मर्जपछि बनेको पोखरा फाइनान्सको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा अजय कुमार मिश्र
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) एकीकृत कारोबार सुरु गरेपश्चात् नयाँ सञ्चालक समिति गठन भएको छ । मर्जपछि बनेको ‘पोखरा फाइनान्स लिमिटेड’ को सञ्चालक समितिले पूर्णता पाएको हो । फाइनान्सको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ कार्यसमिति गठन गरेको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा अजय कुमार मिश्र चयन भएका छन् । यस्तै, सञ्चालक समितिमा सुदिप घिमिरे, प्रतिक गुरुङ्ग, पद्मोदय प्रालीको तर्फबाट दिनेश कुमार वर्तोला, दुर्गा थापा, तिल बहादुर गुरुङ्ग र याम बहादुर सुर्खाली चयन भएका छन् । मर्जरपश्चात् फाइनान्सको चुक्ता पुँजी वृद्धि भएको छ भने शाखा सञ्जाल र व्यवसायको आकार पनि विस्तार भएको छ । पोखरा फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २८ मा रहेको छ । कम्पनी सचिवमा विनोदराज पौडेल नियुक्त यसैगरी, सञ्चालक समितिको सोही बैठकले संस्थाको कम्पनी सचिवमा विनोदराज पौडेललाई नियुक्त गरेको छ । पौडेल हाल पोखरा फाइनान्स लिमिटेडको नायब महाप्रबन्धक पदमा कार्यरत छन् । उनलाई कम्पनी सचिवको अतिरिक्त जिम्मेवारी दिइएको हो । फाइनान्सले मर्जरपश्चात् सञ्चालक समिति गठन र कम्पनी सचिव नियुक्ति सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरूलाई गराइसकेको छ । नेपाल राष्ट्र बैंकको मर्जर र एक्विजिसन नीतिलाई आत्मसाथ गर्दै यी दुई फाइनान्स कम्पनीहरू एक आपसमा गाभिएका हुन् । मर्जरपश्चात् संस्थाको वित्तीय अवस्था सुदृढ हुने र सेवाग्राहीलाई थप परिष्कृत बैंकिङ सेवा प्रदान गर्न सहज हुने विश्वास लिइएको छ ।
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ
काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीन मान सिंह प्रधान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहेका छन् । नेपाल सरकारले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो ।
लुम्बिनी विकास बैंकको सीईओ बने सुमन आचार्य
काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २४ गते बसेको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिए । कम्पनी सचिव सुवेदीका अनुसार नवनियुक्त सीईओ आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको हो । आचार्य हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत छन् । बैंकका सीईओ नरेशसिंह बोहराको दुई कार्यकाल साउनमा सकिन लागेको छ । उनलाई वि.सं. २०७९ असार ३० गते बसेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।