काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला राज्य नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले अहिले राज्य आफ्ना नागरिकको प्राण खोज्नेदेखि सर्वस्व गुमाएकाहरूको आश्रय बन्नेसम्मका काममा जुटिरहेको बताए ।
‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने, ‘सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न राज्य दिनरात खटिएको छ ।’
उनले विपद्ले बगाएका सडक र चुँडिएका पुलको पुनर्निर्माणसँगै नागरिकको टुटेको भरोसा जोड्नु पनि राज्यको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।
लामिछानेले भविष्यमा यस्ता विपद् दोहोरिँदा क्षति कम गर्न बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन, विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ,’ उनले भने ।
लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गर्दै हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान विरलै भएको दावीसमेत गरे ।
उनले भने, विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो । तथ्यसहित भन्न सकिन्छ हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’