बजेटको परिणाममुखी कार्यान्वयनमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्यः अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास, औद्योगिक रूपान्तरण र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् । 

परिसंघद्वारा आयोजित ‘सीएनआई बजेट वाच’ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारले ल्याउने वार्षिक बजेट केवल आय-व्ययको विवरण मात्र नभई मुलुकको आर्थिक दिशा र मार्गचित्र भएकाले यसको वास्तविक सफलता प्रभावकारी कार्यान्वयनमा नै निर्भर रहने स्पष्ट पारे । 

अध्यक्ष पाण्डेका अनुसार विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको, बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भएको र ब्याजदर एकल अङ्कमा झरेको भए पनि बजारमा समग्र माग अझै विस्तार हुन सकेको छैन । 

अहिलेको मुख्य चुनौती आर्थिक गतिविधिलाई चलायमान बनाउनु रहेको औँल्याउँदै उनले त्यसका लागि पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन, पूर्वाधार निर्माणमा तीव्रता, सार्वजनिक खर्चको गुणस्तर सुधार र निजी लगानी प्रवर्धन गर्ने अनुकूल वातावरण आवश्यक रहेको बताए । 

विगतमा उत्कृष्ट नीतिहरू घोषणा भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम प्राप्त हुन नसकेको भन्दै उहाँले अब घोषणाहरूलाई परिणाममुखी कार्यान्वयनमा बदल्नुपर्नेमा जोड दिए ।

बजेटमा समावेश निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन स्थिति मूल्यांकन गर्न, अवरोध पहिचान गर्न र समाधानका उपाय सुझाउन परिसंघले आर्थिक वर्ष २०७९/८० देखि निरन्तर ‘सीएनआई बजेट वाच’ सञ्चालन गर्दै आएको जानकारी उनले दिए । 

यस वर्ष परिसंघले पहिचान गरेका विभिन्न बुँदाहरूलाई क्षेत्रगत रूपमा वर्गीकरण गरी आगामी दिनहरूमा मन्त्रालयगत उच्च अधिकारीहरू, विज्ञ र सरोकारवालाहरूसँग शृङ्खलाबद्ध संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।

यसैबीच, परिसंघले नेपाललाई ‘१०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र’ बनाउने सम्भावनावारे विस्तृत अध्ययन सम्पन्न गरेको र उक्त प्रतिवेदन चाँडै सार्वजनिक गरिने अध्यक्ष पाण्डेले घोषणा गरे । 

उत्पादन, ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधारजस्ता क्षेत्रमा तीव्र सुधार र लक्षित लगानीमार्फत मुलुकले द्रुत आर्थिक रूपान्तरण हासिल गर्न सक्ने उनको भनाइ थियो। कार्यक्रममा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू, उच्च सरकारी अधिकारी, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का प्रतिनिधि तथा उद्योगी-व्यवसायीहरूको उपस्थिति रहेको थियो । 

Share News