कोरोना प्रभावित उद्योगको अध्ययन गर्दै सरकार, उद्योगी भन्छन्ः प्याकेज चाहिँन्छ
काठमाडौं । सरकारले कोरोना भाइरसले उद्योग क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले नेपाली उद्योग क्षेत्रमा पारेको असर बारे सरकारले उद्योग क्षेत्रमा अध्ययन गरिरहेको हो । काेराना प्रभावित उद्योगीलाई कस्तो खालको प्याकेज दिने भनेर सरकारले अध्ययन गरिरहेकाे बताइएकाे छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगको क्षेत्रमा परेको प्रभावको अध्ययन भइरहेको जानकारी दिए । देशमा सरकारले कालोबजारी हटाउने र आपूर्ति सहज बनाउने काममा लागिरहेको पनि मन्त्री भट्टले जानकारी दिए । ‘उद्योगीहरुले आएर हामीलाई राहत प्याकेज चाहियो भन्ने वितिकै राहत प्याकेज दिइहाल्नु पर्छ भन्ने छैन्, अर्थमन्त्रालय र राष्ट्र बैंकले अध्ययन गरिरहेको छ, अध्ययन पछिको प्रतिवेदनले नेपालको उद्योग कुन अवस्थामा छ र सरकारले कस्तो राहत प्याकेज दिनु पर्ने हो भन्ने जानकारी हुन्छ,’ मन्त्री भट्टले भने । विश्वभर नै कोरोनाको प्रभाव बढिरहेको छ । त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । बजारमा बिचौलियाहरु सलबलाएका छन् सरकार कालोबजारी न्यूनिकरण गर्न लागिरहेको छ । याे संकटको समयमा जोखिम न्यूनीकरण तथा आपूर्ति सहजीकरणमा लाग्नुपर्ने निजी क्षेत्र भने कोरोना प्रभावित भन्दै सरकारसँग छुट, सुविधा तथा सहुलियत माग्न छलफल बढाइरहेका छन् । नेपालमा खासगरी उत्पादक मूलक क्षेत्र, होटेल,रेस्टुरेण्ट, एयरलाइन्स, सपिङ मल, अटोमोबाइल, सिनेमा हललगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको निजी क्षेत्रका उद्यमीले बताएका छन । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट नेपालको आर्थिक क्षेत्रलाई पनि प्रभावित पारेकाले राहत प्याकेज अत्यावश्यक हुन गएको निजी क्षेत्रको भनाइ छ । कोरोना संक्रमणले आयात ठप्प रहेको, घरेलु ब्यवसाय पनि असर परेको र विभिन्न देशबाट आउने पर्यटकहरु बन्द भएकोले मन्दीको अबस्था देखिएकाले सरकारको राहत प्रदान गर्नुपर्ने उनीहरुकाे भनाइ छ । भुकम्प र नाकाबन्दीकोभन्दा विकराल अबस्था आउन सक्ने आँकलन निजी क्षेत्रको छ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उद्योग सञ्चालमा नै कोरोना भाइरसले समस्या परेको बताए । ‘सरकारले देशमा उद्योगीहरुको बैंकको ऋणको व्याज र सावाको समय सारी उद्योग सञ्चालनको लागि सहज र सरल बनाउनु पर्ने उनकाे भनाइ छ । नेपाल चेम्बर अफ कर्मशको वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले धेरै देशमा कोरोनाको सक्रण भइसकेकोले अब नेपालमा पनि कतिखेर कोरोना आउछ भन्ने थाहा नभएकाेले त्यसका लागि सरकारले तयारी गर्नु पर्ने बताए । ‘हामीले आफ्नो देशमा उत्पादन हुने वस्तुलाई प्रथामिकता दिनु पर्छ, व्यापारी र सरकार भएर देशको संकटलाई साम्य पर्ने काम गर्नु पर्छ,’ मल्लले भने ।
उद्योगमन्त्री भट्टले भने: बजारमा कुनै वस्तुको अभाव छैन, भइहाले त्यसको जिम्मा म लिन्छु
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा दैनिक उपभोग्य सामानको अभाव भए त्यसको जिम्मेवार आफु हुने बताएका छन् । बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा औषधिलगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने बताएका छन् । उनले बजारमा कालोबजारी हुन नदिनका लागि सरकारले अनुगमनका तीव्रता दिएको बताउँदै उनले यदि वस्तुको अभाव भइहाले पनि त्यसको जिम्मेवारी आफु लिने बताएका छन् । ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन, राज्यले अभाव हुन दिन्न, विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ,’ उनले भने । मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको मन्त्री भट्टको भनाइ छ । उनले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए । ‘हामीले अनुगमनलाई तिब्रता दिएका छौं, बजारमा वस्तुमा कालोबजारी हुन दिन्नौं, त्यस्ता कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्छौ,’ उनले भने । कार्यक्रमममा मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन सबैलाई आग्रह गरे । कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरु मारमा परेको बताएका थिए । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताए । बजारमा भने कुनै पनि वस्तुको अभाव नभएको उनले बताए । कोरोना भाइरस विश्वव्यापी प्रभावको असर नेपालमा पनि परेको छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । यतिबेलै बजारमा दैनिक उपभोग्य सामानको कृतिम अभाव पनि मौलाएको छ ।
निर्माण उपकरणमा भइरहेको आगजनीबाट महासंघ आक्रोशित, दोषीलाई कडा कार्बाहीकाे माग
काठमाडौं । देशका विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै आगजनीका घटनाका बारेमा प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराइएको उल्लेख छ । तर आगजनीका त्यस्ता घटनामा कुनै कमी नआई निर्माण व्यवसायीहरुलाई अझ बढी आतंकित पार्ने निन्दनीय कार्य निरन्तर भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बेनी, दरबाङ सडक आयोजना अन्र्तगत विरुवा–क्याराभान जेभीले सडक निर्माण कार्य प्रयोजनका लागि फिल्डमा प्रयोग गरेको क्याराभान कन्स्ट्रक्सन प्रा लि को स्वामित्वमा रहेको एक्साभेटर र ब्याक–हो लोडरमा आइतबार राति अज्ञात समूहबाट आगजनी गरिएको छ । त्यस्तै दानबहादुर खड्का संचालक रहेको रेगन निर्माण सेवा सुर्खेतको १ थान एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका वडा नम्बर ९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनीक पदार्थ प्रयोग गरी आगजनी गरिएको महासंघको विज्ञप्तिमा जनाइएइको छ । उक्त एक्साभेटर जाजरकोट–जुम्ला सडक निर्माणमा प्रयोग भइरहेको थियो । आगजनीका यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने महासंघको ठहर छ । विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको महासंघको भनाइ छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ । साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ । व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाकालागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ ।