इरान युद्धमा ट्रम्पको अडान–‘पछुतो छैन, फेरि पनि आक्रमण गर्नसक्छु’

इरानमाथि आर्थिक दबाब थप कडा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन् । उनले फेरि यस्तो अवस्था आएमा पनि आफूले अहिले गरेकै काम दोहोर्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।

बिहीबार अमेरिकामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमसँग कुरा गर्दै ट्रम्पले मध्यावधि निर्वाचनमा असर पर्ने भए पनि आफूले इरानमाथि आक्रमण गर्ने बताएका हुन् ।

इन्ग्राहमले ट्रम्पलाई ‘यदि इरानविरुद्ध युद्ध सुरु नगरेको भए अहिले मध्यावधि निर्वाचनमा तपाईं सहज रूपमा विजयी हुने अवस्थामा हुनुहुन्थ्यो’ भनेकी थिइन् । त्यसको जवाफमा ट्रम्पले इरानले आणविक हतियार प्राप्त गरेको भए त्यसलाई प्रयोग गर्ने दाबी गरे ।

उनले इरानसँग आणविक हतियार भएको अवस्थामा इस्लामिक गणतन्त्रले इजरायल र मध्यपूर्वलाई ‘समाप्त पार्ने’ तथा अमेरिकी सहरहरूमा समेत आक्रमण सुरु गर्ने दाबी गरे ।

ट्रम्पको यस्तो भनाइ अमेरिकी राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूले इरान युद्ध आफ्नो वर्तमान कार्यकालभन्दा पनि लामो समयसम्म तन्किन सक्ने सम्भावनाबारे छलफल गरेको वाल स्ट्रिट जर्नलको रिपोर्ट सार्वजनिक भएपछि आएको हो । 

यससँगै बजारमा पनि इरान युद्ध लामो समयसम्म चल्नसक्ने चिन्ता बढेको छ ।

ट्रम्पले भने मध्यावधि निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने दाबी गर्दै आएका छन् । उनले युद्ध अन्त्य भएपछि तेल तथा ग्यासको मूल्य पनि घट्ने बताएका छन् । युद्ध छिट्टै अन्त्य हुने दाबी उनले पछिल्ला केही महिनादेखि गर्दै आएका छन् ।

यसैबीच, बिहीबार न्युजनेसनसँगको छुट्टै अन्तर्वार्तामा ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले आफ्ना कैयौं लडाकु विमानमा प्रहार गरेको भन्ने दाबी अस्वीकार गरेका छन् ।

अमेरिकी सैन्य सम्पत्तिमा कुनै क्षति पुगेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘कुनै क्षति भएको छैन, केही पनि भएको छैन’ भन्दै रिपोर्टमा कुनै सत्यता नभएको बताए ।

इरानमाथि आर्थिक दबाब थप कडा

अमेरिकाले इरानलाई उसको आर्थिक सञ्जालबाट अलग पार्ने प्रयासलाई थप तीव्र बनाएको छ । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले आगामी साता ‘ठूलो बैंक’माथि प्रतिबन्ध लगाउने संकेत गरेका छन् ।

बेसेन्टका अनुसार ९११ मा ज्यान गुमाएका अमेरिकी नागरिकहरूको सम्मानमा प्रतिबन्धसम्बन्धी घोषणा सोमबार गरिनेछ । उनले सोमबार हुने कदमलाई नजिकबाट हेर्नसमेत आग्रह गरेका छन् ।

बेसेन्टले इजिप्टको दोस्रो ठूलो बैंकको दुबईस्थित शाखाहरूमा प्रतिबन्ध लगाएर बन्द गरिएको दाबी गरेका छन् । उक्त बैंकले इरानलाई १.८ अर्ब अमेरिकी डलर उपलब्ध गराएको उनको आरोप छ ।

इरानी पक्षलाई रकम उपलब्ध गराउँदै आएको ‘टर्कीको सबैभन्दा ठूलो बैंक’माथि पनि प्रतिबन्ध लगाइएको उनले बताएका छन् । यद्यपि उनले उक्त बैंकको नाम भने खुलाएका छैनन् ।

न्युजनेसनसँगको अन्तर्वार्तामा ट्रम्पलाई वर्तमान आर्थिक दबाबका बीच इरानले कसरी सामना गरिरहेको छ भन्ने प्रश्न पनि गरिएको थियो ।

जवाफमा ट्रम्पले इरानले यो अवस्था कति समयसम्म थेग्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताए । तर उनले मध्यावधि निर्वाचनपछि वा सम्भवतः त्यसअघि नै यो विषय समाधान हुने दाबी दोहोर्याए ।

ट्रम्पले भने, ‘निर्वाचनपछि यो समाधान हुनेछ। वा सम्भवतः त्योभन्दा अगाडि नै । तर निर्वाचन सकिएलगत्तै यो समाधान हुनेछ ।’

Share News