अनुहार प्रष्ट, मिति अस्पष्ट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको उम्मेदवारहरु अनुहार प्रष्ट भएका छन् तर मिति अस्ष्पट भएको छ । बुधबार रामचन्द्र संघाईले महासंघको आगामी निर्वाचनमा एशोसिएट समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै पदाधिकारीमा उम्मेदवारी दिने ८ जनाको नाम टुंगिएको छ । संघाईको उम्मेदवारीसँगै बरिष्ठ उपाध्यक्षको उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहमा पदाधिकारीको टुंगो लागेको छ । जिल्ला नगर समूहको उपाध्यक्षमा गुणनीति तिवारी, बस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा संघाईको उम्मेदवारी पक्का भएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवार किशोर प्रधान समूहमा जिल्ला नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ र एशोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दिने पक्का भएको छ । अहिलेसम्म ढकाल र प्रधानले मात्र सार्वजनिक कार्यक्रम आयोजना गरि उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षले मात्र उम्मेदवारी घोषणा गर्दा सर्बसहमतिमा पदाधिकारी चयनको थोरै सम्भावना रहेकाेमा संघाईको उम्मेदवारीसँगै सबै पदाधिकारीमा निर्वाचन हुने सम्भावना बढी देखिएको छ । पदाधिकारीमा उम्मेदवारी घाेषणासँगै महासंघको मुल नेतृत्व पूर्णत दुई धुर्वमा धुर्विकृत भएको छ । वर्तमान ८ जना पदाधिकारी मध्ये ढकालको पक्षमा ५ जना र प्रधानको पक्षमा ३ जना देखिएका छन् । अध्यक्ष भवानी राणा, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष निरक केसी, वरिष्ठ सदस्य चण्डिराज ढकाल एउटा पक्षमा उभिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र किशोर प्रधान एक समूहमा उभिएका छन् । त्यस्तै, पूर्व अध्यक्ष सुरज बैद्य ढकालको पक्षमा र पूर्व अध्यक्ष कुशकुमार जोशी एवं विनाेद बहादुर श्रेष्ठ प्रधानको पक्षमा खुलेर आएका छन् । महासंघले आगामी चैत २८ गते वार्षिक साधारणसभा र २९ गते चुनावको मिति तोकेको छ । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्राससँगै धेरै मानिस जमघट हुने कार्यक्रमहरु आयोजना नगर्न सरकारले अपिल गरेपछि महासंघले अधिवेशन रोक्ने वा नसक्ने भन्ने निर्णय गर्न फागुन ३० गते कार्यसमितिको बैठक बोलाएको छ ।

एफएनसीसीआईको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाईको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने भएका छन् । संघाई अग्रणी त्रिवेणी समूहका निर्देशक हुन् । महासंघमा चार कार्यकाल बिताइसकेका उनी पूराना तथा अनुभवी उद्योगी हुन् । साथै, उनले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा चिरपरिचित समूहका निर्देशक भई काम गरेका थिए ।

गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले गाँजाको खेतीलाई बैधानिकता दिएर खेती गरे नेपाली अर्थतन्त्रको कायापलट हुने बताएका छन् । गाँजाको माग र उपयोगिता व्यापक भएकोले अन्तराष्ट्रिय बजारमा धेरै माग भएकोले यसको विक्री गरेर नेपालले धेरै फाइदा लिन सक्ने उनको भनाइ छ । गाँजाको नसालु उपयोगिताको मात्रै चर्चा गरेर प्रतिबन्ध लगाइएको भन्दै उनले यसको नियन्त्रित खेती खुल्ला गर्नुको विकल्प नभएको बताए । यसको प्रयोग व्यापक भएको तथा नेपालमा सहजै उत्पादन गर्न सकिने गाँजामाथि प्रतिबन्ध अनावश्यक रहेको उपाध्यायले बताए । ‘गाँजाको उपयोगिता असाध्यै धेरै छ, नेपालमा अमेरिका, क्यानडा जस्ता देशबाट गाँजा प्रयोग भएका बस्तुहरु आयात भइरहेका छन्, नेपालमा भने गाँजा प्रतिबन्ध गरेर बसेका छौं, नेपालीले नेपाली अर्थतन्त्रको विशेषता नै बुझेनन्,’ इन्जिनियर समेत रहेका पूर्व सचिव उपाध्यायले भने । उनले गाँजा नसालु पदार्थभन्दा पनि नसा उतार्ने बस्तु भएको पनि दाबी गरे । सबै मानिसमा गाँजा तत्व हुने भन्दै उनले उसको थोरै सेवनले पनि धेरै प्रकारको रोग निको हुने पनि उनको दाबी छ । उपाध्यायसँगको विस्तृत अन्तर्वार्ताको लागि यहाँ क्लिक गर्नुहोला । गाँजाको डाँठबाट बनेको काठ स्टीलभन्दा १० गुणा हलुंगो र १० गुणा बलियो हुने प्रमाणित भएकोले त्यसमा पनि गाँजा प्रयोग हुने गरेको उपाध्यायले बताए । गाँजाको खेती खुल्ला गरेर सुरु गर्ने हो भने नेपालको अर्थतन्त्रको आकार ५ वर्षमा दोब्बर र १० वर्षमा ५ गुणाले बढ्ने उनको भनाइ छ । सम्बन्धित सामग्री एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता