नेपाल प्रहरीले ४७८ प्राविधिक पदमा भर्ना खुलायो
काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४७८ संख्यामा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदका लागि आवेदन माग गरिएको हो । प्रहरीका अनुसार इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर तथा अटोमोबाइल क्षेत्रमा भर्ना खुलाइएको छ। त्यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा समेत आवेदन आह्वान गरिएको छ। कुल मागमध्ये प्रहरी जवान पदमा २८० जना र अन्य प्राविधिक पदमा १२९ जना आवश्यक रहेको जनाइएको छ। दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ। त्यसैगरी, प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
समस्याग्रस्त नेपाल शेयर मार्केट्सका लागि नयाँ संयोजकको खोजी सुरु
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले संयोजक पदका लागि आह्वान गरेको हो । व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा इच्छुक योग्य नेपाली नागरिकले वैशाख ९ गतेभित्र आवेदन दिनुपर्नेछ । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको, बैंकिङ सम्बन्धी क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । एक वर्ष सेवा अवधि रहेको उक्त पदका लागि १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक तोकिएको छ । यसमा दशैं खर्च बराबरको अतिरिक्त भत्ता र वार्षिक १२ दिन विदा प्रदान गरिने व्यवस्था छ ।
अपि पावर कम्पनीको सीईओमा शिशिर भट्टराई नियुक्त
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार उनको कार्यकाल चैत १७ गतेदेखि लागू हुनेगरी सुरु भएको छ ।