न्यान्सी-सुशीलको ‘अक्षरा’को डिजिटल अधिकार बिक्री, भदौ २६ देखि देशभर प्रदर्शन
काठमाडौं । नारी जीवनका संघर्ष, आत्मसम्मान, प्रेम र पारिवारिक सम्बन्धका विविध आयामलाई कथावस्तु बनाइएको नेपाली चलचित्र अक्षरा’ को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटल इन्टरटेन्मेन्टले खरिद गरेको छ । निर्देशक विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । डिजिटल अधिकारसम्बन्धी सम्झौतामा निर्माण पक्षका प्रतिनिधिसँगै मुभिज डिजिटल इन्टरटेन्मेन्टका प्रदीप धामी, पुष्कर शर्मा घिमिरे र आशिष तामाङ सहभागी थिए । निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकारसमेत बिक्री भइसकेको छ । अब चलचित्रका गीत, ट्रेलरलगायत डिजिटल सामग्री सम्बन्धित प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ । स्वर्गीय परीक्षित ढुङ्गानाको सम्झनामा निर्माण गरिएको ‘अक्षरा’को प्रदर्शन पोस्टरसमेत सार्वजनिक भइसकेको छ । पोस्टरमा ‘कतिञ्जेल नारीले मात्र आफ्नो घर, थर सार्नुपर्नेरु अरूलाई खुसी पार्ने बहानामा सधैं आफैं हार्नुपर्ने’ भन्ने भावलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा न्यान्सी खड्का र सुशील सिटौला मुख्य भूमिकामा छन् । न्यान्सीले यसअघि ‘१२ गाउँ’मार्फत दर्शकमाझ आफ्नो अभिनयको प्रभाव छाडेकी थिइन् । ‘अक्षरा’मा भने उनी फरक र चुनौतीपूर्ण भूमिकामा देखिँदैछिन् । चलचित्रमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहा, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदीप थुलुङ, विश्वनाथ तामाङ, रवीन्द्र अधिकारी, प्रज्वल दुलाल र निशा कुइकेललगायत कलाकारको अभिनय छ । बालकलाकारका रूपमा रोनक खड्का र प्रिसा ढुङ्गाना रहेका छन् । चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापा काजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्। सोनी थापा ढुङ्गानाको प्रस्तुति रहेको चलचित्रको निर्देशन पौडेलले गरेका हुन् । ‘अक्षरा’का गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ । अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वरमा गीत समावेश छन् । चलचित्रको तीज विशेष गीत ‘नाचौँ न बरिलै’ यसअघि नै सार्वजनिक भइसकेको छ । दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतम खड्काको सम्पादन रहेको चलचित्रको पोस्टर डिजाइन राकेश दाहालले गरेका छन् । चलचित्रको देशव्यापी वितरण नेसनल सिने ग्रुप नेपालमार्फत दीपक दङ्गालले गर्नेछन्। निर्माण पक्षले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार-प्रसारलाई तीव्र बनाउने जनाएको छ । ट्रेलर तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गर्दै दर्शकमाझ चलचित्रको विषयवस्तु र पात्रबारे जानकारी पुर्याउने तयारी निर्माण पक्षको छ ।
इमर्जिङ नेपालका सेयरधनीले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी नन्दकिशोर मुन्दडाले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने मनसाय कम्पनीलाई जानकारी गराएका छन् । कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै मुन्दडाको सेयर बिक्रीसम्बन्धी निवेदन भदौ २४ गते प्राप्त भएको जनाएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ तथा नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुन्दडाले आगामी तीन महिनाभित्र आफूले धारण गरेको उक्त सेयर बिक्री गर्ने आशय व्यक्त गर्दै कम्पनीमा निवेदन दिएका हुन् ।
बाढीपीडितका लागि नेपाल एसबिआई बैंकको १ करोड ३१ लाख सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक योगदानसमेत जोडेर उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविन मुनि बज्राचार्य तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरेको जनाएको छ । नेपाल एसबिआई बैंकले प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनरुत्थान, पुनःस्थापना र समग्र कल्याणका लागि आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, सात प्रादेशिक कार्यालय, १२७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
बाढी पीडितलाई इम्पेरियल सेक्युरिटिजको साढे २४ लाख सहयोग
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ४५) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ४५ हजार ५४५ रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान गराउँदा मानवीय र भौतिक क्षति भएको छ । बाढीका कारण नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित हुनुपरेको छ । बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । कम्पनीले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।
सडक दुर्घटनामा दैनिक ७ मृत्यु घटाउन सरकारलाई चुनौती
काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्रसमेत तयार गर्नुपर्ने बताएका छन् । बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई बनेपामा सम्बोधन गर्दै अध्यक्ष बानियाँले कानुन बनाउने तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र नबनाउने प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताए । उनले सवारीसाधनमा ड्यास क्यामेरा तथा अन्य क्यामेरा जडान गर्ने विषय सकारात्मक भए पनि त्यसबाट प्राप्त विवरणको अनुगमन र प्रयोग कसले गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए । व्यवसायीले २०–३० हजार रुपैयाँ खर्च गरेर त्यस्ता उपकरण जडान गरे पनि त्यसको प्रभावकारी अनुगमन गर्ने निकाय नहुँदा त्यसको औचित्यमाथि प्रश्न उठ्ने उनको भनाइ छ । ‘हामी क्यामेरा राख्छौँ, २०–३० हजार रुपैयाँ खर्च गरेर यस्ता डिभाइस राख्छौँ । तर त्यसको अनुगमन गरिदिने को हो भन्ने हाम्रो प्रश्न हो,’ उनले भने । अध्यक्ष बानियाँले सवारी तथा यातायातसम्बन्धी कानुनमा मादक पदार्थ सेवन गरी सवारी चलाउन नपाइने व्यवस्था भए पनि त्यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीसँग आवश्यक उपकरण र परीक्षण सामग्री पर्याप्त नभएको बताए । ट्राफिक प्रहरीसँग ब्रेथलाइजर र लागुऔषध परीक्षणका लागि आवश्यक किटको अभाव रहेको भन्दै व्यवसायी तथा सम्बन्धित संस्थाले सहयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले एउटा लागुऔषध परीक्षण किटको मूल्य करिब ४ सय रुपैयाँ पर्ने भए पनि प्रहरीसँग पर्याप्त किट नहुँदा परीक्षण प्रभावकारी हुन नसकेको बताए । कानुन कार्यान्वयनका लागि बजेट मात्रै छुट्याएर नपुग्ने भन्दै आवश्यक जनशक्ति र उपकरणको व्यवस्था पनि सँगसँगै गर्नुपर्ने उनले बताए । ‘कानुन ल्याउने हो भने त्यो कानुन कार्यान्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । बजेटसँगै आवश्यक जनशक्ति पनि तयार गर्नुपर्छ,’ उनले भने । अध्यक्ष बानियाँले नेपालमा कति सवारीसाधन सञ्चालनमा छन् भन्ने यकिन तथ्यांकसमेत सरकारसँग नरहेको दाबी गरे । प्रदेश संरचनामा गएपछि सातै प्रदेशले आफ्नै ढंगले सवारीसाधन दर्ता गर्ने भएकाले केन्द्रमा एकीकृत तथ्यांकको अभाव रहेको उनको भनाइ छ । विशेषगरी ट्रक, टिपर, डोजर, लोडर, एक्स्काभेटरलगायत मालवाहक तथा निर्माण क्षेत्रमा प्रयोग हुने सवारीसाधनको यकिन संख्या सरकारसँग नहुँदा तथ्यमा आधारित यातायात नीति बनाउन कठिन हुने उनले बताए । ‘अहिले कति सवारीसाधन छन् भन्ने कुरा नै नेपाल सरकारलाई थाहा छैन । केन्द्रित डाटा नभएको अवस्थामा सरकारले कसरी यातायात नीति ल्याउने ?,’ उनले प्रश्न गरे । यातायात नीति बनाउँदा आगामी पाँच वर्षमा दुर्घटना, मृत्यु र घाइतेको संख्या कति घटाउने भन्ने स्पष्ट लक्ष्यसमेत निर्धारण गर्नुपर्ने उनको भनाइ छ । अहिले दैनिक औसत ७ जनाको सडक दुर्घटनामा मृत्यु भइरहेको र ठूलो संख्यामा मानिस घाइते भइरहेको उल्लेख गर्दै उनले ५ वर्षभित्र दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या उल्लेख्य रूपमा घटाउने लक्ष्यसहितको नीति आवश्यक रहेको बताए । ‘यातायात नीतिले अबको ५ वर्षभित्र प्रतिदिन ७ जनाको मृत्यु हुने दरलाई तीन जनामा झार्ने, दुर्घटनामा घाइते हुनेको संख्या पनि उल्लेख्य रूपमा घटाउने लक्ष्य लिनुपर्छ,’ उनले भने । नीति निर्माणका लागि सही तथ्यांक आवश्यक पर्ने भन्दै उनले सरकारलाई यातायात क्षेत्रसँग सम्बन्धित तथ्यांक संकलन, व्यवस्थापन र अनुगमन गर्ने प्रभावकारी संस्थागत संरचना निर्माण गर्न आग्रह गरे । कानुन र नीति बनाउने मात्रै नभई त्यसको कार्यान्वयन सुनिश्चित गर्ने निकायसमेत निर्माण गर्नुपर्ने उनको जोड छ ।
बाढीले कार्यालय बगाएपछि त्रिशुलीमा नयाँ घर खोज्दै कृषि विकास बैंक
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नुवाकोटको त्रिशुली शाखाका लागि नयाँ कार्यालय भवन भाडामा लिने भएको छ । बैंकको त्रिशुली शाखा नुवाकोटको विदुर नगरपालिका–१, ढुंगे बजारमा सञ्चालन हुँदै आएको थियो । तर, भदौ १० गते आएको बाढीले कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएको बैंकले जनाएको छ । बैंकले व्यवसायिक तथा व्यापारिक क्षेत्रमा रहेको पक्की भवन वा फ्ल्याट कम्तीमा १० वर्ष वा सोभन्दा बढी अवधिका लागि भाडामा लिन लागेको हो । प्रस्तावित भवन नुवाकोटको विदुर नगरपालिका क्षेत्रअन्तर्गत विदुर वा बट्टार बजारको मुख्य बजार क्षेत्रमा हुनुपर्नेछ । बैंकका अनुसार भाडामा लिइने भवनको क्षेत्रफल २ हजार ५०० देखि ३ हजार वर्गफिटसम्म हुनुपर्नेछ । मूल सडकमा रहेको, एउटै तल्लामा भएको, पर्याप्त पार्किङ सुविधा तथा एटीएम राख्ने स्थान भएको भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । त्यस्तै, भवन भूकम्प प्रतिरोधी आरसीसी फ्रेम स्ट्रक्चरमा निर्माण भएको तथा सम्बन्धित निकायबाट नक्सा पास गरी निर्माण सम्पन्न भएको हुनुपर्नेछ । भवनमा पानी, विद्युत्, टेलिफोन तथा इन्टरनेटको सुविधा उपलब्ध हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आवश्यकताअनुसार भवनको भित्री संरचनामा परिवर्तन गर्नुपर्ने भएमा घरधनीले त्यसका लागि मञ्जुरी दिनुपर्ने जनाएको छ । साथै, घरधनीले बैंकको मापदण्डअनुसार भल्ट रुम, एटीएम राख्ने स्थान, भुइँमा टायल वा मार्बल, शौचालयलगायत स्थिर संरचना निर्माण गरी दिनुपर्नेछ । बैंकले घर वा फ्ल्याट भाडामा दिन इच्छुक घरधनीबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । घरधनीले आफूले लिन चाहेको मासिक घरभाडा रकम अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । घरभाडा रकममा नियमानुसार कर कट्टी गरी बाँकी रकम प्रत्येक महिनाको अन्त्यमा घरधनीलाई भुक्तानी गरिने बैंकले जनाएको छ ।
प्रभु बैंकले कालिमाटी र लिङ्करोड शाखा बन्द गर्दै
काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा रहेका दुई शाखा कार्यालय एक–आपसमा समायोजन गर्ने भएको छ । बैंकले कालिमाटी र लिङ्करोड वीरगन्ज शाखा समायोजन गर्न लागेको जनाएको हो । बैंकका अनुसार काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन हुनेछ । कालिमाटी शाखा र टेकु शाखाबीचको दूरी करिब ३०० मिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन् । त्यस्तै, पर्साको लिङ्करोड वीरगन्ज शाखा वीरगन्ज शाखामा समायोजन हुने भएको छ । यी दुई शाखाबीचको दूरी करिब १.५ किलोमिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि लिङ्करोड वीरगन्ज शाखाका ग्राहकले वीरगन्ज शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन् । बैंकले दुवै शाखा मंसिर २४ गतेदेखि समायोजन गरी कारोबार सञ्चालन गर्ने जनाएको छ । यसैबीच, समायोजन हुने शाखा कार्यालयमा रहेका फर्निचर, फिक्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्टलगायतका सम्पत्ति हाल जुन अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ। बैंकका अनुसार उक्त स्थानमा शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदनसहित सम्पर्क गर्न सक्नेछन् ।
विकास बैंकको औसत एनपीएल ५.३७ प्रतिशत, मितेरीको ०.२६ प्रतिशत मात्रै
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकमध्ये अधिकांशको खराब कर्जा उच्च देखिएको छ । उपलब्ध तथ्यांकअनुसार विकास बैंकहरूको औसत खराब कर्जा (एनपीएल ) ५.३७ प्रतिशत रहेको छ । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खराब कर्जा ४.७७ प्रतिशत, ज्योति विकास बैंकको ६.५५ प्रतिशत, गरिमा विकास बैंकको ४.७६ प्रतिशत, महालक्ष्मी विकास बैंकको ६.३२ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.९३ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत, शांग्रिला डेभलपमेन्ट बैंकको ६.८७ प्रतिशत र कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत रहेको छ । त्यस्तै, क्षेत्रीयस्तरका विकास बैंकमध्ये सप्तकोशी विकास बैंकको खराब कर्जा ७.६८ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ४.५७ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ०.२६ प्रतिशत, सिन्धु विकास बैंकको ७.६६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ३.२२ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४८.५१ प्रतिशत र साल्पा विकास बैंकको ०.७९ प्रतिशत रहेको छ । उपलब्ध तथ्यांकअनुसार सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकको ४८.५१ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम खराब कर्जा मितेरी डेभलपमेन्ट बैंकको ०.२६ प्रतिशत देखिएको छ । समग्रमा विकास बैंकहरूको औसत खराब कर्जा ५.३७ प्रतिशत रहेकाले अधिकांश बैंकमा कर्जा असुली तथा खराब कर्जा व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।