स्टीलकाे मूल्य प्रतिकेजी ३५ रूपैयाँ बढेकाे भन्दै ग्रील व्यवसायी अाक्राेशित, १६ रुपैंयाँ बढेकाे उद्योगी भनार्इ

काठमाडौं । पछिल्लो समय फलाम र स्टिलजन्य निर्माण समाग्रीहरुको मूल्य निरन्तर बढेर प्रतिकिलो ३५ रुपैयाँ पुगिसकेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ‘गएको सात दिनमा मात्रै प्रतिकिलो फलामजन्य सामाग्रीको मूल्य ३ रुपैयाँ बढेको छ,’ उनले भने ‘पछिल्लो ४ महिनामा प्रतिकिलो ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।’ हप्तादिनमै २/३ पटक मूल्य बढ्दा पनि सरकारले चासो नदिएको उनको गुनासो छ । यसरी नै फलाम र स्टीलकाे मूल्य बढ्ने हो भने ग्रिल तथा स्टिल व्यवासय धरासायी हुने उनको दावी छ । महंगाइको कारण केही महिनापछि व्यवसायनै बन्द हुने अवस्था आउने उनको भनाइ छ । ‘हामीले रोलिङ मिल हाडवेयर लगायत ठूला फलामजन्य उद्योगीहरुसँग छलफल गर्न वैठक डाक्यौं तर उनीहरु आएनन्,’ गुनासो गर्दै उनले भने । स्टील उद्योगीहरुले पनि चार महिनामा प्रतिकिलो १६ रुपैंयाँले मूल्य बढाएको स्वीकार गरेका छन् । अम्बे स्टिलका डाइरेक्टर पूर्णभद्र पौड्यालले पछिल्लो ४ महिनाको अबधिमा प्रतिकिलो १६ रुपैंयाँको हाराहारीमा मूल्य बढेको बताए । उनले बजारमा हल्ला गरे जसरी मूल्य नबढेको तर अन्तराष्ट्रिय बजारमा बढेको मूल्य र लागत अनुसार डन्डीको मूल्य समायोजन गरिएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमै फलामजन्य पदार्थको मूल्य बढेकोले अाफूहरुले पनि डन्डीको मूल्य बढाउन बाध्य भएका हौं,’ उनले भने ‘अधिकांश डन्डी र स्टीलको कच्चा पदार्थ भारतबाट भित्रिने गरेको छ ।’ उनका अनुसार भन्सार, भाडा जोड्ने हो भने कच्चा पदार्थको मूल्य पनि करिब प्रतिकिलो १५/१६ रुपैयाँ नै बढेको छ ।’ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक कुमारप्रसाद दाहालले केही समय अघि मात्रै सिमेन्ट र डन्डीको मूल्य बढेको उजुरी आएपछि विभागले अनुगमन गरेको बताए । अनुगमनपछि विभिन्न सिमेन्ट उद्योगीहरुले २४  प्रकारका सिमेन्टको भाउ घटाएका थिए । केही डन्डी उद्योगहरुले पनि भाउ घटाएको उनको भनाइ छ । ‘अहिले फेरी बजारमा डण्डी, रड, स्टिल लगायतको मूल्य बढेको समाचारबाहिर आइरहेको छ,’ उनले भने ‘उजुरी आए लगत्तै हामी अनुगमन कार्य अघि बढाउने तयारीमा छौं ।’

पूँजी सृजना र उद्योग विकास नै समाजवाद–उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएको बताए । उनले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने जानकारी दिए । नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँगको बिहीबार भएको भेटवार्ताको अवसरमा उनले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको जनाए । विकास नभएको दोष र जिम्मा कसैले लिने र दिनेभन्दा पनि भएका कमीकमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वास गर्दै अघि बढ्नु पर्ने धारणा उनको थियो । उनले पूँजीको सृजना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भन्दै सरकार त्यसै त्यो बाटोमा अघि बढेको जानकारी दिए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको लक्ष्य आर्थिक समृद्धि भएकोले यसालई कार्यान्वयन गर्न पर्नेमा जोड दिए । उनले परिसंघ–प्रवुद्ध परिषद समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्रबारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराउदै हस्तान्त्रण गरेका थिए ।

जगदम्बा सिमेन्टद्धारा विश्वस्तरीय प्रविधी भीआरएम जडान, उत्पादनमा दोब्बर वृद्धि हुने

काठमाडौं । जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल इस्मिथ(डेनमार्क र इन्डिया)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स(भीआरएम) जडान गरी उत्पादन शुरु गरेको छ । सिमेन्टले उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले उक्त विश्वस्तरीय प्रविधि जडान गरेको हो । हालको उत्पादन ४५,००० बोरा प्रतिदिन रहेकोमा भीआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ । भीआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८०,००० बोरा प्रतिदिन उत्पादन हुनेछ । भीआरएम प्रविधि नेपालमा भित्र्याउने जगदम्बा सिमेन्टको दोस्रो कंम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्ज स्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि मा जडान गरिएको छ । त्यस्तै, यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रतिदिन १,१०,००० बोरा रहने कम्पनीले जनाएको छ । देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ । त्यस्तै, ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ । यसरी नै आगामी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउने कम्पनीको प्रतिबद्धता छ ।