विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी, संग्रहालय पनि स्थापना हुने

मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । यो उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको हो । मजदुर हड्तालका नामबाट विसं २००३ मा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो । पटक–पटक बन्द हुँदै खुल्दै आएको जुट मिल सञ्चालनको जिम्मा पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई दिइएको थियो । हरेक वर्ष नेपाल सरकारलाई रु एक करोड ३५ लाख बुझाउने गरी विमसमलाई सञ्चालन गर्न दिइए पनि विद्युत्भार कटौतीका कारण लामो समय सञ्चालन हुन सकेन । २०६९ सालबाट लिजमा २५ वर्षका लागि जुट मिल सञ्चालन गर्न पाएपनि विमसमले जम्मा एक वर्ष ३ महिना मात्रै सञ्चालन गरेको थियो । त्यसयता यो ऐतिहासिक उद्योग बन्द थियो । जुटमिल सञ्चालनका लागि प्रधानमन्त्री र मन्त्रीले विभिन्न आश्वासन दिएको भएपनि पूरा नभएको जुटमिल प्रशासनको गुनासो छ । जुट मिल बन्द हुँदा यसक्षेत्रका धेरै युवाहरूको रोजगारी गुमेको छ । “यो उद्योग विराटनगरको दक्षिण क्षेत्रका बासिन्दाका लागि प्राण नै थियो”–विराटनगर वडा नं १६ का नवनिर्वाचित वडाध्यक्षसमेत रहेका उद्योगका पूर्वमजदुर मनोज सुब्बाले भन्नुभयो, “अब जसरी भएपनि सञ्चालन हुनुपर्छ भनेर हामीले पनि दबाब दियौं, अब चाहिँ सञ्चालन हुने निश्चित भएको छ ।” जुट मिलका निर्देशक राजेन्द्र कार्कीका अनुसार सरकारले धेरै पटक आश्वासन दिए पनि पूरा गर्न नसकेको र अब मिल प्रशासन आफैले पहलकदमी लिएर मंसिरदेखि सञ्चालन गर्ने र यसलाई अब निरन्तरता दिइने बताए । “देशको औद्योगिक इतिहासमात्रै होइन राजनीतिक क्रान्तिसँग साइनो गाँसिएको यो उद्योग अब सञ्चालन हुन्छ”–उनले थपे, “त्यसका लागि ३३ केभीए विद्युत् प्रशारण लाइन जडान गर्न विद्युत प्राधिकरणले अनुमतिसमेत दिइसकेको छ ।” यसअघि ११ केभिए प्रशारण लाइनको विद्युत्ले काम नगरेपछि उत्पादन बन्द गरिएको हो । ११ केभीएमा कम भोल्टेज आउँदा उत्पादनमा समस्या भएको थियो । ३३ केभीए विद्युत् जडान भएपछि भोल्टेजको समस्या पनि नआउने र विद्युत्भार कटौती पनि कम हुनेछ । अबको हप्तादिन भित्रै मेसिनको मर्मत शुरु गर्ने निर्देशक कार्कीले जानकारी दिए । औद्योगिक संग्रहालय स्थापना गरिने कार्कीका अनुसार विराटनगर जुटमिल परिसरभित्रै छिट्टै नेपालको पहिलो औद्योगिक संग्रहालयसमेत स्थापना गरिनेछ । जुटमिल सञ्चालनले निरन्तरता पाउने र प्रतिदिन २० टनको दरले उत्पादन गर्दा वार्षिक २९ करोड नाफा गर्ने सञ्चालक समितिले अनुमान गरेको छ । जुट मिल पूर्णरुपमा सञ्चालन हुने हो भने तीन हजार ५०० ले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुन्छ । भारतको कोलकाताको विमसम इन्टरनेशनलले सरकारबाट व्यवस्थापकीय जिम्मा पाएको करिब एक वर्षपछि रु आठ करोड खर्च गरेर पुराना पार्टपुर्जा मर्मतपछि परीक्षण उत्पादन सुरु गरेको थियो । दैनिक आठ मेट्रिक टन जुट व्याग उत्पादन गरिरहेको मिल व्यवस्थापनले तयारी जुटवस्तु भारत निकासीसमेत गर्न थालेको थियो । तर विद्युत्मा देखिएको समस्याका कारण विमसमले समेत मिल सञ्चालन गर्न सकेन र व्यवस्थापकीय जिम्मेवारीबाट हात झिक्यो । त्यसयता लगातार उद्योग बन्द हुँदा स्थानीयसमेत चिन्तित थिए । मिल सञ्चालनको चर्चा सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । खासगरी मिल क्षेत्रका बासिन्दा बढी खुसी देखिएका छन् । मिल बन्द भएपछि मिल्सएरियाबाट थुप्रै व्यापारी पलायन भएका थिए । “अब मिल सञ्चालन भयो भने कम्तिमा मिल्स एरिया पहिलाकै लयमा फर्किन्छ कि भन्ने आशा गर्न सकिन्छ”–स्थानीय जसमान राई भन्नुहुन्छ, “मिल सञ्चालन हुँदा यो क्षेत्रमा होटल, व्यापार, व्यवसाय सञ्चालन मात्रै होइन, घर भाडासमेत सहजै लाग्ने गथ्र्यो । तर अहिले त्यस्तो छैन । सबै यो क्षेत्रबाट पलायन भएका छन् ।” विराटनगर जुटमिल पुनः सञ्चालन भयो भने घरमा दीप प्रज्वलन गर्ने उनले सुनाए । उद्योग बन्द हुँदा जग्गाको समेत संरक्षण हुन नसकेको स्थानीय मणिराम कामतको भनाइ छ । रासस

औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने

भद्रपुर । स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट झापाको भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने प्रतिबद्धता जाहेर गरेका छन् । संवाद समूह झापाद्वारा आज आयोजित ‘विजयी प्रतिनिधिसँगको जिम्मेवारी, जनअपेक्षा, प्राथमिकता चुनौती, समस्या र समाधान’ विषयको एकदिने छलफल कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठले समग्र नगरको स्तरोन्नतिका लागि सडक विस्तारलाई बढी प्राथमिकतामा राखिएको बताए । उहाँले चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालको स्तरोन्नति, प्राङ्गारिक कृषि उत्पादन, बालमैत्री वडा कार्यालय र भन्सार कार्यलयको व्यवस्थापनलगायत विषयलाई आफूले जति सक्दो छिटो अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । नगर उपप्रमुख चन्द्राकुमारी श्रेष्ठले समाजमा रहेको हिंसा न्यूनीकरण गर्न आफ्नो प्राथमिकता रहेको जानकारी दिए । रासस

दोश्रो जिम्मेवार व्यवसाय सम्मेलन साउन १९ गतेदेखि हुने

काठमाडौं । नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्नका लागि यही साउन १९ र २० गते दोश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ । नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आइहरको छ । आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यज्योतिले सम्मेलनको घोषणा गर्दै भने “दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गर्नेछन् । यस सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने हामीेले विश्वास लिएका छौं ।” नेपाल सरकारले नयाँ औद्योगिक व्यवासाय ऐन २०७३ र नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति अन्तर्गत तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने उद्योग व्यवसाय र वित्तिय संस्थाहरुमा व्यवसायिक सामाजिक उत्तरदायित्वलाई बाध्यकारी बनाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मेलनको उद्घाटन हुने तय भएको छ । सम्मेलनमा समेटिएका ट्रयाक र तिनका उद्देश्यहरु निम्न बमोजिम रहेका छन् : क) व्यवसाय सञ्चालनलाई संस्थागत एवं पद्धतिबद्ध गर्न “आन्तरिक व्यवसायिक अभ्यास” ख) व्यवसायका निकटतम सरोकारवालाहरुको आवश्यकताको व्यवस्थापन गर्न “सरोकारावाला परिचालन” ग) व्यवसायिक वातावरण सुधार गर्न “सबल साझेदारी” घ) भविष्यका लागि जिम्मेवार व्यवसाय प्रवद्र्धनको खाका तयार गर्न “प्राध्यापन तथा नियमन” प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र एक नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्नेछन् । सम्मेलनमा सहभागि हुने अन्तर्राष्ट्रिय वक्ताहरुमा भुटान उर्जा कर्पाेरेशन लिमिटेडका व्यवस्थापकिय निर्देशक जिम छिरिंग, संयुक्त राष्ट संघ अन्तर्गत ग्लोबल कम्प्याक्ट एशिया प्रमुख मेंग लुई, भारतीय कर्पाेरेट मामिला संस्थानको संस्थागत साझेदारी एवं सञ्चार प्रमुख अतुल देव शर्मा, सोल एनालाइटिक्सका संस्थापक एवं नोकिया कर्पाेरेशनका मध्य पूर्व क्षेत्रका पूर्व बजार प्रबन्धक सुधिर नायर, सिंगापुर राष्ट्रिय विश्वविद्यालयका उपाध्यक्ष डा सिराम रामाकृष्ण र विश्व विश्वविद्यालय संघका पूर्वअध्यक्ष प्रा डा ड्जुल लगायत रहेका छन् । राष्ट्रिय वक्ताहरुमा विभिन्न नविनतम साना तथा मझौला उद्योग व्यवसाय सहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, वैद्य समूह, पञ्चकन्या समूह, गोल्छा समूह, नेपाल उद्योग वाणिज्य महासंघ आदि छन् । त्यसैगरी सरकारी निकायतर्फबाट उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विद्युत प्राधिकरण रहेका छन् भने नागरिक समाज तर्फ श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।