सामसुङ र श्रमिक संघबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास

काठमाडौं । दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र त्यहाँको श्रमिक संघबीच बुधबार पुनः वार्ता सुरु भएको छ । सम्भावित ठूलो हड्ताल रोक्न श्रममन्त्री स्वयं मध्यस्थकर्ताको भूमिकामा सहभागी भएका छन् । विश्वकै अग्रणी स्मृति चिप उत्पादक कम्पनी सामसुङमा बोनस वितरणको विषयमा व्यवस्थापन र श्रमिक सङ्घबीच विवाद बढेपछि संघले बिहीबारदेखि हड्ताल सुरु गर्ने चेतावनी दिएको थियो । यसले अर्धचालक उत्पादनमा गम्भीर असर पर्न सक्ने चिन्ता बढाएको छ । यो हड्ताल सन् २०२४ मा भएको हड्तालभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ । त्यतिबेला करिब ६ हजार कामदार आन्दोलनमा सहभागी भएका थिए । यसपटक भने कम्पनीले कृत्रिम बुद्धिमत्ताबाट प्रेरित प्रविधि बजारको तीव्र विस्तारका कारण ठूलो नाफा कमाइरहे पनि त्यसको उचित हिस्सा कामदारलाई नदिएको भन्दै असन्तोष चर्किएको छ । दक्षिण कोरियाको श्रम मन्त्रालयका अनुसार बुधबार दिउँसो पुनः वार्ता सुरु गरिएको हो । सरकारको प्रयास हड्ताल टार्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ ।  सामसुङले यस वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा करिब ७५० प्रतिशतले बढेको जनाएको थियो । साथै, मे महिनामा कम्पनीको बजार मूल्य पहिलो पटक १ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको थियो । श्रमिक संघले वार्षिक तलबको ५० प्रतिशतमा सीमित गरिएको बोनस सीमा हटाउन र कम्पनीको सञ्चालन नाफाको १५ प्रतिशत बोनसका रूपमा वितरण गर्न माग गरेको छ । संघले बुधबार जारी गरेको वक्तव्यमा राष्ट्रिय श्रम सम्बन्ध आयोगले अघि सारेको मध्यस्थता प्रस्ताव आफूहरूले स्वीकार गरेको तर कम्पनी व्यवस्थापनले अस्वीकार गरेको जनाएको छ । त्यसपछि संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबारदेखि कानुनी रूपमा आम हड्ताल सुरु गर्ने घोषणा गरेको हो । संघका कानुनी सल्लाहकारका अनुसार करिब ५० हजार ५ सय कामदार १८ दिनसम्म उत्पादन लाइनबाट बाहिरिने तयारीमा छन् । यता कम्पनी व्यवस्थापनले भने श्रमिक संघका माग अत्यधिक भएको र ती माग स्वीकार गर्दा कम्पनी सञ्चालनको आधारभूत सिद्धान्त नै कमजोर हुने प्रतिक्रिया दिएको छ । यो विवादले दक्षिण कोरियामा व्यापक चिन्ता पैदा गरेको छ, किनभने अर्धचालक उद्योग देशको अर्थतन्त्रको मुख्य आधार मानिन्छ । कुल निर्यातको करिब ३५ प्रतिशत हिस्सा अर्धचालक क्षेत्रबाट आउने गर्छ । राष्ट्रपतिको कार्यालयले यसअघि वार्ता असफल भएकोप्रति 'गहिरो दुःख' व्यक्त गर्दै सम्भावित आर्थिक असरलाई ध्यानमा राखी दुवै पक्षलाई संवाद जारी राख्न आग्रह गरेको थियो । राष्ट्रपति ली जे म्युङले मन्त्रिपरिषद् बैठकमा श्रमिक आन्दोलन 'निश्चित सीमाभित्र' रहनुपर्ने बताएका थिए । विशेषज्ञहरूका अनुसार सामसुङको उत्पादन आंशिक रूपमा मात्रै रोकिए पनि त्यसले विश्वव्यापी प्रविधि आपूर्ति शृंखलामा असर पार्न सक्छ । यद्यपि, श्रमिक संघले मर्मत तथा उपकरण परीक्षणका कारण यसअघि पनि उत्पादन अस्थायी रूपमा रोकिएको उदाहरण दिँदै वर्तमान आन्दोलनलाई सामान्य औद्योगिक प्रक्रिया भित्रकै विषय भएको दाबी गरेको छ । यदि हड्तालले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा उत्पन्न गर्ने देखिए सरकारसँग आपत्कालीन मध्यस्थता अधिकार प्रयोग गरेर औद्योगिक आन्दोलन रोक्ने कानुनी अधिकार पनि रहेको बताइएको छ । रासस  

भारतमा तहल्का पिट्दै कक्रोच पार्टी, कसरी जन्मियो ?

काठमाडौं । छिमेकी मुलुक भारतको राजनीतिमा अनेकौं उतारचढाव, ‍र्याली र नयाँ पार्टीहरूको उदय हुनु कुनै नौलो कुरा होइन । तर, हालैका दिनमा भारतीय सामाजिक सञ्जालको भित्तामा ‘कक्रोच जनता पार्टी’ ले निकै तहल्का मच्चाइरहेको छ । ककरोच जनता पार्टीको नाम सुन्दा धेरैलाई हासो लाग्न सक्छ, यसले अचम्ममा पनि पार्न सक्छ । भान्साको कुनामा लुकेर बस्ने साङ्ग्लो (कक्रोच) को नाममा राजनीतिक पार्टी ? सुन्दा ठट्टा वा कुनै ‘मिम’ जस्तो लाग्ने यो नाम यतिबेला भारतका युवाहरूमाझ निकै चर्चाको विषय बनेको छ । यो पार्टी किन चर्चामा आयो ? यसका फलोअर्स किन र कसरी बढिरहेका छन् ? यसको पछाडि कसको दिमाग छ र यसले सामाजिक सञ्जालको शक्तिलाई कसरी उजागर गरिरहेको छ ? यिनै विषयमा आधारित भई हामीले खोतल्ने प्रयास गरेका छौं । कक्रोच जनता पार्टी कुनै परम्परागत निर्वाचन आयोगमा दर्ता भएको र चुनाव लड्न तम्सिएको राजनीतिक दल होइन, यो त डिजिटल युगको एउटा यस्तो सटायरिकल अझ भनौं व्यङ्ग्यात्मक आन्दोलन हो, जसले भारतको वर्तमान राजनीतिक अवस्था, दलहरूको खोक्रा आश्वासन र मिडिया सर्कसलाई कडा व्यङ्ग्य गरिरहेको छ । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले भारतका केही बेरोजगार युवाहरूको हर्कतमाथि  कक्रोच भन्दै गरेको टिप्पणी गरेका थिए । सोही टिप्पणीलाई दीपकले सिरियस्ली लिएका हुन्। यसको नाम ‘कक्रोच’ राख्नुको पछाडि एउटा गज्जबको दर्शन लुकेको छ । कक्रोच एउटा यस्तो जीव हो, जो जस्तोसुकै कठिन परिस्थिति, आणविक विस्फोट वा महाविपत्तिमा पनि जीवित रहन सक्छ ।  यो पार्टीका अनुसार भारतीय जनता पनि कक्रोच जस्तै हुन् । महँगी, बेरोजगारी, भ्रष्टाचार र नेताहरूको झूटो आश्वासनको मार खेपेर पनि जसोतसो बाँचिरहेका छन् । यही तीतो यथार्थ र व्यङ्ग्यको सम्मिश्रणका कारण यो पार्टी सामाजिक सञ्जालमा रातारात भाइरल भएको हो । सामाजिक सञ्जालको तागत र ह्वात्तै बढेका फलोअर्स कुनै समय राजनीति गर्नका लागि ठूला-ठूला आमसभा, करोडौंको विज्ञापन र कार्यकर्ताको ठूलो फौज चाहिन्थ्यो । तर कक्रोच जनता पार्टीले प्रमाणित गरिदिएको छ कि आजको युगमा ‘कन्टेन्ट’ र ‘कनेक्सन’ नै सबैभन्दा ठूलो शक्ति हो । इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबमा यो पार्टीका रिलहरू र पोस्टहरू डढेलो झैं फैलिरहेका छन् । छोटो समयमै यसका फलोअर्स लाखौं पुगिसकेका छन् र प्रत्येक भिडियोमा मिलियन बढी भ्युज आउने गरेको छ । इन्टाग्राममा कक्रोच जनता पार्टीका ११.४ मिलियन फलोवर्स छन् भने भारतीय जनता पार्टीका ८.७ मिलियन, आम आदमीको १.९ र कंग्रेसको १३.३ मिलियन रहेका छन् । यसका फलोअर्सहरूमा अधिकांश १८ देखि ३५ वर्षका युवाहरू छन्, जो परम्परागत राजनीतिबाट दिक्क भइसकेका छन् । यस पार्टीले गर्ने ‘डिजिटल ‍र्याली’, जारी गर्ने ‘घोषणापत्र’ र बनाउने ‘मिम्स’ यति सान्दर्भिक र हाँस्यास्पद हुन्छन् कि मानिसहरू नचाहँदा नचाहँदै पनि यसको फलोअर्स बन्न पुग्छन् । यसको पछाडि कसको हात छ ?  अनौठो र नवप्रवर्तनकारी अवधारणाको पछाडि भारतका प्रख्यात डिजिटल कन्टेन्ट क्रिएटर तथा कमेडियन अभिजीत दीपकेको दिमाग छ । उनी नै यस कक्रोच जनता पार्टीका स्वघोषित ‘राष्ट्रिय अध्यक्ष’ वा मुख्य अनुहार हुन् । अभिजीत दीपके भारतको डिजिटल मिडिया र राजनीतिक सटायर (व्यङ्ग्य) को दुनियाँमा नयाँ नाम होइनन । उनी एक शिक्षित, सचेत र राजनीतिक मामिलालाई नजिकबाट बुझ्ने युवा हुन् ।  सामाजिक सञ्जालमा सक्रिय हुनुअघि उनी पत्रकारिता, मिडिया विश्लेषण र डिजिटल मार्केटिङसँग जोडिएका थिए । उनी लामो समयदेखि विभिन्न सामाजिक–राजनीतिक मुद्दाहरूमा आफ्ना तिखा टिप्पणीहरूका लागि चिनिन्थे । उनले समाजका विसंगतिहरूलाई सिधा गाली गर्नुभन्दा हास्य र व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्दा जनताले बढी रुचाउने तथ्यलाई बुझे र कक्रोच जनता पार्टीको स्थापना गरे । अभिजीत दीपकेको उद्देश्य कुनै वास्तविक चुनाव जितेर सत्तामा पुग्नु होइन । युवामा राजनीतिक चेतना जगाउनु, सिस्टमको ऐना देखाउनु, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु उनको उद्देश्य हो । उनको दर्शन छ- ‘जब प्रणाली आफैमा एउटा ठट्टा बन्न पुग्छ, तब त्यसलाई सुधार्नका लागि ठट्टैठट्टामा गम्भीर प्रश्नहरू सोध्नुपर्ने हुन्छ ।’ दीपकेले कक्रोचजनता पार्टी नामको एक वेबसाइट पनि बनाएका छन् । जसमा मानिसहरू जोडिने क्रम जारी नै छ । सामाजिक सञ्जालको तागत कक्रोच जनता पार्टीको यो लहरले आधुनिक लोकतन्त्रमा सामाजिक सञ्जालको तागत देखाउँछ । आजको डिजिटल युगमा सामाजिक सञ्जाल वैकल्पिक मिडिया र विचार निर्माणको सबैभन्दा ठूलो हतियार बनेको छ । राजनीतिक दलहरूलाई एउटा सानो सन्देश फैलाउन लाखौं रुपैयाँ खर्च गर्नुपर्छ तर अभिजीत दीपकेले एउटा कोठामा बसेर बनाएको रिलले करोडौं जनताको मन छोइरहेको छ । यो सबै सामाजिक सञ्जालकै देन हो, कमाल हो ।  सामाजिक सञ्जालको एल्गोरिदमले जनताले के मन पराउँछन् भन्ने कुरा ट्र्याक गर्छ । कक्रोच जनता पार्टीको कन्टेन्टमा जनताको वास्तविक पीडा र हाँसो मिसिएको हुनाले यसलाई सामाजिक सञ्जालका प्लेटफर्महरूले आफै प्रवर्द्धन गरिरहेका हुन् ।

सामसुङमा तलब विवाद चर्कियो

काठमाडौं । दक्षिण कोरियाको प्रविधि क्षेत्रमा विश्वस्तरीय प्रभाव राख्ने कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा तलबसम्बन्धी वार्ता असफल भएपछि हडतालको सम्भावना तीव्र बनेको छ । व्यवस्थापन र युनियनबीच बुधबार अन्तिम चरणको वार्ता निष्कर्षविहीन रूपमा टुङ्गिएपछि देशको प्रमुख चिप तथा इलेक्ट्रोनिक्स उद्योगमा ठूलो अवरोध आउने चिन्ता बढेको छ ।      श्रमिक प्रतिनिधिहरूले कृत्रिम बौद्धिकता (एआई) मा आधारित विश्वव्यापी मागका कारण कम्पनीको नाफा उल्लेखनीय रूपमा बढे पनि कर्मचारीलाई उचित क्षतिपूर्ति नदिएको आरोप लगाएका छन् । लगभग ७४ हजार कामदारको प्रतिनिधित्व गर्ने युनियनले माग पूरा नभए बिहीबारदेखि १८ दिनसम्म हडताल सुरु गर्ने घोषणा गरेको छ ।      यसबीच सरकार पनि सक्रिय बनेको छ । अधिकारीहरूले सामसुङमा सम्झौता गराउन दुर्लभ रूपमा प्रयोग गरिने आपतकालीन अधिकार प्रयोग गर्ने चेतावनी दिएका छन् । सरकारको भनाइमा, सम्भावित हडतालले सेमिकन्डक्टर उत्पादनलाई प्रभावित पार्दै देशको निर्यात–निर्भर अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ । वार्ताको पछिल्लो चरण पनि कुनै सहमति बिना समाप्त भएपछि युनियनका नेता चोई सुङ–होले पत्रकारहरूसँग हडताल अपरिहार्य भएको बताए । उनका अनुसार व्यवस्थापनले सरकारी मध्यस्थता प्रस्ताव अस्वीकार गरेको आरोप युनियनले लगाएको छ, यद्यपि त्यस प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।      उता सामसुङ व्यवस्थापनले भने युनियनका मागहरू अत्यधिक रहेको दाबी गरेको छ । विशेषगरी घाटामा रहेका एकाइहरूमा पनि उच्च क्षतिपूर्ति प्याकेज मागिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ । दुवै पक्षले वार्ता जारी राख्ने इच्छा व्यक्त गरे पनि निकट भविष्यमा पुनः बैठक बस्ने सम्भावना स्पष्ट छैन ।      सामसुङ इलेक्ट्रोनिक्स स्मार्टफोन, उपभोक्ता इलेक्ट्रोनिक्स र सेमिकन्डक्टर उत्पादनमा विश्वकै अग्रणी कम्पनीमध्ये एक हो । यसको क्रस–टाउन प्रतिस्पर्धी एसके हाइनिक्ससँग मिलेर यसले विश्वको करिब दुई–तिहाइ मेमोरी चिप उत्पादन नियन्त्रण गर्दछ, जुन एआई प्रविधिको तीव्र विस्तारसँगै उच्च मागमा छ ।      कम्पनीले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरी–मार्च त्रैमासिकमा यसको सञ्चालन नाफा आठ गुणा बढेर ५७२ खर्ब वन (करिब ३८ अर्ब अमेरिकी डलर) पुगेको छ । यद्यपि युनियनले यही नाफाको आधारमा कर्मचारीलाई लाभ वितरण सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ ।      युनियनको प्रस्तावअनुसार कम्पनीले वार्षिक सञ्चालन नाफाको १५ प्रतिशत कर्मचारी बोनसका रूपमा छुट्याउनुपर्ने र हाल लागू ५० प्रतिशत तलब सीमाको बोनस क्याप हटाउनुपर्ने माग गरिएको छ । व्यवस्थापनले भने सेमिकन्डक्टर उद्योगको अत्यधिक उतारचढावयुक्त प्रकृतिका कारण यस्तो माग व्यावहारिक नभएको दाबी गरेको छ ।      सरकारका उच्च अधिकारी, प्रधानमन्त्री किम मिन–सिओकले आइतबार टेलिभिजन सम्बोधनमार्फत हडतालले सामसुङको जटिल उत्पादन प्रणालीमा बाधा पुर्‍याएर करिब एक हजार खर्ब वन (६६ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक क्षति हुन सक्ने चेतावनी दिए ।      यसैबीच अदालतले पनि हस्तक्षेप गर्दै कम्पनीको अनुरोध आंशिक रूपमा स्वीकार गरेको छ । सुवन जिल्ला अदालतले युनियनलाई सुविधामा क्षति नपुग्ने गरी निश्चित कर्मचारी सङ्ख्या कायम राख्नुपर्ने आदेश दिएको छ । साथै, प्रमुख उत्पादन केन्द्र र कार्यालयहरू कब्जा गर्न पनि रोक लगाइएको छ, जसले सम्भावित हडतालको स्वरूपलाई कानूनी सीमाभित्र राख्ने प्रयास गरिएको छ । रासस