काठमाडौं । भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका तथा विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र हेडवक्र्समा फसेकाहरूको खोजी कार्य १६औं दिन पनि निरन्तर जारी छ ।
नेपाली सुरक्षाकर्मीका साथै भारत, चीन र दक्षिण कोरियासहितका देशबाट आएका विज्ञ टोलीहरू उद्धार तथा खोजीमा सक्रिय छन् । बाढीका कारण प्रभावित ११ वटा जलविद्युत् आयोजनाहरूबाट हालसम्म कुल ९१६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन् ।
यसैक्रममा बिहीबार कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रको हाकुबेसीस्थित फूलबारी त्रिशूलीको बायाँ किनारमा थप एक जनाको शव फेला परेको छ ।
आयोजना स्थलमा कार्यरत १,४३३ जनामध्ये हालसम्म ८७८ जना सम्पर्कमा आएका छन् भने ९ कोरियाली, ३४ चिनियाँ र ५० भारतीयसहित ५४५ जना अझै सम्पर्कविहीन छन् ।
आयोजनाको क्षतिग्रस्त अडिट र हेडवक्र्स क्षेत्रमा मिनी एक्स्काभेटर लैजान सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको छ भने कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवारलाई तत्काल राहत वितरणको काम सुरु गरिसकेको छ ।
उता चिलिमे जलविद्युत् केन्द्रको पहुँच सुरुङको ११० मिटर सफाइ भइसकेको छ । सुरुङभित्र ग्याप देखिनुका साथै आवाज दिँदा प्रतिध्वनि (इको) सुनिएकाले भित्र फसेकाहरू जीवितै हुनसक्ने आसमा नेपाली र भारतीय सेनाको टोलीले खोजी कार्य थप तीव्र बनाएको छ ।
यस्तै, १७८ जना सम्पर्कविहीन रहेको ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ आयोजनामा भवनका जगहरू नै बगाएकाले उत्खनन जारी राखिएको छ भने लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ३९ जना अझै बेपत्ता रहेका छन् ।