काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो घोषणा गरेका हुन् । उनले काठमाडौं मेडिकल कलेज (केएमसी) र दुवाकोट तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका हुन् । मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको समेत बताए ।
स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने बताए । उनले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पुर्याउन आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘म सभापतिज्यूलाई साक्षी राखेर यो वर्ष मात्रै बिरामी नै पुगेन भन्दा थाहा छैन । यो मुलुकभित्रका पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने एक हजार वटा मेजर अप्रेसनहरू हामी काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर निःशुल्क गर्ने घोषणा गर्न चाहन्छौँ । अब हामीले मेडिकल कलेजमा केही छात्रवृत्तिहरूको घोषणा गर्ने सोचिराखेका छौँ । यो विषयमा दिदीसँग सल्लाह गरेर तपाईंहरूलाई भन्ने छु ।'
उनले पार्टीमा देखिएको विवाद समाधान गरी नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।