आज प्रतिनिधिसभा र ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आज प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक पनि बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ । समितिले छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव लगायतलाई बोलाएको छ ।

यस्तै, बिहान साढे ९ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत भएका क्षति, उद्धार, राहत एवं पुनःस्थापनासम्बन्धी कार्य, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। छलफलका लागि समितिले स्वास्थ्यमन्त्री तथा मन्त्रालयका सचिवलाई बोलाएको छ ।

दिउँसो सवा १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण हालै नेपालमा परेको गम्भीर क्षति तथा निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, दिउँसो साढे १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता कार्यान्वयन एवं सबलीकरणका सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

Share News