कोरला नाकाबाट ओरा ५ र जोलियन म्याक्सको डेलिभरी सुरु गर्दै जीडब्ल्यूएम नेपाल
काठमाडौं । नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ । कम्पनीले बुकिङ गरेका ग्राहकलाई सवारीसाधन उपलब्ध गराउने तयारी तीव्र पारेको जनाएको छ । भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीका लागि वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ । सडक अवरोधका बाबजुद कोरला नाकाबाट ढुवानी सुरु भएपछि गाडीको डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी, जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो । कम्पनीले जोलियन म्याक्स ईभीलाई ५९ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्यमा बजारमा ल्याएको थियो । ओरा ५ र जोलियन म्याक्स ईभी दुवैले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । विशेषगरी नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि तथा प्रिमियम एसयूभी सेगमेन्टमा केन्द्रित यी मोडलप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको दाबी छ । भीजी इम्पेक्सका अनुसार प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेका छन् । डेलिभरीको समयतालिकाबारे थप जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया ग्राहकका लागि सहज र व्यवस्थित बनाउनेतर्फ कम्पनीले ध्यान केन्द्रित गरेको बताएको छ । जीडब्ल्यूएम नेपालले नेपाली अटो बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै प्रिमियम तथा लक्जरी सेगमेन्टका नयाँ मोडलहरू क्रमशः भित्र्याउने तयारी समेत गरिरहेको जनाएको छ । नयाँ मोडलको विस्तारमार्फत विश्व बजारमा उपलब्ध जीडब्ल्यूएमका आधुनिक तथा विद्युतीय प्रविधियुक्त सवारीसाधन नेपाली ग्राहकलाई उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।
बाढीपछि प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्बभन्दा बढी मौज्दात
काठमाडौं । गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । रसुवामा भोटेकोशी नदीमा बाढी आएपछि सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । सोहीबमोजिम स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो ।
उद्योग मन्त्री बने दीपककुमार शाह, को हुन् उनी ?
काठमाडौं । सुनसरी-४ बाट निर्वाचित रास्वपा सांसद दीपककुमार साह नयाँ उद्योगमन्त्री बनेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीका लागि साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा जन्मेका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन् । मेकानिकल इन्जिनियरसमेत रहेका साहको राजनीतिक यात्रा भने उतारचढावपूर्ण देखिन्छ । उनी चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा सक्रिय थिए । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा जन्मेका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन्। साह जनमत पार्टीका उपाध्यक्षसमेत बनेका थिए । तर, पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनको आरोपमा उनी कारबाहीमा परे । सुरुमा ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएका साह पछि पार्टीबाटै निष्काशित भएका थिए । जनमत पार्टीले उनीमाथि गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोप लगाएको थियो । जनमतबाट निष्काशित भएपछि साहले आफ्नै राजनीतिक दल निर्माण गर्ने प्रयास गरेका थिए । जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक पहिचानसहित ‘जनस्वराज पार्टी’ गठन गर्ने प्रयास गरे पनि प्रारम्भमा अदालतबाट त्यसले मान्यता पाएन । त्यसपछि उनले पार्टीको नाम परिवर्तन गरी गत मंसिरमा ‘सर्वोदय पार्टी’ दर्ता गराएका थिए । साह उक्त पार्टीका अध्यक्षसमेत बने । तर, प्रतिनिधिसभा निर्वाचनमा भने उनले रास्वपासँग सहकार्य गर्दै रास्वपाको चुनाव चिह्न लिएर सुनसरी-४ बाट उम्मेदवारी दिएका थिए । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा साहले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका थिए । उनले कार्कीलाई झन्डै २६ हजार मतान्तरले हराएका थिए । निर्वाचनमा उल्लेख्य मतान्तरसहित विजयी भएका साह अहिले उद्योग मन्त्रालयको नेतृत्वमा पुगेका छन् । राजनीतिक दल परिवर्तनदेखि आफ्नै पार्टी गठनसम्मको यात्रा तय गरेका साहका लागि उद्योगमन्त्रीको जिम्मेवारी भने सरकारमा उनको पहिलो ठूलो कार्यकारी भूमिकाका रूपमा आएको छ । साहसँग जलविद्युत क्षेत्रमा विज्ञता रहेको छ । पूर्णकालीन राजनीतिकर्मी हुनुअघि उनले २३ वर्षसम्म हाइड्रोपावर परियोजनाहरुमा काम गरेका थिए । उनले राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षकको रूपमा काम गरेको अनुभवसमेत बटुलेका छन् । ग्यासको सहज आपूर्ति व्यवस्थापन गर्न नसकेपछि मन्त्री गौरीकुमारी यादवले राजीनामा दिनु परेको थियो । साहको पनि मुख्य काम ग्यासको तत्काल सहज व्यवस्थापन गर्नुहुनेछ।
बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण रसुवा,नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य सेवासँगै मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको मन्त्रालयले जनाएको छ । विपद्को अवस्थामा यी सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएपछि समिति गठन गरिएको हो । मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक र कान्ति बाल अस्पतालका निर्देशक सदस्य रहेका छन् । समितिले आवश्यकताअनुसार अन्य विषय विज्ञलाई समेत आमन्त्रण गर्न सक्ने जनाइएको छ । समितिले प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य,बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवाको अवस्था,आवश्यक स्वास्थ्य जनशक्ति,औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र विपद्पछिका स्वास्थ्य जोखिमको नियमित अनुगमन तथा पहिचान गर्नेछ । पहिचान भएका समस्या तथा आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गरी सेवा निरन्तरता र थप स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गर्नेछ ।
क्याफेमा अनलाइन सट्टेबाजी खेल्ने-खेलाउने तीन जना पक्राउ
काठमाडौं । बिर्तामोडमा अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाईं रहेका छन्। बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारीका अनुसार उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएका विभिन्न विद्युतीय उपकरणहरू बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले लामो समयदेखि अनलाइन सट्टेबाज सम्बन्धी खेल खेलाउने तथा सञ्चालन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १ देखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी
काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ । प्रदर्शनी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ । आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ भइसकेका छन् । प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, रङ, सेनेटरी सामग्री, विद्युतीय उपकरण, आन्तरिक सजावट, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि राखिनेछन् । यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, विद्युतीय कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । यसबाट प्रदर्शनीलाई कागजरहित बनाउने लक्ष्य राखिएको छ । प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । घरजग्गा व्यवसायमा आएको सुस्तताले समग्र अर्थतन्त्रमा समेत असर परेको भन्दै उनले घरजग्गा कारोबारमा लाग्ने विभिन्न शुल्क तथा करबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन कर्जा–मूल्य अनुपात ७० प्रतिशत पुर्याउनुपर्ने मागसमेत गरे । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गामा लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उनले बताए । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी र आर्थिक शिथिलताका बाबजुद घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए । प्रदर्शनीले घरजग्गा कारोबारसँगै निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए । कुँवरका अनुसार प्रदर्शनीमा करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्प समेत उपभोक्तामाझ प्रस्तुत गरिनेछ । बाढीपीडितलाई राहतदेखि निःशुल्क स्वास्थ्य शिविरसम्म आयोजकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको जनाएको छ । भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकिएको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श दिइनेछ। रक्तदान कार्यक्रमका साथै ओम अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रदर्शनीमा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा वास्तुविद्को सहभागितामा सेमिनार र प्यानल छलफल आयोजना गरिनेछ । युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका तथा चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई निःशुल्क तालिम र परामर्शसमेत प्रदान गरिनेछ । सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता पाउँदै आएको आयोजकको भनाइ छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । बैंकिङ क्षेत्रमा तरलता सहज र ब्याजदर घट्दो क्रममा रहेकाले घरघडेरी छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीबारे जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ ।
सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने
काठमाडौं । बागमती प्रदेश सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने भएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा अभिभावक गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले भदौ १८ गते बालबालिकाको आवास, विद्यालय शिक्षा तथा आवश्यक शैक्षिक व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो । प्रदेश सरकारले राहत वितरणलाई छिटो र प्रभावकारी बनाउन प्रदेश विपद् व्यवस्थापन कोषको कार्यविधि संशोधन गरी राहत रकम जिल्ल तथा स्थानीय तहमा प्रत्यक्ष पठाउन सकिने व्यवस्था समेत गरेको छ । भदौ १० गते बिहान आएको बाढीमा रसुवा,नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म १३ सय बढीको शव फेला परिसकेको छ ।
परोपकार प्रसूति अस्पतालमा ६० प्रतिशत स्टाफ नर्स दरबन्दी खाली
काठमाडौं । देशकै प्रमुख प्रसूति अस्पतालमा दैनिक दर्जनौं महिलाले सुरक्षित प्रसूति सेवाका लागि उपचार लिइरहेका छन् । तर त्यही अस्पतालमा बिरामीको चापअनुसार आवश्यक पर्ने नर्सिङ जनशक्ति व्यवस्थापनमा सरकार भने उदासीन देखिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा संघीय सरकारअन्तर्गत स्वीकृत स्टाफ नर्सका २० दरबन्दीमध्ये १२ पद लामो समयदेखि रिक्त छन् । सरकारबाट स्वीकृत दरबन्दीको ६० प्रतिशत नर्सिङ पद खाली छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रले यो अवस्था पुष्टि गर्छ । पत्रमा पाँचौं तहका स्टाफ नर्सका २० स्वीकृत दरबन्दीमध्ये ८ पद मात्र पूर्ति भएको र १२ पद रिक्त रहेको उल्लेख छ । अस्पतालमा आउने सेवाग्राहीको चापको तुलनामा नर्सिङ जनशक्ति न्यून हुँदा गुणस्तरीय सेवा प्रवाहमा बाधा पुगेको भन्दै निर्देशक अधिकारीले रिक्त पदमा तत्काल पदपूर्ति गर्न मन्त्रालयसँग आग्रह गरेका छन् । डा. अधिकारीले साउन ८ गते पत्र लेखे पनि हालसम्म सरकारले दरबन्दीअनुसार नर्सिङ कर्मचारी पठाएको छैन । अस्पतालमा वार्षिक करिब २३ हजार प्रसूति हुने गरेका छन् । औसत दैनिक करिब ६१ प्रसूति हुने भए पनि कतिपय दिनमा यो संख्या ७० देखि ८० सम्म पुग्ने गरेको अस्पताल प्रशासनको तथ्यांक छ । देशभरबाट जटिल प्रसूति तथा स्त्रीरोगका बिरामीसमेत आउने केन्द्रीय अस्पतालले प्रसूति सेवासँगै आकस्मिक उपचार, शल्यक्रिया र नवजात शिशु उपचारको जिम्मेवारीसमेत सम्हाल्दै आएको छ । प्रसूति सेवाको यो चापबीच अस्पतालको ओपीडीमै वार्षिक करिब २ लाख बिरामी पुग्ने गरेका छन् । दैनिक औसत करिब ५३३ बिरामीले ओपीडी सेवा लिने अवस्थामा आकस्मिक कक्ष, भर्ना भएका बिरामी, प्रसूति वार्ड, शल्यक्रिया र नवजात शिशु उपचारमा समेत नर्सिङ जनशक्ति खटाउनुपर्ने बाध्यता छ । तर यति ठूलो सेवा भार धानिरहेको अस्पतालमा सरकारकै स्वीकृत २० नर्सिङ दरबन्दीमध्ये १२ पद खाली छन् । अस्पतालमा नर्सिङतर्फ कुल १०० दरबन्दी रहेकामा ८० दरबन्दी अस्पताल विकास समितिअन्तर्गत र २० दरबन्दी संघीय सरकारअन्तर्गत रहेको डा. अधिकारीले जानकारी दिए । विकास समितिअन्तर्गतका कर्मचारीहरू सेवा निवृत्त हुँदै जाँदा नर्सिङ जनशक्ति घट्दै गएको निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार स्थायी दरबन्दी बढाएर जनशक्ति अभाव सम्बोधन गर्ने प्रयास भइरहेको छ ।