मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट बाँकेमा स्थापना, ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने
नेपालगन्ज । बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने सञ्चालक गौरव श्रेष्ठले बताए । एच ओ अक्सिजन इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्टले आजदेखि विधिवत् उत्पादन शुरु गरेको छ । करिब १० करोडको लागतमा स्थापना गरिएको सो प्लान्ट सञ्चालनमा आएपछि नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्यास र लिक्विड उपलब्ध हुने बताइएको छ । बिरामीको संख्यामा वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पताल र व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौँ बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताए । हरि ओम ग्रुपको लगानी रहेको एच ओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमा सबैभन्दा धेरै उत्पादन क्षमता भएको अक्सिजन ग्यास प्लान्ट भएकाे बताइएकाे छ । रासस
नेपाल र चीनबीच व्यापार तथा लगानीका लागि व्यापारिक सम्झौता
काठमाडौं । नेपाल र चीन बीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ । आइतबार बेजिङ्ग स्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्धीराष्ट्रिय व्यापार आदान प्रदान गर्ने सम्झौता भएको हो । ओबिओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो ।कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्षसुरज बैध समेत चीनका ओविओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त गोष्ठीको दोस्रो दिन नेपाल र चीनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेलले हस्ताक्षर गरेका छन् । साथै, व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनिया कम्पनी बिच सम्झौता समेत भएको छ । चीनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभागिता रहेको थियो । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मल राज पौडेल, कार्यबिनायक ट्रेड समुहका राजेश बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीहरुको समेत सहभागिता रहेको छ । व्यापारिक मण्डल यहि माघ ४ गते चिन प्रस्थान गरेको थियो ।
सिमेन्ट र रड उद्योगीले अटेर गर्दा विभागले काट्यो २४ घन्टे पुर्जी
काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा सिमेन्ट र रडको भाउ बढेपछि चारैतिरबाट सरकारको आलोचना भएको थियो । त्यसलाई मध्यनजर गर्दै आपूर्ति मन्त्रालयको निर्देशनमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले धादिङको धार्केमा पुस २४ गते सिमेन्ट तथा रड बोकेको २४ ओटा ट्रकलाई नियन्त्रणमा लिई कागजात जफत गरेको थियो । जगदम्बा स्टिल उद्योग, अम्बे स्टिल उद्योग, मारुती सिमेन्ट उद्योग, शिवम् सिमेन्ट, नारायणी, अग्नि लगातका विभिन्न सिमेन्ट तथा रड उद्योगका ती ट्रकहरुबाट विभागले अनुसन्धानको लागि कर भर्पाइ, बिलबिजक चलानी लगायतका आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ । कागजात नियन्त्रणमा लिएसँगै अनुसन्धानको लागि सम्बन्धित उद्योगका आधिकारिक प्रतिनिधिलाई विभागमा तत्काल उपस्थित हुन निर्देशन दिइएको थियो । निर्देशनलाई अटेर गरेपछि मंलबार ती सम्पूर्ण २४ ओटै ट्रक सम्बन्धि उद्योगहरुको नाममा २४ घन्टे पुर्जी काटिसकेको शाखा अधिकृत राजेशकाजि श्रेष्ठले बताए । पुर्जी पत्र प्राप्त गरेको २४ घन्टाभित्र अनुसन्धानको लागि ती उद्योगहरुको प्रतिनिधिहरु विभागमा उपस्थित हुनु पर्ने भनिएको छ । यदि उपस्थित नभएको अवस्थामा कार्बाही प्रक्रियाअघि बढाउने जनाइएको छ । कम्तिमा पनि माघ महिनाभित्र सम्बन्धित उद्योगीहरु अनुसन्धानको दायरामा आउने र अनुसन्धान अघि बढ्नेमा उनी विस्वस्त छन् । ‘छानविनपछि कसरी अघि बढ्ने निक्र्यौल हुन्छ,’ उनले भने ‘पूर्जी काटेयता केही उद्योगहरु विभागमा उपस्थिति हुन थालेका छन् ।’ उनको अनुसन्धानको क्रममा ठगी अथवा कालोबजारी गरेको भेटएमा सोही अनुसार कार्वाहीको प्रक्रिया अघि बढ्नेछ । विभागको अनुसार पछिल्लो समय प्रतिबोरा सिमेन्टमा २ सय र रडमा किलोको १० रुपैयासम्म बढेको उजुरी आएको छ । सिमेन्ट उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थको मूल्य बढेकोले मूल्य बढाउन बाध्य भएको बताएका छन् भने, निर्माण व्यवसायीहरुले पुनर्निर्माणको मौका छोपि उद्योगीहरुले सिमेन्ट र रडको भाउ बढाइ कालोबजारी गरेको आरोप लगाएको छ ।