इबोला सङ्क्रमित  मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू  (ग्रीन कार्ड धारकहरू) लगायतका  अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा  कडाइ हुने जनाएको छ ।  विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम  नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगहरूको  विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ ।  नयाँ नियम अन्तरगत, विगत २१ दिन भित्रको समयमा कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइने छ । एजेन्सीका अनुसार हाल यस हप्ताको सुरुमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धहरूको दायरा विस्तार गरेको हो । सोमबार, सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणार्थ ३०–दिनको प्रतिवन्द प्याकेजको अनावरण गरेको थियो जसमा यात्री स्क्रिनि र अनुगमनलाई सुदृढ पार्दै, केही गैर अमेरिकीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धहरू लगाएको थियो ।  नयाँ नियमले स्थायी रूपमा अमेरिका बसोबास गर्ने कार्ड भएकाहरुलाईसमेत  अमेरिका फर्कन पूर्ण रुपमा निषेध गरेको जनाइएको छ । सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोतहरू व्यवस्थापन गर्न आवश्यक उल्लेख गर्दै अस्थायी रूपमा प्रवेश प्रतिबन्ध गर्ने अधिकार एजेन्सीलाई प्रदान गरेको जनाइएको छ । सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हाल सम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै  घटनाहरू रिपोर्ट गरिएको छैन, भने आम जनताका लागि तत्काल जोखिम कम रहेको जनाइएको छ ।  

रिक्शामा डोनाल्ड ट्रम्प

काठमाडौं । नयाँदिल्लीका सर्वसाधारणको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएका अटो-रिक्शाहरू अहिले अमेरिकाको २५०औँ स्वतन्त्रता उत्सव र अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्प–थिमयुक्त प्रचार सामग्रीसहित नयाँ रूपमै देखिन थालेका छन् । तर यस अभियानप्रति सबैको प्रतिक्रिया सकारात्मक छैन ।      भारतको राजधानीमा चल्ने पहेँलो–हरियो तीन पाङ्ग्रे अटो–रिक्शामा अहिले ट्रम्पको अनुहार र अमेरिकी झण्डासहितका कभरहरू प्रयोग भइरहेका छन् । अमेरिकाको दूतावासले उपलब्ध गराएको भनिएको यी कभरहरू हजारौँ सवारी साधनमा प्रयोग हुँदै ‘जन्मदिनको शुभकामना अमेरिका !’ र ‘२५० वर्ष पुरानो’ जस्ता सन्देशसहित प्रदर्शन गरिएको छ । केही डिजाइनमा स्ट्याचु अफ लिबर्टी समेत समावेश गरिएको छ । अमेरिकी राजदूत सर्जियो गोरको पहलमा सुरु गरिएको यो अभियानले भारतीय राजधानीमा सञ्चालित अटो–रिक्शालाई सांस्कृतिक र कूटनीतिक प्रचारको माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्य राखेको बताइएको छ । नयाँदिल्लीस्थित अमेरिकी दूतावासले एएफपीलाई दिएको जानकारीअनुसार हजारौँ अटो–रिक्शामा अमेरिकाको २५०औँ वार्षिकोत्सवका सन्देशहरू प्रदर्शन गरिनेछ ।      यहीबीच, नयाँदिल्लीका २४ वर्षीय चालक तुषारले भीषण गर्मीका बीच रिक्शामा ट्रम्प–थिम कभर जडान गर्ने काम गरिरहेका छन् । उनले आपूर्तिकर्ताबाट दैनिक ६० देखि ७० वटा कभर प्राप्त हुने र प्रत्येक जडान गरेबापत करिब ५० रुपैयाँ आम्दानी हुने बताए ।      तुषारका अनुसार धेरै चालकहरूलाई निःशुल्क कभर प्रयोग गर्न मनाउनुपर्ने अवस्था छ, विशेषगरी उनीहरू सीएनजी इन्धनका लागि लाममा बसिरहेका बेला सानो चियापानी जस्ता प्रोत्साहनले पनि उनीहरूको निर्णय प्रभावित हुने गर्छ । उनले सामान्य जीवनमा यस्ता प्रचार सामग्रीहरू कहिले अचार त कहिले अन्य उपहारसँग तुलना गर्दै ‘उपहारहरू परिवर्तन भइरहन्छन्’ भनी टिप्पणी गरे ।      तर सबै चालक यस अभियानप्रति उत्साहित छैनन् । एक चालकले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा ‘ट्रम्पले सबै कुरा बर्बाद गरेका छन्’ भन्दै असन्तुष्टि व्यक्त गरे । अर्का चालक मुरारी लालले भने निःशुल्क कभर पाए पनि आफूले कुनै अतिरिक्त लागत नबोकेकाले प्रयोग गरेको बताए ।      यो प्रचार अभियान भारतमा इन्धन आपूर्ति र मूल्यबारे चिन्ता बढिरहेका बेला आएको हो । इरानसँग सम्बन्धित भू–राजनीतिक तनाव र हर्मुज जलघाँटीमा देखिएको अस्थिरताका कारण भारतले इन्धन आपूर्तिमा चुनौती सामना गरिरहेको बताइएको छ ।      प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचतका लागि सार्वजनिक कर्मचारीहरूलाई घरबाट काम गर्ने व्यवस्था समेत लागू गर्न आह्वान गरेका छन् । भारत विश्वको तेस्रो ठूलो तेल खरिदकर्ता देश भएकाले यस्ता घटनाक्रमले इन्धन मूल्य र उपभोगमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ ।      इन्धनको मूल्य वृद्धिसँगै व्यावसायिक चालकहरूमा असन्तोष बढेको छ । केहीले भने राजनीतिक र अन्तर्राष्ट्रिय घटनाक्रमलाई दोष दिँदै आफ्नो व्यवसाय प्रभावित भएको गुनासो गरेका छन् ।      यसैबीच, भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विभिन्न सहरहरूमा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनी कोलकाताबाट सुरु हुने भ्रमणपछि नयाँदिल्लीसहित अन्य सहरहरूमा द्विपक्षीय तथा बहुपक्षीय वार्तामा सहभागी हुनेछन् ।      रुबियोको यो भ्रमण सन् १७७६ मा अमेरिकाको स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवसँग पनि जोडिएको छ, जसअन्तर्गत नयाँदिल्लीमा विशेष समारोह आयोजना हुने अपेक्षा गरिएको छ ।      यसैबीच, अमेरिका र भारतबीचको सम्बन्धमा उतारचढाव देखिँदै आएको पृष्ठभूमिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धलाई लिएर पनि विभिन्न राजनीतिक टिप्पणी भइरहेका छन् । विशेषगरी काश्मीर घटनाक्रम र क्षेत्रीय कूटनीतिक मतभेदपछि दुई देशबीचको सम्बन्धमा केही तनाव देखिएको विश्लेषण गरिएको छ । रासस    

गर्मीले भारतमा बिजुलीको माग बढ्यो, २७० गिगावाट नाघ्यो

काठमाडौं । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् ।      भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो ३ः४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ । उक्त समयमा राजधानी नयाँदिल्लीको तापक्रम ४५.३ डिग्री सेल्सियस पुगेको थियो । मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ । यसअघि बुधवार २६५.४४ गिगावाटको रेकर्ड कायम भएको थियो, जसलाई एक दिनमै उछिन्दै नयाँ कीर्तिमान बनेको हो । ऊर्जा मन्त्रालयले बढ्दो तापक्रमका कारण एयर कन्डिसनर, कुलर तथा अन्य शीतलन उपकरणहरूको प्रयोग अत्यधिक बढेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा माग वृद्धिको मुख्य कारण यही भएको उल्लेख गरिएको छ । भारतको कुल विद्युत् उत्पादनमा अझै पनि थर्मल पावर, विशेषगरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ । हाल देशको कुल बिजुली उत्पादनमध्ये ६२ प्रतिशत हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ । सौर्य ऊर्जाबाट २२ प्रतिशत, हावा र जलविद्युत्बाट पाँच प्रतिशत तथा बाँकी अन्य स्रोतहरूबाट उत्पादन भइरहेको छ ।      विश्वकै तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक भारतले सन् २०७० सम्म ‘शुद्ध–शून्य उत्सर्जन’ हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि ठूलो निर्भरता कायम रहेको देखिएको छ । रेकर्ड स्तरमा बिजुली उत्पादन भइरहेको सरकारी दाबीबीच सामाजिक सञ्जाल एक्समा धेरै प्रयोगकर्ताले भने आफ्ना क्षेत्रमा अझै पनि विद्युत् कटौती भइरहेको गुनासो गरेका छन् । अत्यधिक गर्मीका कारण पुराना विद्युत् तार र ट्रान्सफर्मरहरूमा अत्यधिक चाप परेर स्थानीय स्तरमा ब्ल्याकआउट हुने जोखिम बढिरहेको बताइएको छ ।      दक्षिण एसियाको एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा अप्रिलदेखि जुनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ । वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन् ।      भारतको मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश राज्यको बान्दा सहरमा अधिकतम तापक्रम ४७.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो हप्ताको सुरुआतमा त्यही क्षेत्रमा पुगेको ४८.२ डिग्री सेल्सियसभन्दा केही कम भए पनि अवस्था अझै अत्यन्त गर्मीपूर्ण रहेको विभागले जनाएको छ ।      भारतमा हालसम्म आधिकारिक रूपमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम राजस्थानको फलोदीमा सन् २०१६ मा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस हो ।      यसैबीच, अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म ‘एक्युआई’ ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा तातो ५० सहरमध्ये सबै भारतमै रहेको उल्लेख गरेको थियो । तापक्रम, सौर्य विकिरण, हावाको अवस्था, वर्षा र आद्र्रतासहितका विभिन्न सूचकलाई आधार बनाएर तयार गरिएको दैनिक ‘गर्मी सूचकाङ्क’ मा भारतीय सहरहरू अत्यधिक तापको चपेटामा परेको देखाइएको थियो । रासस