ग्रीन डेभलपमेन्ट बैंकको डीसीईओमा विकास ढुंगाना नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको २५६औँ सञ्चालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरा महानगरपालिका–५, कास्की निवासी ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार ढुंगानालाई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । ग्रीन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त पाँच जिल्लामा कार्यक्षेत्र भएको विकास बैंक हो । बैंकको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ ।
नेशनल हाइड्रोको स्वतन्त्र सञ्चालकमा शर्मा, कम्पनी सचिवमा दनुवार नियुक्त
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्त गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी पनि तोकेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारी अनुसार भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन, २०६३ बमोजिम डा. पवनकुमार शर्मालाई स्वतन्त्र सञ्चालकमा सर्वसम्मत रूपमा नियुक्त गरेको हो । त्यसैगरी लामो समयदेखि रिक्त रहेको कम्पनी सचिव पदमा कम्पनीका लेखा तथा प्रशासन प्रमुख सुवास दनुवारलाई एक वर्षका लागि जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी दुवै नियुक्ति भदौ २९ गते बसेको सञ्चालक समितिको सर्वसम्मत निर्णयअनुसार गरिएको हो ।
नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का चयन
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का चयन भएका छन् । संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउँदै सञ्चालक समितिको भदौ २९ गते बसेको २१२औं बैठकले सर्वसम्मत रूपमा खड्कालाई अध्यक्ष चयन गरेको जनाएको हो । यसअघि अध्यक्ष रहेका रविन सिजापती नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहेका थिए । उनी बैंकबाट अलग भई अर्को वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएपछि अध्यक्ष पद रिक्त भएको थियो । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, एकीकृत निर्देशन २०८२ तथा संस्थाको नियमावलीअनुसार कायम रहेका सञ्चालकमध्येबाट क्षितिज खड्कालाई अध्यक्ष चयन गरिएको संस्थाले जनाएको छ । नेशनल लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो ।