मुख्यमन्त्रीहरुको एकै स्वरः सातै प्रदेशले निजी क्षेत्रसँग सहकार्य गर्ने
काठमाडौं । मुलुकभरका सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढ्न तत्पर रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले ‘संघीय संरचनामा आर्थिक समृद्धिका अवसर’ नाराका साथ नवनिर्वाचित मुख्य मन्त्रीहरुको सम्मानमा बुधबार गरिएको अभिनन्दन् कार्यक्रममा बोल्दै मुख्यमन्त्रीहरुले निजी क्षेत्रसँंगको सहकार्य विना मुलुकको आर्थिक विकास सम्भब नहुने धारणा राखेका हुन् । यस्ता छन् मुख्यमन्त्रीहरुका धारणा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँंगै मुलुकले समृद्धिको यात्रा तय गरेको बताएका थिए । त्यस्तै प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्धीले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको प्रष्ट्याएका छन् । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अव कुरा गर्ने होइन, काम गर्ने समय आएको बताएका छन् । कार्यक्रमकै अवसरमा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेशमा कर्मचारीहरुको अभाब चुनौतिको रुपमा देखिएको सुनाएका थिए । यद्यपि त्यसको समाधान खोज्दै जाने उनको भनाइ छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धिको लागि संघीय व्यवस्था आवश्यक परेको भन्दै आर्थिक समृद्धिको विकल्पमा अर्को एजेन्डा नरहेन उनको भनाइ छ । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशको विकास आफनो मुख्य एजेन्डा रहेको बताए । पिछडिएको प्रदेश भएकोले कर्णालीमा बढी अवसर रहेको उनको भनाइ छ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भटले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँंग सहकार्य गर्न तत्पर रहेको जानकारी दिए । कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जहाँं अधिकतम सुविधा छ, त्यही निजी क्षेत्रले लगानी गर्ने र लगानीले नै स्थानीय रोजगारी सृजना गरी राजश्व बुझाउने बताए । त्यसप्रति प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण हुनु पर्ने उनको जोड छ । प्रदेशअनुसार मुलुकमा पर्यटन, हाइड्रो, कृषि, जडिवुटी, खानी लगायतका उद्योगहरु स्थापना गर्नको लागि प्रशस्त सम्भावना भएको चेम्बरको भनाइ छ । त्यस्तै चेम्वरले स्थानीतहमा बृहत आर्थिक बहस कार्यक्रममार्फत सरकारी निकायसँंग समन्वय गरी अगाडि वढ्ने योजना रहेको उपस्थित मुख्यमन्त्रीहरुमाझ जानकारी गराएको थियो ।
चैत दोस्रो साता अन्तर्राष्ट्रिय महिला उद्यमी मेला
काठमाडौं । ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा चैत ८ देखि १२ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०१८ हुने भएको छ । स्वदेशमा उत्पादन भएका वस्तु एंव हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालले उक्त मेला आयोजना गर्न लागेको हो । आयोजकका अनुसार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी, महिला निर्यातकर्ता साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ । मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घर बुन्नका लागि प्रयोग हुने सामाग्री, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, गरगहना लगायतका सामाग्रीहरु राखिने छन् । मेलामा स्वदेशका महिला उद्यामी लगायत बंगलादेश, भारत, थाइल्याण्ड, पाकिस्तान लगयातका महिला उद्यमीहरुको उत्कृष्ट उत्पादनहरुको सय स्टल राखिने अयोजकको भनाइ छ ।
आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा आवश्यक: विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूकाबीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघिय संरचना कार्यान्वयन गरिएको बताउँदै उनले प्रदेश सरकारहरूले यहि सोंचका साथकाम शुरू गर्न आग्रह गरेका छन् । ‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ति राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक बृद्धिदर उच्च हुन पुग्यो’ अध्यक्ष चौधरीले भने, ‘हाम्रा मुख्य मन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तब्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नयाँ उत्साह आउने विश्वास मैले लिएको छु ।’ साथै, उनले अब प्रदेश सरकारहरूले प्रान्तिय संरचना वा कानूनी पक्षहरूका बारेमा अलमल नगरि विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउन जोड दिएका छन् । उनले रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरि जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताएका छन् । प्रदेश नम्बर २ लाई व्यवसायिक कृषी उत्पादन गरि निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनु पर्नेमा पनि उनले जोड दिए । ‘प्रदेश नम्बर २ को कृषी उपज प्रत्येक नेपालीको भान्सामा पुर्याउने नीतिका साथ काम गर्नु आवश्यक छ’, अध्यक्ष चौधरीले भने, ‘यहा“को उर्वर भूमीबाट कृषी क्रान्तिको नयाँ अध्याय शुरू गर्न सकिन्छ ।’ ‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ रहेका छन् । ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आईसिपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उनले भने, ‘यस प्रदेशले आफ्नो सामर्थ्य समयमै चिन्न सकेमाआर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’ अध्यक्ष चौधरीले अहिले यो प्रदेशमा अहिले पनिकरिब ३० प्रतिशत गरिवी छ तर, पाँच बर्षमा यि सबै परिसूचकहरू उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले आफ्नो काममार्फत् जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताएका छन् ।