ट्रम्पको चेतावनी: 'इरानले सम्झौता नगरे पावर प्लान्ट र पुलहरू ध्वस्त पारिनेछ'
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताएका छन् । उनले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताएका थिए । इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले वार्ताको वातावरण अन्योलपूर्ण अवस्थाको रूपमा देखा परेको छ किनकि ट्रम्पको क्याबिनेटका सदस्यहरूले उपराष्ट्रपति भान्सले नै वार्ताको नेतृत्व गर्ने बताएको थियो । ‘यो केवल सुरक्षाका कारण हो,’ राष्ट्रपति ट्रम्पले एबीसी न्यूजसँग भने, ‘इस्लामिक गणतन्त्रसँग सम्झौता गर्न सक्ने क्षमताको चिन्ताका कारण भान्सलाई इस्लामावाद यात्राबाट हटाइएको भन्ने कुनै पनि धारणा सही होइन ।’ ‘जेडी भान्स महान् (सक्षम) हुनुहुन्छ,’ ट्रम्पले थपे । यसअघि संयुक्त राष्ट्रसङ्घका लागि वाशिङ्टनका दूत माइक वाल्ट्जले एबीसी न्यूजको ‘दिस विक’ कार्यक्रममा भनेका थिए, ‘राष्ट्रपतिले घोषणा गरेजस्तै हाम्रा मुख्य वार्ताकारहरू र उपराष्ट्रपति अर्को चरणको वार्ताका लागि पाकिस्तान यात्रामा जान लाग्नुभएको छ।’ अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले सीएनएनको स्टेट अफ द युनियनसँग भने,‘भान्सले सुरुदेखि नै वार्ताको नेतृत्व गरिरहनुभएको थियो र यस पटक पनि सम्भवतः उहाँ नै जानुहुनेछ ।’ सोमबारदेखि सुरु हुने भनिएको वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन । ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उहाँका ज्वाइँ जारेड कुश्नर अप्रिल ११ मा भएको लामो वार्तामा पाकिस्तान पुगेका थिए । त्यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा इरानले दुई हप्ताको युद्धविरामको पूर्ण उल्लङ्घन गरेको आरोप लगाउँदै कुनै सम्झौता नभए इरानका पावर प्लान्ट र पुलहरू नष्ट गर्ने चेतावनी दिएका थिए । ट्रम्पले आफूले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरेको बताउँदै भनेका थिए, ‘यदि तेहरानले अस्वीकार गरेमा ‘अमेरिकाले इरानका सबै पावर प्लान्ट र हरेक पुल ध्वस्त पार्नेछ । अब कुनै राम्रो विकल्प छैन ’ वाल्ट्जले नयाँ चरणको वार्ताले अविश्वसनीय परिणाम निम्त्याउँछ भन्ने विश्वास व्यक्त गरे। ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि बन्द रह्यो । रणनीतिक जलमार्ग पुनः खोल्ने घोषणा गरेको एक दिनपछि इरानले शनिबार फेरि उक्त मार्ग पानीजहाजका लागि बन्द गरेको घोषणा गरेको थियो। बेलायतको सामुद्रिक सुरक्षा निकायले शनिबार इरानको रिभोलुसनरी गाड्र्सले एउटा ट्याङ्करमाथि गोली चलाएको जनाएको छ भने सुरक्षा गुप्तचर संस्था भ्यानगार्ड टेकले खाडीबाट भागिरहेको एउटा खाली क्रुज जहाजलाई ‘नष्ट’ गर्ने चेतावनी दिएको जनाएको थियो । तेस्रो घटनामा, बेलायतको एक निकायले भनेको थियो, आफूले एक जहाजलाई ‘अज्ञात प्रोजेक्टाइल’ द्वारा आक्रमण भएको रिपोर्ट प्राप्त गरेको थियो । आक्रमणबाट ढुवानी कन्टेनरमा क्षति पुगेको तर आगो नलागेको रिपोर्टमा उल्लेख छ । अमेरिका-इरानबीचको दुई हप्ता लामो युद्धविराम बुधबार सकिँदैछ ।
भारतमा पटाका उद्योगमा आगलागी हुँदा २० जनाको मृत्यु, ६ घाइते
काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका प्रहरीले जनाएको छ । स्थानीय प्रहरी प्रमुख एन श्रीनाथले एएफपीलाई बताएअनुसार तामिलनाडु राज्यको विरुधुनगर जिल्लामा रहेको एक कारखानामा भएको घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । उनले आगलागीको कारण खुल्न नसकेको र उद्धारकर्ताले समाचार तयार पार्दासम्म घटनास्थलमा अझै काम गरिरहेको बताए । भारतमा प्रायः सुरक्षा नियमहरूको कमजोर पालना र कमजोर कार्यान्वयनको कारण औद्योगिक दुर्घटनाहरू हुनुलाई सामान्य रूपमा लिने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत उक्त घटनामा आफ्ना प्रियजन गुमाएका पिडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले एक्समा एक पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र मृत्युको घटना ‘दुःखद’ भएको बताएका छन् । मध्य भारतको एक विद्युत गृहमा यसै हप्ता भएको विस्फोटमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत महिना पनि भारतको पश्चिम क्षेत्रमा रहेको एक पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।
अस्ट्रियामा शिशु आहारमा विष भेटियो, उत्पादन फिर्ता
भिएना । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ र सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ । प्रहरीले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार प्रारम्भिक परीक्षणमै जारमा खतरनाक पदार्थ पुष्टि भएपछि यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिइएको छ । अस्ट्रियाली प्रहरीका अनुसार जफत गरिएका नमूनाहरूको परीक्षण गर्दा मुसाको विष पुष्टि भएको हो । यो घटनालाई लक्षित छेडछाडको आशङ्कासँग जोडेर अनुसन्धान भइरहेको छ । जर्मनीमा मुख्यालय रहेको एचआइपिपी ब्रान्डले यसअघि नै आफ्नो ‘आलुसहित गाजर’ प्युरीमा सम्भावित छेडछाड भएको भन्दै अस्ट्रियाको एसपिएआर सुपरमार्केटबाट बिक्री भएका उत्पादनहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । यो अनुसन्धान जर्मनीमा सुरु गरिएको व्यापक कारबाहीको एक हिस्सा हो, जसअन्तर्गत अस्ट्रिया, चेक गणतन्त्र र स्लोभाकियामा पनि उक्त उत्पादनका जारहरू जफत गरिएको छ । अस्ट्रियाको पूर्वी बर्गेनल्यान्ड प्रान्तस्थित प्रहरीले यो जानकारी सार्वजनिक गर्दै परीक्षणबाट खतरनाक विषादीको पुष्टि भएको जनाएको छ । अस्ट्रियाको खाद्य सुरक्षा निकायले यो घटनालाई सम्भावित फिरौती योजनासँग जोडेर हेरेको छ, जसले शिशु आहार जस्तो संवेदनशील क्षेत्रमा आपराधिक गतिविधिको सङ्केत दिएको छ । अधिकारीहरूले उपभोक्ताहरूलाई उक्त उत्पादन प्रयोग नगर्न र तत्काल खरिद गरिएको स्थानमा फिर्ता गर्न आग्रह गरेका छन् । उक्त जारलाई तल्लो भागमा रातो घेरासहितको सेतो लेबलबाट सजिलै पहिचान गर्न सकिने बताइएको छ । यस घटनाले युरोपमा शिशु खाद्य सुरक्षाबारे बढ्दो चिन्तालाई थप गहिरो बनाएको छ । पछिल्ला महिनाहरूमा पनि विभिन्न बहुराष्ट्रिय कम्पनीहरूले शिशु आहारमा प्रदूषणको आशङ्का गर्दै उत्पादनहरू फिर्ता बोलाउने घटनाहरू भएका छन् । विशेषगरी डिसेम्बरदेखि नेस्टले, डेनोन र ल्याक्टालिसजस्ता कम्पनीहरूले ६० भन्दा बढी देशहरूमा सम्भावित रूपमा टोक्सिन सेरुलाइडबाट दूषित शिशु फार्मुला बजारबाट हटाएका थिए । फ्रान्सेली अधिकारीहरूका अनुसार सेरुलाइडबाट प्रभावित पाउडर दूध सेवन गरेका केही शिशुहरूमा गम्भीर स्वास्थ्य समस्या देखिएको थियो, जसमा बान्ता, वाकवाकी र झाडापखाला जस्ता लक्षण देखिएका थिए र केही घटनामा मृत्यु समेत भएको रिपोर्ट गरिएको थियो । यद्यपि, फ्रान्सेली अभियोजकहरूले जनवरीमा भएको एक शिशुको मृत्यु उक्त दूषित फार्मुलासँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको बताएका छन् । नयाँ घटनाले शिशु खाद्य उत्पादनको आपूर्ति शृङ्खलामा सुरक्षा मापदण्ड अझ कडा बनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ, किनकि यस्ता उत्पादनहरू प्रत्यक्ष रूपमा अत्यन्त संवेदनशील समूह शिशुहरूसँग सम्बन्धित हुन्छन् । रासस