काठमाडौं । सोलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर बनेको ‘ड्याम’बाट पानी बग्न सुरु गरेको छ । पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ‘ड्याम’ बनेको थियो ।
पानी बगेर नर्मल हुँदै गइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार खतरा भने टरिसकेको छैन ।
बिहान करिब ९ः१० बजे खोलामा पहिरोका कारण बनेको ‘ड्याम’को ताल भरिएपछि पानी निकास हुन सुरु भएको हो ।
प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । आज बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुंगा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको थियो ।
प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोसी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराइसकेको छ ।
हाइड्रोपावरमा रहेका कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरेको छ ।