फोनेपेको सीईओमा दिवस कुमार थप ४ वर्षका लागि पुनः नियुक्त
काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको घोषणा गरेको छ । यस निर्णयले संस्थागत नेतृत्वको निरन्तरतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ । सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी फोनेपेको प्रारम्भिक टोलीका सदस्यसमेत हुन् । उनले प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको छ । प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकको रूपमा सुरु भएको संस्था अहिले नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।
एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त
काठमाडौं । एफवानसफ्ट इन्टरनेशनलले २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ । पौडेलले सह–संस्थापक तथा निर्देशक सुबास शर्मापछि सीईओको जिम्मेवारी सम्हाल्नेछन् । शर्माले एक दशकभन्दा बढी समय उक्त भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए । उनले एफवानसफ्ट ग्रुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फोनपे लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए । कम्पनीका अनुसार शर्माले अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट ग्रुपको रणनीतिक दिशानिर्देशनमा योगदान पुर्याउनेछन् । हाल फोननेक्स्ट प्रालिका सीईओ रहेका पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन् । एफवानसफ्ट ग्रुपमा आबद्ध हुनुअघि उनले नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै पेमेन्ट टेक्नोलोजी म्यानेजमेन्ट तथा डिजिटल ट्रान्सफर्मेसन कार्यक्रमको नेतृत्व गरेका थिए । उनी दुई दशकभन्दा बढी अनुभव भएका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका अनुभवी विज्ञ मानिन्छन् । निवर्तमान सीईओ सुबास शर्माले कम्पनीले २२ वर्षमा निर्माण गरेको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी यात्रामा सनत पौडेलको नेतृत्वप्रति पूर्ण विश्वास रहेको बताए । नवनियुक्त सीईओ पौडेलले एफवानसफ्टको २२ वर्षे यात्राको महत्वपूर्ण मोडमा नेतृत्व गर्ने अवसर पाउनु गर्वको विषय भएको उल्लेख गर्दै कम्पनीको प्रविधि नेतृत्वलाई अझ मजबुत पार्ने, सेवा विस्तारलाई तीव्र बनाउने र नेपालको फिनटेक दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रतिबद्धता जनाए । नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एफवानसफ्टले इसेवा, फोनपे लगायतका सेवा मार्फत डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्म विकास गर्दै देशको वित्तीय पहुँच विस्तारमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले तेस्रो दशकमा प्रवेशसँगै आफ्नो संस्थागत क्षमता थप सुदृढ बनाउने, नेपालभित्र प्रभाव विस्तार गर्ने र फिनटेक क्षमतालाई विश्वव्यापी स्तरमा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
निर्धन उत्थान लघुवित्तका सीईओ दाहाल बाहिरिए, कार्कीलाई कामु सीईओ जिम्मेवारी
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनी सचिव जग्य प्रसाद पन्तका अनुसार उनलाई वैशाख ४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि आज वैशाख ३ गते समाप्त भएको कम्पनीले जनाएको छ । यससँगै संस्थाको दैनिक सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हालका लागि कामु सीईओ कार्कीले सम्हाल्ने भएका छन् ।