर ६ सम्म लागू हुनेछ । प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा, २६२ एटीएम तथा ६६ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको जनाएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
हरेक सूचनामा तुरुन्तै फोन हेर्ने बानीले बढाउँछ मानसिक तनाव, कसरी जोगिने ?
काठमाडौं । स्मार्टफोन अहिले दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । फोनमा आउने सन्देश, सामाजिक सञ्जालका सूचना, इमेल तथा विभिन्न एपका सूचनाले मानिसको ध्यान पटक-पटक फोनतर्फ तान्ने गर्छ । मोबाइलमा सूचना आउनेबित्तिकै फोन हेर्ने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी लामो समयसम्म दोहोरिँदा मानसिक शान्ति, एकाग्रता र काम गर्ने क्षमतामा असर पर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । फोनमा आउने प्रत्येक ‘पिङ’, कम्पन वा पर्दामा देखिने सूचनाले मानिसको ध्यान गरिरहेको कामबाट केही समयका लागि भए पनि अन्यत्र मोड्न सक्छ। कतिपय अवस्थामा फोन नछोएरै सूचना आएको आवाज वा कम्पनले पनि एकाग्रता भंग गर्न सक्छ । फोनमा अचानक आवाज, कम्पन वा सूचना आउँदा मानिसको ध्यान स्वाभाविक रूपमा त्यसतर्फ जान्छ । यसको कारण सूचनाको पछाडि कुनै महत्त्वपूर्ण सन्देश, व्यक्तिको फोन, इमेल वा सामाजिक सञ्जालको गतिविधि हुन सक्ने सम्भावना हो । विशेषगरी आफूलाई व्यक्तिगत रूपमा महत्त्वपूर्ण लाग्ने फोनको आवाजले दिमागको ध्यान छिटो तान्न सक्छ । त्यसैले मोबाइलको सामान्य आवाजभन्दा आफ्नै फोनबाट आउने सूचना मानिसका लागि बढी प्रभावकारी हुन सक्छ । एकपछि अर्को सूचना आउँदा मानिसलाई सधैं उपलब्ध र सम्पर्कमा रहनुपर्ने दबाब महसुस हुन सक्छ । विशेषगरी कार्यालयका इमेल, सन्देश र सामाजिक सञ्जालका सूचनाले हरेक समय जवाफ दिनुपर्ने जस्तो अनुभूति गराउन सक्छ । हरेक सूचना नै प्रत्यक्ष रूपमा चिन्ताको कारण हुन्छ भन्ने निष्कर्ष निकाल्न भने मिल्दैन । तर, लगातार ध्यान भंग हुनु, पटक-पटक फोन हेर्नु र केही छुट्ने डरजस्ता कारणले मानसिक दबाब बढ्न सक्छ । एक अध्ययनमा दिनमा सीमित पटक मात्र सूचना जाँच गर्ने मानिसमा सामान्य रूपमा सूचना जाँच गर्नेको तुलनामा तनाव कम देखिएको थियो । तर, सबै सूचना पूर्ण रूपमा बन्द गर्दा केही मानिसमा महत्त्वपूर्ण कुरा छुट्ने डर र चिन्ता बढ्न सक्ने पनि अध्ययनले देखाएको छ । यसले समस्या समाधान गर्न फोन नै पूर्ण रूपमा बन्द गर्नुपर्ने आवश्यकता नहुन सक्ने देखाउँछ । आवश्यक सूचनामात्र आउने गरी मोबाइलको सूचना व्यवस्थापन गर्नु व्यावहारिक उपाय हुन सक्छ । मोबाइलको सूचना आउने आवाजले मानिसको ध्यान मात्र होइन, काम पूरा गर्ने गतिमा समेत असर पार्न सक्छ । एक अध्ययनअनुसार काम गरिरहेका बेला सूचना आएको आवाज सुन्दा मानिसको प्रतिक्रिया दिने गति प्रभावित हुन सक्छ । त्यसले कुनै काम पूरा गर्न लाग्ने समयसमेत बढाउन सक्छ । तर, सूचनाले पार्ने असर सबै अवस्थामा समान हुँदैन। सामान्य र सजिलो काम गर्दा मानिस छिटो विचलित हुन सक्छन् । धेरै एकाग्रता आवश्यक पर्ने कठिन काममा भने कतिपय मानिसले सूचनालाई बेवास्ता गर्न सक्छन् । समस्या सूचनाको आवाजमा मात्र सीमित छैन । बारम्बार सूचना जाँच गर्ने बानीले मानिसको व्यवहारमा नै परिवर्तन ल्याउन सक्छ । बिस्तारै नयाँ सन्देश वा सूचना नआए पनि मोबाइल हेर्ने इच्छा हुन थाल्छ । कतिपय मानिसले कामका बीचमा अनावश्यक रूपमा लक स्क्रिन हेर्ने, सामाजिक सञ्जाल खोल्ने वा नयाँ सूचना आएको छ कि छैन भनेर जाँच गरिरहन्छन् । अर्थात्, कतिपय अवस्थामा फोनले मानिसलाई बोलाइरहेको हुँदैन । बरु मानिसको दिमाग नै अर्को सूचना आउने प्रतीक्षामा हुन्छ । ‘नोटिफिकेसन एन्जाइटी’ भनेको के हो ? ‘नोटिफिकेसन एन्जाइटी’ कुनै मानक चिकित्सकीय रोगको नाम होइन । लगातार आउने सूचना, सन्देश वा मोबाइल अपडेटका कारण महसुस हुने बेचैनी वा मानसिक दबाबलाई सामान्य रूपमा यस शब्दले जनाउने गरिन्छ । यसका केही सामान्य संकेत यस्ता हुन सक्छन् : सूचना आउनेबित्तिकै फोन जाँच गर्ने । सन्देशको जवाफ दिन ढिला हुँदा बेचैनी हुने । पटक–पटक मोबाइलको पर्दा हेर्ने । कुनै सूचना नआए पनि फोन जाँच गर्ने । काम गरिरहेको समयमा सामाजिक सञ्जालका गतिविधि हेर्ने । मोबाइल शान्त अवस्थामा हुँदा पनि सूचना आउने प्रतीक्षामा रहने । स्मार्टफोनका सूचनाले हाम्रो दैनिक जीवनलाई सहज बनाएका छन् । तर, प्रत्येक सूचना हाम्रो ध्यानका लागि एउटा सानो अवरोध पनि बन्न सक्छ । त्यसैले आवश्यक सूचना मात्र सक्रिय राख्ने, काम गर्ने समयमा अनावश्यक सूचना बन्द गर्ने र मोबाइल जाँच गर्ने निश्चित समय तय गर्ने बानी उपयोगी हुन सक्छ । मुख्य कुरा फोन प्रयोग नगर्नु होइन, फोनले आफ्नो ध्यान कहिले र कति समय नियन्त्रण गर्ने भन्नेमा सचेत हुनु हो ।
माथिल्लो मैलुङ खोलाको ८४ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीले भदौ २४ गते सूचना प्रकाशित गर्दै लकइन अवधिमा रहेका कुल ८४ लाख ९० हजार ८०० कित्ता सेयर आगामी कात्तिक २ गते (१९ अक्टोबर) देखि लकइनबाट बाहिरिने जानकारी दिएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ७० लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा कर्मचारीलाई बाँडफाँट गरिएको १४ लाख ९० हजार ८०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीले सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी सेयरधनी, नियामक निकाय तथा सरोकारवालालाई दिएको जनाएको छ । यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ । सेयर रजिष्ट्रारको काम सानीमा क्यापिटलले गर्दै आएको छ ।
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
काठमाडौं । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन् । सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको र आवश्यक उपचार तथा विशेषज्ञ निगरानीपछि उनलाई घर पठाइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यो सफलता जटिल शल्यक्रियाको उपलब्धि मात्र नभई आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको समर्पणसँग जोडिएको नयाँ जीवनको कथा हो । नेपालमै जटिल प्रत्यारोपण उपचारको सुविधा विस्तार गर्ने उद्देश्यले किष्ट प्रत्यारोपण केन्द्रले आधुनिक पूर्वाधार, अनुभवी विशेषज्ञ टोली, शल्यक्रिया सुविधा, सघन उपचार तथा विभिन्न विधाका चिकित्सकबीचको समन्वयमा उपचार सेवा प्रदान गर्दै आएको छ । केन्द्रले प्रत्यारोपण शल्यक्रियामा मात्र नभई प्रत्यारोपणअघि, प्रत्यारोपणका क्रममा र प्रत्यारोपणपछि आवश्यक सम्पूर्ण उपचारलाई समेट्ने समन्वित बहुविषयगत उपचार प्रणालीलाई आफ्नो महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको जनाएको छ । एक आमाले आफ्नो कलेजोको हिस्सा दिएर छोरीलाई नयाँ जीवनको अवसर दिएकी छन् भने किष्टको विशेषज्ञ चिकित्सकीय टोलीले त्यसलाई सफल प्रत्यारोपणमार्फत सार्थक बनाएको अस्पतालको भनाइ छ । ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपणलाई किष्ट शिक्षण अस्पतालले आफ्नो प्रत्यारोपण सेवाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । अस्पतालले आगामी दिनमा पनि बालबालिकासहित जटिल बिरामीका लागि उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै नेपालमै गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।