विराटनगर जुट मिल्सको अनियमितता छानबिन गर्न माग
विराटनगर । विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पुराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा अविलम्ब रोक्नुपर्ने मिलका पूर्व कर्मचारी एवम् स्थानीय नागरिकले माग गरेका छन् । विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ द्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेशिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले अविलम्ब रोक्नुपर्ने बताएका छन् । अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलले कानुनीरुपमा बेचिएको मिल्सको शेयर अविलम्ब खारेज गरी सरकारको साबिक ६८ प्रतिशत शेयर कायम गर्नुपर्ने, जुट मिल्सको चलअचल सम्पत्तिको संरक्षण र दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने, हाल कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र मिल्समा हाल भइरहेको अनियमिमताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग पूरा हुनुपर्ने बताए पत्रकारसम्मेलनमा अभियानका उपाध्यक्ष प्रकाश साहले मिल्स नेपाल सरकारले सञ्चालन गर्नुपर्ने अन्यथा उक्त क्षेत्रमा जुट सङ्ग्रहालय र औद्योगिक क्षेत्र कायम गरी निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने बताए। अभियानका सचिव हिमाल शेर्पाले राखेको माग पूरा हुनु नभए शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमको घोषणा गर्ने पत्रकारलाई जानकारी दिए। रासस
जगदम्बा सिमेन्टद्धारा “प्राविधिक गोष्ठी” सम्पन्न
काठमाडौं । जगदम्बा सिमेन्टले हालै “प्राविधिक गोष्ठी” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इन्जिनियरसँग जगदम्बा सिमेन्ट ककसमा सुरक्षित र दिगो निर्माण, पुननिर्माण सामग्रीको छनोट र प्रयोग लगायत ब्लेनडेड सिमेन्टको उच्चतम प्रयोग तथा उपभोग लगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको हो । जसमा ३० जनाभन्दा बढीप्राविधिक ब्यक्तिहरुको उपस्थिती थियो । उपस्थित हुनेहरुमा नगरपालिका योजना प्रमुख देखी लिएर भुकम्प प्रतिरोधी निर्माण गर्ने सुपर्भिजन गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो । यस कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत आयोजना प्रमुख सुनिल पौडेल र इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए । साथै ब्राण्ड प्रवन्धक जगन्नाथ दहालले ब्लेनडेड सिमेन्टको प्रयोगले एकातर्फ देशमा रहेको श्रोत(चुनढुङ्गा) को न्यूनतमप्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जाने बताएका छन् । साथै, जति संरचनालाई आवश्यक हुन्छ त्यती मात्र निर्माण सामग्रीको प्रयोगले देशको आर्थिक संमृद्धी हुने प्रवन्धक दहालले बताएका छन् ।
सिमेन्ट र फलामको रडमा मूल्यवृद्धि, मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी
इटहरी । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको रड उत्पादक उद्योगीले दैनिकजसो सिमेन्ट र फलामे रडको अप्राकृतिक रुपमा मूल्य बढाएर आम उपभोक्तामाथि चरम अन्याय गर्दै आएकाले अब इटहरीमात्र होइन देशभर नै त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनीसमेत दिइएको छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ, इटहरीका प्रथम उपाध्यक्ष शैलेश विष्टले सर्वसाधारण नेपाली उपभोक्ताको हित विपरीत यो १३ दिनको अवधिमा कम्तीमा रु १५० देखि २०० सम्म मूल्य बढाएर अचाक्ली ढाड सेक्ने कार्य भई रहेकाले यो विषयमा तत्काल सरकार वा उद्योगीले मूल्य नघटाएको खण्डमा अधिराज्यभर आन्दोलन थालिने पनि व्यवसायी एवं व्यापारीले चेतावनी दिएका छन् । सिमेन्ट र फलामे रडको मूल्य अस्वभाविक रुपमा उठाउने गरिएको र मूल्य बढाउनु पर्ने कुनै कारण नै नरहेको अवस्थामा नेपाली उपभोक्तालाई उठ्नै नसक्ने गरी मूल्य बढाउने कार्य भई रहँदा पनि राज्यको निकायले चासो नराख्नु आपत्तिको विषय भएको पनि व्यवसायी एवं व्यापारीले पत्रकार सम्मेलनमा गुनासो सुनाएका छन् । पत्रकार सम्मेलनमा हार्डवेयर व्यवसायी नेता भोला निरौलाले नेपालमा राज्य विहीनताको अवस्था सिर्जना गरिएको र भारतमा उत्पादन भएका सिमेन्ट र रडको मूल्य अहिले नेपाली बजारमा भारतको बजारको तुलनामा झण्डै शतप्रतिशत मूल्य बढाएर बिक्री वितरण गर्नुपर्ने अवस्था आएको र नेपाली बजार शुन्यको अवस्थामा पुगेको जानकारी दिए । रासस