पर्खौैं र हेरौंको रणनीतिमा एफएनसीसीआई

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । १ सय ५५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नियन्त्रण तथा यसबाट बच्नका लागि विभिन्न देश र त्यसका निजी क्षेत्रहरु सर्तकता अपनाइरहेका छन् । चीनबाट सुरु भएको भनिएको यो भाइरससँग लड्न सरकार आफै र विभिन्न देशका निजी क्षेत्रहरु विविध रणनीति तथा कार्यक्रमहरु बनाइरहेका छन् । नेपालले पनि यो भाइरस नभित्रियोस् भनेर सतर्कताका विभिन्न उपायहरु अवलम्बन गरिएको छ । भलै कोरोना भाइरस नेपालमा देखा परेको छैन । एक जनामा देखा परेको भनिएपनि निको भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको संज्ञा दिइसकेको छ । अमेरिकाले पनि संकटकाल घोषणा गरी आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा तल्लीन छ । नेपाल सरकार पनि कोरोना भित्री हाले त्यसको तीव्र पूर्व तयारीमा जुटेको छ । नेपालले स्वास्थ्य सेवा विस्तारदेखि यात्रामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ । यसमा सरकार मात्र होइन, निजी संस्थाहरुको सहकार्य र समन्वय पनि उतिकै अपरिहार्य हुन्छ । विश्वभरका निजी क्षेत्रले कोरोनाको महामारी नियन्त्रण गर्न योगदान दिइरहेका छन् । बिलगेट्स फाउण्डेसन्, ज्याकमा फाउण्डेसन लगायतले यसको न्यूनिकरणमा ठूलो योगदान र समन्वय गरिरहेका छन् । तर, नेपालको सबैभन्दा ठूलो भनिएको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ भने यसप्रति त्यति गम्भीर देखिँदैन । हाल नेपालमा कोरोनाको त्रासकै कारण सर्जरी माक्स, स्यानिटाइजर लयागतका सामानहरुमा कालोबजारी मौलाएको छ । तर, यसको सहज उपलब्धतामा भूमिका खेल्न सक्ने सबैभन्दा ठूलो निजी क्षेत्र महासंघ यी सबै कूराहरुप्रति अनविज्ञ जस्तै बनेर चुनावमा होमिएको छ । यतिखेर निर्वाचनका लागि महासंघका प्रतिनिधिहरु तीव्र प्रचार प्रसारमा जुटेका छन् । सरकारले भेला, सभा–सम्मेलन नगर्न भनेर औपचारिक रुपमै आग्रह गरिसकेको छ । तर, आगामी चैत २८ मा तय भएको नेपाल उद्योग महासंघको साधारण सभा भने अहिलेसम्म पनि स्थगित गरिएको छैन । बरु महासंघ चुनाव गररै छोड्ने दाउमा छ । महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले यस्तो संकटको समयमा महासंघ चुनावमा होमिनु अस्वभाविक र दुर्भाग्य भएको बताए । ‘निजी क्षेत्रले आफ्नो सम्पूर्ण ध्यान अहिलेको स्थितिमा औद्योगिक व्यावसायिक जगतले खेल्न सक्ने भूमिका हुनु पर्छ, यसमा निजी क्षेत्रको दायित्व के हुने भन्ने तय गरेर रचनात्मक काममा उनीहरु लाग्नु पर्दछ, उनले भने । जो–जो व्यवसायीले कालोबजारी गरिरहेको छ, त्यसलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने उनले बताए । त्यसमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नु पर्ने र कोलो बजारी गर्नेका सूचना पनि सरकारलाई निजी क्षेत्रले दिन सक्नु पर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघको गत शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको चुनाव सार्ने वा नसार्ने बारे १० दिनपछि मात्र तय हुने निर्णय गरेको थियो । तर महासंघको चुनाव सर्न सक्ने सम्भावना न्यून छ ।  किनकि सबै प्रतिनिधिहरु प्रचार प्रसारमा जुटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ सरकारले चुनाव अहिले गर वा नगर केही पनि भनेको कारण महासंघको चुनाव सार्ने सम्बन्धि भन्न नसकिने अवस्था नभएको बताउँछन् । उनले महासंघले सरकारले भने बमोजिम गर्नु पर्ने बताउँदै सरकारको निर्देशन बमोजिम महासंघले चल्नु पर्ने धारणा राखे । विश्वमा यति ठूलो आतंक तथा संकट सिर्जना भइरहेको बेला देशकै ठूलो निजी क्षेत्र यसरी निष्कृय देखिनु विडम्बना हो । उल्टै महासंघमा आवद्द व्यवसायीहरु कसरी कमाउन सकिन्छ भन्ने रणनीति तथा कमाउ धन्दामा लागेको देखिन्छ । सरकारले त्यस्ता कालोबजारी गर्ने विभिन्न व्यवसयाीलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा लिइसकेको छ । कोरोना भाइरसका कारण संसारभरि डरलाग्दो अवस्था सिर्जना भएको छ । यो अवस्थामा हामी सबैको पहिलो प्राथमिकता अहिलेको परस्थितिलाई सबै मिलेर सामना गर्ने हो । यो अवस्थामा निजी क्षेत्रको पनि धेरै ठूलो भूमिका र दायित्व हुन्छ । अहिले नेपालमा कोरोना फैलिएको छैन । यदि भइहाल्यो भने हामीसँग ब्याकअप केही पनि छैन । आम जनमानसमा यसको त्रास कायम रहेको यो अवस्थामा निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर रोग आउन नदिने आइहाले पनि नियन्त्रण गर्ने, जनजीवन सहज बनाउन भूमिका खेल्नुपर्छ । तर, यही अवस्थामा महासंघ चुनावमा होमिएको छ । महासंघले मानव जीवन महत्वपूर्ण कि चुनाव महत्वपूर्ण हो भन्ने कूरा बुझ्न आवश्यक छ । यसमा नेपाल चेम्बर अफ कमर्सले सानै भएपनि माक्स उत्पादनको काम सुरु गरेको छ । अहिलेको लागि यो राम्रो सुरुवात हो । तर महासंघले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।

व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन स्थगित

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको यही चैत १४ मा हुने भनिएको दोस्रो राष्ट्रिय महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासङ्घको आइतबार केन्द्रीय कार्यालय सुन्धारामा बसेको सचिवालय बैठकले विश्वभर फैलँदै गएको कोभिड-१९ (कोरोना भाइरस)लाई दृष्टिगत गर्दै महाधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति भने अर्को बैठकले तय गर्नेछ । कोरोना भाइरसको कारण देखाउँदै बजारमा उपभोग्य सामग्रीको अभाव हुँदै गएको भन्दै अभाव गराउने उद्योगी व्यवसायीलाई कारवाही गर्ने बैठकले निर्णय गरेको छ । बैठकले बजारमा माक्सको अभाव हुँदै गएको भन्दै सामान उत्पादन गर्ने गार्मेन्ट उद्योगलाई माक्सको समेत उत्पादन गरी आम उपभोक्तामाझ पुर्याउन आग्रह गरेको छ । व्यवसायीसँग प्रशस्त सामान भएकाले तत्कालका लागि सामग्रीको अभाव नहुने महासङ्घका अध्यक्ष नरेश कटुवाल बताउँछन् । बैठकले हात नमिलाई नमस्कार गर्न, माक्सको प्रयोग गर्न, राम्रोसँग साबुन पानीले हात धोएर मात्र खानेकुरा खान, सफा होटेलमा खानेकुरा खान, मासुजन्य पदार्थ राम्रोसँग पकाएरमात्र खान सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । विसं २०७४ मा स्थापना भएको महासङ्घमा हाल देशभरका २० भन्दा बढी सङ्घ आबद्ध रहेका छन् । महासङ्घले उद्योगी व्यवसायीको हकहितका लागि विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आइरहेको छ । रासस

देश संकटमा पर्यो, हामी रातदिन नभनी काम गरिरहेका छौं : मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल कोरोनाको कारणले देश संकटमा परेको बताएका छन् । आइतबार विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कूरा बताएका हुन् । ‘कोरोनाको कारणले विश्वभर नै संकट परिरहेको बेला नेपालमा पनि त्यस्तै संकट सुरु भएको छ, यसको विरुद्दमा लड्का लागि मन्त्रालयले रातदिन नभनी काम गरिरहेका छ’, उनले भने । देशभर नै कोरोनाको क्रास बढिरहेको बेला मन्त्रालयले सक्रिय भएर काम गरिरहेको उनले बताए । सबैभन्दा धेरै काम उद्योग मन्त्रालयको भएका कारणले पनि काममा सक्रिय देखाएको उनको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उत्पादन र मौज्दातभन्दा धेरै वस्तु माग भएका बेला मन्त्रालयलले कसरी काम गर्ने भन्ने विषयमा कार्यविधि तयार गरिरहेको बताए । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिमको सुचिमा राखे पछि नेपालमा संकट सुरु भएको बुझ्न सकिन्छ । हाल संगठनले कोरोनालाई महामारीको संज्ञा पनि दिइसकेको छ । चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसगैं नेपाल पनि संकटमा छ । हाल कोरोना भाइरस १ सय ४९ वटा देशमा फैलिसकेको छ ।