शनिबार रातिदेखि ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने
काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा करिब ८ घण्टाका लागि अवरुद्ध हुने भएका छन् । बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म डिजिटल सेवा अवरुद्ध रहने जनाएको हो । उक्त अवधिमा बैंकका एटीएम, कार्ड, मोबाइल बैंकिङ, अनलाइन रेमिट्यान्स, अनलाइन खाता खोल्नेलगायत सम्पूर्ण डिजिटल सेवा सञ्चालन नहुने बैंकले जनाएको छ । बैंकले सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निर्धारित समयपछि सबै सेवा नियमित रूपमा सञ्चालनमा आउने जनाएको छ ।
अर्थमन्त्रीको अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुली नियुक्त
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् । भदौ २४ को मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढीपश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनलाई नियुक्त गरिएको हो । पराजुलीको संयुक्त राष्ट्र संघमा लामो र गहन अनुभव रहेको छ । उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनस्र्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ । मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको कामना गरे ।
सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा 'ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४' कार्यक्रम सम्पन्न गरेको छ । बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । साथै, बैंकको केन्द्रीय कार्यालय र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया भएको थियो । मधेश प्रदेशका ८ जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा छन् । यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिसकेको छ । सोही क्रममा मधेश प्रदेशमा पनि रणनीतिक कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकले पछिल्लो समय डिजिटल तथा ग्राहक केन्द्रित विभिन्न सेवा पनि विस्तार गर्दै आएको जनाएको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिलाई लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यसैगरी, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन् । अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएपछि सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो । भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो । उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन् । उनी बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन् । सिबिफिनको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका उपाध्यायले संस्थाको विकास र सुदृढीकरणमा योगदान पुर्याउँदै आएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको नेतृत्वमा रहेर काम गरेको अनुभवसमेत उनीसँग छ । हाल बैंकिङ क्षेत्रले नीतिगत तथा व्यावहारिक चुनौती सामना गरिरहेको अवस्थामा उपाध्यायको नेतृत्वमा सिबिफिनले आफ्ना नीतिगत प्राथमिकता र भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । उनको नेतृत्वले बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासमा थप योगदान पुग्ने विश्वास सिबिफिनले जनाएको छ ।
दुई सहसचिवले दिए राजीनामा
काठमाडौं । निजामती सेवाका उच्च तहका अधिकारीहरूले बीचमै सेवा छाड्ने क्रम फेरि देखिएको छ । राजपत्रांकित प्रथम श्रेणीका दुई सहसचिव खिमबहादुर रायमाझी र प्रदीपराज अधिकारीले राजीनामा दिएका छन् । पछिल्लो समय सहसचिव तहका अधिकारीहरूबाट राजीनामा आउने क्रम बढिरहेका बेला रायमाझी र अधिकारी पनि सेवाबाट बाहिरिने सूचीमा थपिएका हुन् । उनीहरू दुवै नेपाल प्रशासन सेवाका सहसचिव हुन् । खिमबहादुर रायमाझी २०८० मंसिरमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस भएका थिए । सहसचिव भएपछि उनले गृह प्रशासनअन्तर्गत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनी जाजरकोट र रोल्पाका प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए । रोल्पामा उनको पदस्थापन भएको थियो । रायमाझी प्रशासनतर्फको जिल्ला प्रशासन, सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा काम गरेका अधिकारी हुन् । सहसचिवमा बढुवा भएको करिब तीन वर्ष नपुग्दै उनले राजीनामा दिएका हुन् । यस्तै, प्रदीपराज अधिकारी पनि नेपाल प्रशासन सेवाका सहसचिव हुन् । पछिल्लो समय उनी आदिवासी जनजाति आयोगका सचिवका रूपमा कार्यरत थिए । अधिकारीले यसअघि स्थानीय तह तथा संघीय सरकारका विभिन्न निकायमा प्रमुख प्रशासकीय तथा प्रशासनिक जिम्मेवारी सम्हालिसकेका थिए । लामो प्रशासनिक अनुभव भएका अधिकारीले पनि सेवा छाड्ने निर्णय गरेसँगै निजामती सेवाको उच्च तहमा देखिएको बहिर्गमनको बहस पुनः सतहमा आएको छ । आयोगका एक कर्मचारीका अनुसार अधिकारी काविल र युवा सहसचिव हुन् । ५० वर्षसमेत नकटेका उनले सचिव बन्न सक्ने सहसचिव भएपनि व्यावहारीक कारणले राजीनामा दिनुपरेको आफ्ना सहकर्मीहरूलाई बताएका थिए ।
भाटेकोशी बाढीमा डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित
काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदिनमा आएको १० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको भएको प्रारम्भिक आँकलन गरिएको छ । उक्त विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. विकास देवकोटाले वागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको आँकलन गरिएको जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनालाई झाडापाखा लागेको भेटिएको छ । अन्य स्वास्थ्यम्बन्धी समस्या देखा नपरेको उनले बताए । सचिव देवकोटाले पछिल्लो विपदबाट स्वास्थ्य क्षेत्रले महत्त्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा बन्ने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए । उनले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने र मन्त्रालयले त्यससम्बन्धी योजनाको तयारी गरिरहेको बताए । संरचना निर्माण गर्दा स्वास्थ्यसम्बन्धी समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उनको जोड छ ।
ईभी कारमा गुड्दागुड्दै आगो लागेर मृत्यु भएका को हुन् ?
काठमाडौं । चितवनमा गुड्दागुड्दैको ईभी कारमा आगलागी भएर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । भरतपुर महानगरपालिका १२ बस्ने अन्दाजी ५६ वर्षीय अमर पराजुली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार गोर्खाबाट मृतकका दाइ आउँदै हुनुहुन्छ । उहाँका छोराछोरी विदेशमा हुनुहुन्छ भन्ने खबर प्राप्त भएको छ । उहाँको शव परिवारलाई केही समयमा जिम्मा लगाइन्छ । 'गुडिरहेको ईभी कारमा आफैँ आगलागी भएको हो । सिट बेल्ट लगाएर गएको देखिन्छ,' उनले भने,' ग्यासोलिन कम्पनीको ईभी कार रहेको छ।' आफैँ आगो लगाएर कार चलाउन नसकिने पौडेलको भनाइ छ । शुक्रबार भरतपुर महानगरपालिका - ९ बसन्तचोकस्थित पूर्व - पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।
होल्डिङ सेन्टरमा रहेकालाई घुम्ती स्वास्थ्य टोलीमार्फत सेवा प्रदान गर्न सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती स्वास्थ्य टोलीमार्फत होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि घुम्ती स्वास्थ्य टोलीमार्फत प्रारम्भिक स्क्रिनिङ, नियमित औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै उपचार र फलोअप सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले सम्भावित महामारी वा प्रकोपलाई मध्यनजर गर्दै जीवनजल, व्यक्तिगत सुरक्षा उपकरण, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको पर्याप्त भण्डारण गर्न, स्वच्छ खानेपानी, हात धुने व्यवस्था, भोजन, शौचालय तथा उचित फोहोर व्यवस्थापनका लागि जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यकर्मी परिचालन गरी नियमित अनुगमन गर्न समितिले निर्देशन दिएको छ । बैठकले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको द्रुत चेतावनी प्रणालीमार्फत नियमित निगरानी, तत्काल रिपोर्टिङ र र्‍यापिड रेस्पोन्स टिम परिचालन गरी प्रकोपको तत्काल पहिचान र नियन्त्रण गर्न समेत निर्देशन दिएको छ । बाढीबाट क्षतिग्रस्त बनेका स्वास्थ्य संस्थाहरूको सेवा वैकल्पिक रूपमा सञ्चालन गर्दै प्राथमिकताका आधारमा समयबद्ध पुनर्निर्माण अघि बढाउन , मृतकहरूको सम्मानजनक व्यवस्थापन, पहिचान नभएका शवहरूको वैज्ञानिक अभिलेखीकरण, डीएनए परीक्षण र परिवारलाई समयमै शव हस्तान्तरण गर्न प्रहरी, विधि विज्ञान प्रयोगशाला र स्वास्थ्य मन्त्रालयबीच समन्वय गर्न समेत निर्देशन दिएको छ । बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले महामारी तथा सम्भावित रोगहरूको प्रकोप नियन्त्रणका लागि कुल सातवटा टोली फिल्डमा परिचालन गरिएको जानकारी दिए । झाडापखाला र हैजाविरुद्ध नुवाकोटमा ८० हजार ५२३ डोज र रसुवामा २१ हजार ६०० डोज गरी कुल एक लाखभन्दा बढी डोज पठाइसकिएको उनले बताए ।