इसेवाको सीईओमा निरज शर्मा नियुक्त

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले निरज शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो ।

इसेवाको सञ्चालक समितिले भदौ ३० गते बसेको बैठकबाट शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीका अनुसार शर्मासँग बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ । उनले ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण र रिटेल बैंकिङ क्षेत्रमा काम गरेका छन् । इसेवाले उनको नेतृत्वमा कम्पनीको डिजिटल सेवा र ग्राहक अनुभव अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ । 

जगदीश खड्काको कार्यकाल सकियो

इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । उनी २०७९ असोज १२ गते सीईओ बनेका थिए ।

कम्पनीका अनुसार खड्काको नेतृत्वमा इसेवाले डिजिटल भुक्तानी सेवाको दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ । उनको कार्यकालमा इसेवाका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख र मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ ।

यस अवधिमा इसेवाले डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस एप, इन्टेन्ट पे, बीमा सेवा लगायत नयाँ डिजिटल सेवा थप गरेको कम्पनीले जनाएको छ । दृष्टिविहीन प्रयोगकर्ताका लागि ‘टकब्याक’ फिचर र नेपाली भाषामा एप सञ्चालन पनि यही अवधिमा सुरु गरिएको थियो ।

कम्पनीले खड्काले इसेवाको डिजिटल विस्तार र समावेशी वित्तीय सेवामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको आगामी यात्राको सफलताको शुभकामना दिएको छ ।

Share News