घरघरमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा सरकार
काठमाडाैं । सरकारले घरघरमा अत्यावश्यक सामान पुर्याउने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन साताव्यापी ‘लकडाउन’ गरेको अवस्थामा सरकराले घरघरमा अत्यावश्यक सामान पुर्याउने तयारी गरेको हो । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरपुर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकराले टोलटोलमा सामान पुर्याउने तयारी भइरहेको बताएका छन् । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको उनले बताए । काठमाडौँमा १५, ललितपुर र भक्तपुरमा सात/सात मिनीट्रक तयारी अवस्थामा रहेको उनको भना इछ । ‘ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइने छ’, मन्त्री भट्टले भने । जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ,’ उनले भने । कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नु पर्नेछ । सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनकाे भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ । यस्तै, ग्यासको अभाव हुन नदिन नयाँ ढङ्गले योजना बनाइएको उनको भनाइ छ । केहीगरी ग्यास आउन सकेन भने कसरी आपूर्ति गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताए । अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको उनले बताए ।
भारतबाट भित्रिए ८० मालवाहक गाडीः एलपी ग्यास ७ बुलेट, पेट्रोलका १०, अरू कति ?
काठमाडाैं । भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा डिजलका नौ र पेट्रोलका १० गाडीको भन्सार पास भएको हो । यसैगरि फलफूल, तरकारी र आलुप्याजको गरी ५४ गाडीको पनि भन्सार पास भएको छ । सूचना अधिकारी लम्सालले भने, ‘एजेन्टले फर्म भरेर पठाएको कुनै पनि मालवाहक गाडी रोकिँदैन । सबै भन्सार हुन्छ ।’ कोरोना भाइरसको सङ्क्रमणका कारण मान्छेहरुको आवतजावतमा रोक लगाइएको भए तापनि अत्यावश्यक वस्तु र सामानको आयातमा भने कुनै रोक नलगाइकाले मालवाहक सवारी साधन आएको सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व गस्ती डन्डाका प्रमुख मानबहादुर शाहीले बताए । अन्तरदेशीय पारवाहनमा कुनै समस्या नभए तापनि शनिबार सांँझसम्म करीब तीन सय गाडी भारतमै रोकिएका छन् । ट्रान्स नेपाल भैरहवाका प्रमुख रवि पारिखका अनुसार सवारी चालक कोरोनाको डरको कारण नेपालतर्फ आउन नखोज्दा गाडी रोकिएको हो । उनले भने, ‘आएका मालवाहक गाडीमा एक जना चालक र सहचालक मात्रै आएका छन् । केही चालकहरु नेपाल गएपछि उतै फसिन्छ, खान बस्न समस्या हुन्छ भन्दै आएका छैनन् ।’ कोभिड-१९ को सङ्क्रमण बढेपछि सरकारले अन्तरदेशीय पारवहनमा समेत कडाइ गरेको छ । सामान्य अवस्थामा बेलहिया नाकाबाट दैनिक २० हजारभन्दा बढी भारतीय र नेपाली सीमा वारपार गर्छन् । आज भने स्थलमार्ग हुँदै एक जनाले पनि वारपार गरेका छैनन् । रासस
‘लकडाउन’ भएपनि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन आग्रह
काठमाडाैं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेको हो । ती उद्योग सञ्चालन गर्दा सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानीटाइजर, मास्क लगाउने, भीडभाड नगर्ने, २५ जनाभन्दा बढी एक स्थानमा नरहने, कोही शङ्कास्पद बिरामी देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । त्यस्ता उद्योगले उत्पादित सामग्री नियमित रुपमा बजारमा पठाउने प्रबन्ध मिलाउन तथा उत्पादन नियमित तुल्याउन आवश्यक कच्चा पदार्थको अधिकतम मौज्दातको व्यवस्था गर्न आह्वान गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । यसैगरी मन्त्रालयले औषधि र स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिक, कार्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था गर्न पनि आग्रह गरेको छ । अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगलाई नियमित पूर्ण क्षमतामा उत्पादन थाल्न निजी क्षेत्रको छाता संगठनलाई आह्वान गरिएको मन्त्रालयले जनाएको छ । अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको सञ्चालनमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालयमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ । रासस