विकासन्युज

तार छुँदा घाइते भएकी रश्मी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।  प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।  कोटधारामा महेन्द्र राजमार्गमा निर्माणाधीन पक्की पुलको उचाईका कारण ११ केभी प्रसारण लाइनको तार नजिक सोही स्थानमा बसोबास गर्ने टीकाराम जैसीकी ८ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा उक्त विद्युत्को तार छुन पुगी सख्त घाइते भएकी थिइन् ।  दुर्घटनामा परेर पूर्ण अंगभंग भएकी उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचार गराउँदा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो ।  प्राधिरकरणले उपचार गराउँदा तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणको विनियमावलीअनुसार बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी दिने निर्णय सञ्चालक समितिले गरेको हो ।  प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार यसअघि उपचारका लागि लिइएको ३ लाख पेश्की कट्टा गरी रश्मी जैसीलाई क्षतिपूर्ति र राहत वापत बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी गरिनेछ । नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार बनेको समिति, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस र प्राधिकरणको मेडिकल बोर्ड (२०८३/०४/२१) को निर्णय अनुसार घाइतेको उपचार बिल, प्रेस्क्रिप्सन तथा पूर्ण अंगभंग भएको पुष्टि गर्दै उक्त क्षतिपूर्ति तथा राहत रकम सञ्चालक समितिले स्वीकृत गरेको हो ।

सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुन: नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्यायलाई थप चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १९२औँ बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । हालका सीईओ उपाध्यायको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ । त्यसपछि उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि २०८७ कात्तिक ६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको छ । 

घर फोडेर गरगहना चोरी, चोरीको सामान किन्नेहरू पक्राउ

काठमाडौं । काठमाडौंको नरेफाँटमा घरमा कोही नभएको मौका छोपी सुन तथा चाँदीका गरगहना चोरी गर्नेहरू चार जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने २९ वर्षीया सावन कुशवाहा, ३६ वर्षीया पवित्रा लिम्बु, २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र ४३ वर्षीया रमिला विक पक्राउ परेका हुन् । उनीहरू चोरीका गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चोरी गर्ने एक जना र चोरीका गरगहना खरिद गर्ने तीन जना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट बिहीबार कोही नभएको मौका छोपी प्रवेश गरी दराजमा राखिएका सुन तथा चाँदीका गरगहना चोरी गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी टोलीले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको जनाएको छ।  पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर तथा जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको छ ।

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका आफ्ना कर्मचारीलाई उपचार खर्चसहित करिब २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकममा उपचार खर्च र प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसारको क्षतिपूर्ति समावेश छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका-१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर गत चैत ११ गते विद्युत् दुर्घटनामा परी घाइते भएका थिए । १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा मगरलाई करेन्ट लागेको थियो । दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो । विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत उनलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए । प्राधिकरणले कार्यक्षेत्रमा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचार तथा क्षतिपूर्तिका लागि विनियमावलीअनुसार रकम उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयका साथै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको अवस्थाबारे विशेष छलफल हुने जनाइएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनामा जुटिरहेको छ । प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार अभियान, राहत वितरण र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने तथा आवश्यक निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ ।

अग्रवाल सेवा केन्द्रले बाढीपीडितको राहतका लागि दियो ४१ लाख

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ । अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले सदस्यहरूको तर्फबाट उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । सेवा केन्द्रले बाढी प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिएको जनाएको छ । यस अवसरमा अध्यक्ष अग्रवालले अग्रवाल युवा मञ्चमार्फत थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने योजना रहेको जानकारी पनि अर्थमन्त्री वाग्लेलाई गराएका थिए । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेका बेला अग्रवाल सेवा केन्द्रको सहयोगले प्रभावित परिवारलाई राहत पुर्‍याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड लगानी गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई कम्पनीमा संस्थापक सेयरमार्फत ४० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २४ गते बसेको २३५औँ सञ्चालक समिति बैठकले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्ने तथा दीर्घकालीन लगानी नीति अनुरूप उक्त निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी दिएको हो । निर्णयअनुसार हाथवे इन्भेष्टमेन्टले विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिसेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्दै २५ करोड रुपैयाँसम्म लगानी गर्नेछ । यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरिरहेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन इन्दुवा खोला पीआरओआर जलविद्युत आयोजना (२४.९२१ मेगावाट) मा प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक सेयर खरिद गरी १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय पनि भएको छ ।