शिक्षक सेवा आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल नियुक्त
काठमाडौं । सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । आयोगमा पदाधिकारी रिक्त हुँदा शिक्षक छनोट तथा नियुक्तिसम्बन्धी काम प्रभावित हुँदै आएको थियो । सरकारले नयाँ पदाधिकारी नियुक्त गरेसँगै आयोगका नियमित काम अघि बढ्ने अपेक्षा गरिएको छ ।
प्रधानाध्यापक र शिक्षिकालाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरी सरकारी कागजात सच्याएको आरोपमा विशेष अदालतबाट सफाइ पाएका तत्कालीन प्रधानाध्यापक बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरूविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले तत्कालीन मनोहर उच्च माध्यमिक विद्यालय, हाल मनोहर माध्यमिक विद्यालय, गंगबु काठमाडौंका तत्कालीन प्रधानाध्यापक बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरूविरुद्ध गलत लिखत तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम सजायको मागदाबी गरिएको थियो । तर, विशेष अदालत काठमाडौंले २०८२ चैत २ गते फैसलामार्फत दुवैलाई आरोपबाट सफाइ दिएको थियो । विशेष अदालतको उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले २०८३ भदौ २५ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो । आयोगका अनुसार गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध कानुनी उपचारका लागि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कामका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता दुवै संस्थाबीच सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र तथा सेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, सेयरको अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण, नामसारीलगायतका कामका लागि सिटिजन्स क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो । सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ असोज २ गतेदेखि शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ । कम्पनीका सेयरधनीलाई सेयर रजिष्ट्रारसम्बन्धी आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा सेयर कारोबारसँग सम्बन्धित काममा आवश्यक सहजीकरण र सेवा उपलब्ध गराइने सिटिजन्स क्यापिटलले जनाएको छ । सिटिजन्स क्यापिटलले अनुभवी जनशक्ति तथा व्यावसायिक दक्षतामार्फत शिव श्री हाइड्रोपावरका सेयरधनीलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यस सहकार्यबाट कम्पनीका सेयरधनीलाई सेयरसम्बन्धी सेवा थप सहज र व्यवस्थित हुने तथा दुवै संस्थाबीचको व्यावसायिक सहकार्य थप मजबुत हुने विश्वास लिइएको छ ।
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले विभिन्न ७ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू : १. २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने । २. भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने । ३. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने । ४. काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७,४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने । ५. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौं) लाई नियुक्ति गर्ने । ६. सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने । ७. सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।
विनोद कुँवर र उत्तर खत्री सचिव पदमा बढुवा
काठमाडौं । सहसचिवद्वय विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको बिहीबार (आज) बसेको बैठकले रिक्त २ सचिव पदमा उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा उनीहरूलाई सचिव पदमा बढुवा गरिएको हो । कुँवरलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव साथै खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
ग्रान्डी अस्पतालको तीज हेल्थ प्याकेज, महिलालाई स्वास्थ्य परीक्षणमा ४३ प्रतिशत छुट
काठमाडौं । हरितालिका तीजको अवसरमा धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटल ले महिलालाई लक्षित गर्दै विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ । ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नारासहित अस्पतालले महिलाको स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट दिने गरी विशेष प्याकेज ल्याएको हो । अस्पतालका अनुसार स्वस्थ नारी सुखी परिवारको आधार भएकाले तीजको अवसरमा महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले यो योजना ल्याइएको हो । प्याकेजअन्तर्गत अस्पतालले दुई प्रकारका स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराएको छ । पहिलो प्याकेजमा ९ हजार ४ सय रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण ५ हजार ४ सय रुपैयाँमा उपलब्ध हुनेछ । यस प्याकेजमा स्त्रीरोग विशेषज्ञसँगको परामर्श, सुगर, युरिया, क्रिटिनाइन, कलेजो, थाइराइड, पिसाब तथा रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण र पेट तथा तल्लो पेटको भिडियो एक्सरे समावेश गरिएको छ । त्यस्तै, दोस्रो प्याकेजमा १३ हजार ५८० रुपैयाँ बराबरको सेवा ७ हजार ८ सय रुपैयाँमा उपलब्ध गराइनेछ । यसमा पहिलो प्याकेजका सबै परीक्षणका साथै एचपीभी परीक्षण समेत समावेश गरिएको अस्पतालले जनाएको छ । प्याकेज लिने बिरामीले अन्य अतिरिक्त प्रयोगशाला परीक्षणमा समेत १० प्रतिशत छुट पाउनेछन् । अस्पतालका अनुसार यो विशेष तीज हेल्थ प्याकेज २०८३ भदौ ३१ गतेसम्म लागू हुनेछ ।
पाँच महिनामा विपदका ५ हजार बढी घटना
काठमाडौं । वैशाख १ गतेदेखि भदौ २५ गतेसम्म देशभर भएका विभिन्न विपदका घटनामा परी २ सय ८८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार उक्त अवधिमा ५ हजार ८ सय ३२ विपदका घटना हुँदा १ हजार ९ सय ३३ जना घाइते भएका छन् भने ७ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धरै सर्पदंशबाट ९१ जनाको मृत्यु भएको छ भने पहिरोबाट ४८, चट्याङबाट २९, बाढीमा परी २९ जना लेक लाग्ने घटनामा २६ जनाको मृत्युु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै आगलागीमा २३ जना, जनावरको आक्रमणबाट १९ जना, चट्याङबाट करेन्ट लाग्ने घटनामा १९ जना र हावाहुरीमा १३ परी १३ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार भूकम्पमा ४ जना, वन डढेलोमा १ जना, हिउँ पहिरोमा १ जना, खानसम्बन्धी घटनामा १ जना र विद्युतीय घटनामा १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यो अवधिमा विपदका घटनाबाट ७ हजार १ सय ८७ परिवार प्रभावित भएका छन् ।
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री शाह संयुक्त राष्ट्र सङ्घको ८१औं महासभामा भाग लिन अमेरिका जान लागेका हुन् । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।